अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

अंगदान जीवन दान-अग्नि चौलागाईं

बिआरटीनेपाल २०७४ असार १४ गते ११:४३ मा प्रकाशित

जन्म पश्चात् मृत्यु अबस्वम्भावी छ, यो प्रकृतिको नियम हो । हरेक जीवात्माको मृत्यु कहिले, कहाँ, कसरी, कुन अवस्थामा हुन्छ केही थाहा हुँदैन । प्रख्यात रुसी साहित्यकार लिओ टोल्स्तायको “व्हाट मेन लिभ बाइ?” मा “मानिसलाई के दिइएको छैन ?” भन्ने प्रश्नको उत्तरमा सुर्यास्त अगाडी मृत्यु हुने व्यक्तिले समेत वर्षौं खप्ने जुत्ता अर्डर गर्ने र बिग्रेमा सजाय गर्ने कठोरता देखाउदा मानिसलाई आफ्नो आवश्यकता के हो भनी थाहा नदिएको झैँ हामी सबै आज हेरिरहेका छौँ, भोलि के हो भनी कसैलाई थाहा छैन । तसर्थ, आज बाटै हामीलाई भोलि आवश्यक पर्ने वस्तुको जगेडामा लागौ । यस धर्तीमा जबसम्म हामी रहन्छौ तब सब सत्कर्म गर्दै मानव सेवामा रहनु नै जीवनको पुण्य कमाउने उपाय हो । जुन सुकै धर्म वा सम्प्रदायमा हेर्ने हो भने पनि मानवीय कर्मको माध्यमबाट नै धर्मको मार्गमा प्रवेश गर्न सकिन्छ र मोक्ष प्राप्ति हुन्छ ।

हामीले हरेक दिन “रक्तदान जीवनदान” भन्ने नारा देखि रहेका छौँ । धेरैले रक्तदान गरेर नयाँ जीवन प्रदान गरेका छौँ, हामी कतिले रक्तदानको महत्त्व र सामान्य मानिसले दान गर्दा स्वयमा कुनै हानी गर्दैन भन्ने थाहा नपाइरहेका पनि छौँ । अमेरिकामा रहेका अर्जुन प्रसाद मैनालीले सय पटक भन्दा रक्तदान गरेका छन् र उनी यसको महत्वको प्रकाश पार्दै सबैलाई बुझाउने प्रयासमा समेत रहेका छन् । कत्ति व्यक्तिले प्लेटलेट्स र बोन म्यारोको समेत दान गरेका छन् । अमेरिकामा रक्तदान गर्ने नेपालीहरूको एउटा संस्था समेत रहेको छ, जसले विभिन्न ठाउँमा रक्तदानको आयोजना गर्ने गर्दछ । यस बाहेक पनि नेवा: अर्गनाइजेसन तथा बिआरटि नेपाल लगायत अन्य सङ्घ-संस्थाले समेत यस्ता कार्यक्रम आयोजना गरिरहेकाछन् । नेपालीहरू विश्वका जुनसुकै भागमा रहे पनि मानवसेवामा समर्पित रहेको ज्वलन्त उदाहरण प्रस्तुत गरेका छन् । विभिन्न देशमा रक्तदान गर्न मिल्ने आ-आफ्ना प्रावधान छन्, जसलाई सम्बन्धित देशमा रहेका रेडक्रसको कार्यालयमा गई बुझ्न सकिन्छ ।

हामीले रक्तदानको विषयमा सुनिरहेको, बुझेको र कतिले गरिरहेका पनि छौ । तर, अंगदानको विषयमा हामीले कमै मात्रामा सुनेका छौँ । हाम्रो मृत्युपश्चात समेत मानव सेवा गर्न सकिने यस कार्यबाट राम्रो सँग बुझ्न नसक्दा हामीहरू यस महान् कार्य गर्नबाट चुकिरहेका छौँ ।

के छ त अंगदान सम्बन्धमा धार्मिक मान्यता ?
अंगदानलाइ इसाई, मुस्लिम, बुद्दिस्ट, हिन्दु, सिख लगायत सबै धर्मवालम्बीहरुले गर्न उपयुक्त छ भनी धर्म गुरुहरुले समेत विभिन्न स्थानमा उल्लेख गरेका छन् । क्रिस्टियन धर्मको म्याथिउ १०:८ मा “बिरामीलाई निको पार्न….तिमीले स्वतन्त्र रूपमा पाएको, स्वतन्त्र रूपमा देऊ” भनी उल्लेख गरिएको छ । क्याथोलिक धर्मगुरु पोप जोन पौल दित्तीयले आफ्नो इनसाइक्लिकल चिठीमा भगवानले हामीलाई दिएको यस विशिष्ट उपहारलाइ अंगदान गरी भगवानको उपहार अर्कोलाई प्रदान गर्नसक्छ भनी उल्लेख गरेकाछन् ।

सामान्यतया जीवित वा मृत्यु भइसकेको शरीरसंग खेल्ने कुरालाई इस्लाम धर्मले अस्वीकार गर्दछ तर सारियाले आवश्यकता र अरूको जीवन रक्षा गर्ने सन्दर्भमा छुट प्रदान गरेको छ । बूदिस्ट धर्मावलम्बीहरु अङ्ग र टिसिउ दान व्यक्तिगत अन्तस्करणको कुरा हो भन्ने कुरामा विश्वास गर्छन् र उनीहरू दया प्रेरित दानमा उच्च मूल्य राख्दछन । हरेक व्यक्तिको स्वनिर्णयमा नै अंगदान निर्भर गर्ने कुरा बुद्दिस्ट धर्मले मान्दछ ।

हिन्दु धर्ममा भागवत गीताको अध्याय २:२२ मा हामीले कपडा परिवर्तन गर्दा पुरानो फाले झैँ आत्माले समेत नयाँ शरीरमा जाने उल्लेख भएको छ ।
“वसम्सी जिर्नानी यथ विहय
नवनी ग्र्ह्नती नरो ‘परानी
तथ सारीरानी विहय जिर्नन्य्
अन्यनी सम्यती नवन्दी देहि। ”

( “एक व्यक्ति नयाँ पोसाक लगाउछौ भने पुरानो लाई छोडी रहेका हुन्छौ त्यसै गरी प्राणले नयाँ शरीर स्वीकार गर्दै पुरानो र बेकारी शरीरलाई छोडी रहेको हुन्छ । “)

समस्टिगत रूपमा भन्नु पर्दा सबै धर्मले व्यक्तिगतरुपमा अभिप्रेरित भएर नै मानिसले अंगदान गर्न सक्ने उल्लेख गरेको पाइन्छ । कानुन निर्माताहरूले समेत व्यक्तिको निर्णय नै सर्वोपरी हुने गरी यस विषयका कानुन निर्माण गरेका छन् ।

अङ्ग प्रत्यारोपण सम्बन्धी नेपालमा कानुनी प्रावधान
नेपालमा नेत्रदान र किड्नी प्रत्यारोपण बढी देखिएको छ भने पछिल्लो समयमा बोन म्यारोको प्रत्यारोपण समेत सुरु भएको छ ।

‘मानव अङ्ग प्रत्यारोपण सम्बन्धी ऐन, २०५५ र मृगौला प्रत्यारोपण (नियमावली र निषेधाज्ञा) नियम २००२ ले अङ्ग प्रत्यारोपण सम्बन्धी कार्यको निर्देश गरेको छ । अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई २०७२ फागुन १३ गते सो एन संशोधन गर्न बनेको विधेयक संसद्ले पारित गरेपछि अङ्ग प्रत्यारोपण को कार्य सहज भएको हो । २०५५ मा बनेको एनले नजिकको नातेदारहरु छोरा, छोरी, आमा, बुबा, भाइ, बहिनी, मामा, भान्जा, भान्जी, हजुरबुबा, हजुरआमा वा कानुनी रूपमा अपनाइएका परिवारका सदस्यहरूबिच मात्र प्रत्यारोपण गर्न पाउने कानुनी बाध्यता थियो । तर, स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा अङ्ग प्रत्यारोपण नियमित तथा निषेध नियमावली-२०७३ मसिर २०७३ मा पारित भएपश्चात कलेजो प्रत्यारोपणको कार्यसमेत नेपालमा हुन थालेको छ भने आँखा, मिर्गौला, फोक्सो, मुटु, प्याङक्रियाज र सानो आन्द्रा दान तथा प्रत्यारोपण गर्ने कानुनी बाटो खुल्ला भएको छ ।

ब्रेन डेढ व्यक्तिले जीवित छँदै आफ्नो शरीरको अंगदान नगर्ने लिखित इच्छा गरेको खण्डमा परिवारका सदस्यले उसको शरीरको अंगदान गर्न नपाउने व्यवस्था नयाँ नियमावलीमा गरिएको छ ।

एनले परिवारका सदस्यको रूपमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासूससुरालाइ समेटेको छ भने नजिकको नातेदारअन्तर्गत अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबुआमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठुलो बाबु, ठूली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासूससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा माइजू, भान्जाभान्जी, सालासाली, फुपूफुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं र जेठानलाइ लिएको छ ।

नेपालमा आखाको नानी बि.स. २०५१, मिर्गौला २०५८, बोन म्यारो २०६९ र कलेजो २०७३ बाट प्रत्यारोपण गर्न सुरु गरिएको भएता पनि मुटु, फोक्सो, प्यान्क्रियाज र सानो आन्द्राको प्रत्यारोपण गर्न सकिने भए पनि हालसम्म हुन सकेको छैन ।
ब्रेन डेढ व्यक्तिले दुई आँखा, दुई मिर्गौला, दुई फोक्सो, मुटु र एक अग्न्याशय गरी आठ अंगदान गर्न सक्ने हुन्छ । यस प्रक्रियाको लागि चौबिसै घण्टा उपलब्ध हुने चिकित्सक टोली, अङ्ग प्रत्यारोपण गर्न पर्ने व्यक्तिको सुची र स्पष्ट नियमको समेत व्यवस्था गर्न सकेमा नेपालमा धेरैले यसबाट फाइदा लिन सक्ने देखिन्छ । अमेरिका जस्तो विकसित देशमा अङ्ग प्रत्यारोपणका लागि दाताहरुको विवरण, अङ्ग प्रत्यारोपण गर्नु पर्ने बिरामीको विवरण, कसलाई उत्तम रूपमा प्रत्यारोपण गर्न मिल्छ भनी म्याच गर्ने प्रविधि र प्रस्ट कानुनी प्रावधानले गर्दा धेरैले यो सुविधाबाट फाइदा लिन सकेका छन् ।

विश्वमा अङ्ग प्रत्यारोपण सम्बन्धी तथ्य
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार विश्वभर पूर्ण अन्धोपना भएका ३९ मिलियन (३ करोड नब्बे लाख) र आंशिकरुपमा आँखा नदेख्ने २४६ मिलियन (चौबिस करोड साठी लाख) व्यक्तिहरू छन् । सङ्गठनले ८० प्रतिशत आँखाको समस्या उपचार वा प्रारम्भिक रेखदेखमा समाधान गर्नसकिने जनाउदै बिश्वब्यापी अभियान सञ्चालन गरेको छ । जन्मजात अन्धोपन भएका देखि पछि अन्धोपना हुने सम्मका व्यक्तिहरू संसार देख्न सकिने आसमा बसिरहेकाछन्, उनीहरूलाई कसैले नेत्रदान गरेमा विश्वलाई मृत्यु भइसकेको व्यक्तिको मार्फतबाट देख्न सक्नेछन् ।

असीको उमेरमा बित्नु भएको मेरो आमाले नेत्रदान गर्ने इच्छा व्यक्त गर्नु भएको थियो । उहाँको चाहानालाई दाजुहरुले सम्मान गर्दै गरेको नेत्रदानबाट एक बालकले संसार देख्ने मौका पाएका छन् । सो बालक मार्फत मेरो आमाले यो संसार हेरिरहनुभएको छ । हामीहरूले चाहाने हो भने विश्वभर अन्धोपना मुक्त गराउन सक्दछौ ।

नेशनल फाउनडेशन फर ट्रान्सप्लान्टका अनुसार अमेरिकामा मात्र अङ्ग प्रत्यारोपणका लागि पर्खीरहेकाहरु मध्यबाट २२ व्यक्तिको मृत्यु भइरहेको हुन्छ । एउटा व्यक्तिले अंगदान गर्दा आठ व्यक्तिको जीवन बचाउन सहयोग पुग्छ भने पचास भन्दा बढी व्यक्तिको जीवनमा परिवर्तन ल्याउन सक्छ ।

अङ्ग प्रत्यारोपणको जागरण गराउन सम्भव छ ?
विश्वमा दैनिक करिब तीन लाख पचास हजार व्यक्तिको जन्म र एकलाख पचास हजार व्यक्तिको मृत्यु भइरहेको हुन्छ । कुनै पनि व्यक्तिलाई यी अंगहरुको आवश्यकता कुनै पनि समयमा हुन सक्ने हुँदा आफूलाई दाताको रूपमा दर्ता गरेर राख्नाले आफ्नो जीवन रक्षाको आधार खडा हुनुको साथै अरूको जीवन रक्षाको आधार समेत तयार हुँदै धर्म कमाउन पाउने कुरा बुझाउन सक्नु पर्दछ । मानिस पृथ्वीको कुनै कुनामा रहे पनि उसलाई आवश्यकता पर्ने हृदयंगम गराउन जरुरत देखिएको छ । भगवानबाट विशिष्ट उपहार स्वरूप प्राप्त अङ्गको स्वेच्छाले दान गरी आफ्नो मृत्यु पश्चात् समेत लोककल्याणकारी काम गरी नमुना प्रदान गर्ने अवसर सबैको सामु रहेको छ । सबैको सहभागिताले विश्वभरबाट अङ्ग प्रत्यारोपणका लागि पर्खी रहेकाहरुले राहत पाउने थिए, नयाँ संसार देख्ने थिए ।

प्रतिक्रिया