अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२ | Colorodo: 12:37

ह्युस्टनमा पशुपति मन्दिर र सामुदायिक केन्द्र बन्ने

बिआरटीनेपाल २०७४ असार १८ गते २२:५९ मा प्रकाशित

नेपाली समाज ह्युस्टन (Nepalese Association of Houston-NAH) को अगुवाईमा बृहत्तर ह्युस्टनमा बसोबास गर्ने नेपालीहरूका लागि उनीहरूको आस्थाको पशुपति मन्दिर र सामुदायिक केन्द्र निर्माण गर्ने अभियानको सुरुवात भएकोछ। आज (जुलाई २) ह्युस्टनमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा NAH का अध्यक्ष ज्योति घिमिरे तथा महासचिव विष्णु नेपालले पशुपति मन्दिर र सामुदायिक भवन बनाउने योजना सार्वजनिक गर्दै मन्दिरको लागि हाल कृष्ण प्रणामी मन्दिरको नामले चिनिएको स्थानमा (रिचमण्ड, ह्युस्टन) रहेको भौतिक संरचना र जमिन खरिद गर्ने निर्णय भएको जानकारी समेत गराउनु भयो। अमेरिकामा नै जन्मे-हुर्केका हाम्रा सन्ततिहरुलाई नेपाली भाषा, धर्म, संस्कृतिको बारेमा जानकारी गराईराख्न हाम्रै नेपाली शैलीको पशुपति मन्दिर तथा सामुदायिक केन्द्र निर्माण योजनाले ह्युस्टनबासी नेपालीहरूलाई निकै उत्साहित बनाएकोछ।

पशुपति मन्दिर तथा सामुदायिक केन्द्र निर्माण र भइरहेको संरचना ‘रिमोडलिंग’ गर्न आवश्यक करिब ४ लाख ५० हजार डलर रकम सङ्कलनको अभियान समेत आजैबाट सुरु भएकोछ। बृहत्तर ह्युस्टनमा बसोबास गर्ने र अन्य अमेरिकी राज्यहरुका आर्थिक रूपमा सफल नेपालीहरू र नेपालीपनलाई मायागर्ने सबै नेपालीहरूलाई सहयोगको लागि अपिल गरिने NAH का पदाधिकारीले जानकारी गराए। विदेशमा रहेका नेपाली समुदायहरुलाई एकताबद्द बनाउन यस्ता मन्दिर र सामुदायिक केन्द्रहरु निकै उपयोगी हुने विश्वास अभियानमा संलग्न अगुवाहरुको रहेकोछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू