अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

नेपालगञ्जबासीको मन बुझेका मेयर उम्मेद्वार डा.कनौडिया

बिआरटीनेपाल २०७४ असार ६ गते ११:५३ मा प्रकाशित
दोस्रो संविधानसभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट समानुपातिकको सूचीमा रहनुभएका डा. सुरेशकुमार कनौडियालाई नेपाली कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा उम्मेद्वार बनाएको छ । झण्डै २३ बर्षदेखि नेपालगञ्जलाई कर्मथलो बनाएर त्यसभेगका नागरिकहरुको स्वास्थोपचार र नेपालगञ्जको आर्थिक,सामाजिक तथा शैक्षिक विकासमा योगदान गर्दै आउनुभएका डा.कनौडियाको उम्मेद्वारीले नगरवासीमा ठूलो आशा र विश्वास पलाएको छ ।
कपिलबस्तुको कृष्णनगरमा २२ अक्टुबर १९५२ सालमा बुवा ओमप्रकाश कनौडिया र आमा सावित्री कनौडियाको माइलो सन्तानको रुपमा जन्मनुभएका सुरेशकुमारले चिकित्सक भएपछि आफ्नो ज्ञान,सीप,अनुभव,रगत र पसिना सबै नेपालगञ्जवासीको भलाईका लागि खर्चनुभएको छ । मस्कोको पिपल्स फ्रेण्डसीप विश्वविद्यालयबाट सल्यचिकित्सामा विशेषज्ञता हासिल गरेपछि नेपाल फर्कनुभएका कनौडियाले विक्रम संवत् २०४० सालमा वीर अस्पतालमा ९ महिना जति काम गरेपछि उहाँको कर्मथलो बन्यो नेपालगञ्ज । उहाँले नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा २०५४ सालसम्म (करिब १४ बर्ष) काम गर्नुभयो । 
भेरी अञ्चल अस्पतालमा काम गर्दा मध्य र सुदूरपश्चिम क्षेत्रको कहाली लाग्दो स्वास्थ्य अवस्था बुझ्ने मौका पाउनुभएका डा. कनौडियालाई यस क्षेत्रका नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवा दिने उपायका बारेमा चिन्तित एक संयोग जु¥यो । चिसापानीमा स्थापना भैरहेको डी वाई पाटिल मेडिकल कलेज बन्द हुने अवस्थामा पुगेको रहेछ । त्यस क्षेत्रका तात्कालीन राजनीतिक हस्ति सुशील कोइराला, खुमबहादुर खड्का लगायतका नेताहरुले पूर्वाधार बनिसकेको सो अस्पताल सञ्चालनको जिम्मा लिन आग्रह गरेपछि उहाँले त्यसबाट स्थानीय नागरिक,मध्य तथा सुदूर पश्चिमका बासिन्दाको स्वास्थ्योपचार र योग्य जनशक्ति उत्पादनमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याउन सकिने योगदानको आँकलन गर्नुभयो । अनि आफ्ना शुभचिन्तक र सहयोगीहरुको साथमा सन् १९९६ को मार्च अर्थात बि.सं. २०५३ फागुनमा डिवाई पाटिलसँग सम्झौता गरी २०५४ साउन १ गते लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड दर्ता गर्नुभयो । सन् १९९७ अर्थात २०५४ सालबाट नेपालगन्ज मेडिकल कलेज संचालनमा आयो ।  निजी क्षेत्रबाट संचालनमा आएको सुविधा सम्पन्न मेडिकल कलेजबाट सेवाप्रवाह हुन थालेपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका नागरिकले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता धेरै हदसम्म टरेको छ ।
डा. कनौडियाले यस कलेज सञ्चालनको जिम्मेवारी लिएपछि यसले यस क्षेत्रमा स्वास्थ्योपचारमा मात्र सहयोग पु¥याएको छैन, नेपालीहरुको डाक्टर र नर्स बन्ने चाहना पनि पूरा गरेको छ । उहाँकै अग्रसरतामा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोम नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज चिसापानीमा इच्छुक छात्रछाज्ञाले शिक्षा पाएका छन् र यसले स्थानीय तहमा रोजगारी समेत प्रदान गरिरहेको छ ।
पहिलो ब्याजमा ७५ जना चिकित्सक उत्पादन गरेको नेपालगन्ज मेडिकल कलेजले हाल सम्म १७ सय डाक्टर, ४ सयभन्दा बढी नर्स उत्पादन गरिसकेको छ । नेपालगञ्ज मेडिकल कलेजले नै उत्पादन गरेका अधिकांश चिकित्सक र नर्सले मेडिकल कलेजमा रोजगारी पाइरहेका छन् । यहाँ अध्ययन गरेका कयौं विद्यार्थीहरु हाल अमेरिका, युरोप, अष्ट्रेलिया, जापान लगायतका देशहरुमा पुगेर स्वास्थ्य क्षेत्रमा आफुलाई स्थापित गरिसकेका छन् । नेपालमा मनग्य रिमेट्यान्स पठाइरहेका छन् । नेपालगञ्ज मेडिकल कलेजले नै अहिले  डक्टर, नर्स र अन्य समूह गरि १४ सय जनालाई रोजगारी दिइरहेको छ ।
शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुभएका डा. कनौडियाले दूरदराजका विपन्न वर्गका विरामीहरुको सेवामा पनि उत्तिकै ध्यान पु¥याउनु भएको छ । आङ खस्ने समस्याबाट पीडित मध्य र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका महिलाहरुका लागि उहाँले १८ वर्षदेखि अभियानै संचालन गर्नुभएको छ । त्यस्तै महामारी फैलिएका क्षेत्रमा विशेषज्ञ चिकित्सकहरुको टोली र औषधीको व्यवस्था गर्नेदेखि आवश्यक ठाउँहरुमा निशुल्क स्वास्थ्य शिविरहरु संचालन गरेर यस क्षेत्रका नागरिकहरुको स्वास्थ्योपचारमा उहाँले निकै ध्यान दिनुभएको छ । उहाँ जटिल प्रकारको क्यान्सरको पनि यहीँ नै उपचार गर्ने व्यवस्थाको तयारीमा हुनुहुन्छ ।
नेपालगन्ज मेडिकल कलेजले ०६७ र २०६८ मा शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा पनि प्रधानमन्त्रीबाट सम्मान पाएको थियो । डा. कनौडियाले स्वास्थ्य शिक्षाको क्षेत्रमा विशेष योगदान गरेवापत् २०६७ साल जेठ १५ गते राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री तृतीय प्राप्त गर्नुभएको थियो ।
उहाँ व्यवसायिक क्षेत्रको नेतृत्वमा पनि निरन्तर रहदै आउनुभएको छ । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बाँके जिल्ला सरकारी कर्मचारी संगठनको प्रथम अध्यक्ष, नेपाल मेडिकल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष (२०४८ – २०५०), नेपाल मेडिकल एशोसिएशन भेरी शाखाको अध्यक्ष (०६८–०७०) र एशोसिएशन अफ प्राईभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका संस्थापक अध्यक्ष (०६५–०७१) रहेर उहाँले सामाजिक क्षेत्रमा पनि पर्याप्त योगदान गरिसक्नुभएको छ ।
प्रवेशिका परीक्षामा अनिवार्य अंग्रेजीमा एकपटक अनुर्तिण हुनुभएका डा. कानोडियाले त्यसपछि असफलतालाई सफलताको प्रेरक मानेर यति मिहेनत गर्नुभयो कि सन् १९६७ मा काठमाडौं त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुलकै टपर भएपछि उहाँ कहिल्यै दोस्रो हुनुपरेन ।
सात वर्षको उमेरमा कपिलबस्तुकै स्थानीय विद्यालयमा एकैपटक चार कक्षामा भर्ना भएका डा. कानोडियालाई  परिवारका सदस्यहरुले नै सानैदेखि ‘डाक्टर बाबु’ भनेर बोलाउँथे । भविष्यमा डाक्टर बनेर विरामीको उपचार गरेको सपना देख्ने डा. कनौडिया त्रिचन्द्र कलेजका आइएससी टपर पनि हुनुहुन्छ ।
सन् १९७२ मा रुसको मस्कोस्थित पिपल्स फ्रेण्डशिप युनिभर्सिटीमा छात्रवृत्तिमा पढ्ने अवसर पाउनुभएका कनौडियाले ११ वर्षको निरन्तर अध्ययन पछि सर्जरीमा विज्ञता प्राप्त गर्नुभएको थियो ।उहाँलाई घाना, केन्या लगायतका देशबाट कामको प्रस्ताव  नआएको होईन तर उहाँले आफ्नै देशका जनताको सेवा गर्ने धोको पूरा गर्न नेपाल फर्कने निर्णय लिनुभएको थियो ।
डा.कनौडियाको नेपालगञ्ज सपना
स्वास्थ्य र सामाजिक क्षेत्रबाट नेपालगञ्जबासीको सेवा गरिरहनुभएका डा. कनौडिया आफ्नो ज्ञान,सीप,क्षमता,दक्षता र स्वदेश तथा विदेश भ्रमणमा देखे तथा सिकेका अनुभवहरुलाई उपयोग गरेर नेपालगञ्जको भौतिक र आर्थिक विकासमा लगाउन चाहना राख्नुभएको छ । “नगरको समग्र विकासका लागि राजनीतिमा लागेको हुँ,” डा. कनौडिया भन्नुहुन्छ,“ राजनीति समग्र नीतिको माउ भएकोले यसमा संलग्न हुन जरुरी रहेछ।”उहाँले आफ्नो चुनावी घोषणा पत्रमा आगामी पाँच बर्षमा गरिने कामको फेहरिस्त पनि तयार गर्नुभएको छ । जसमा नेपालगञ्ज नगरपालिकालाई आधुनिक प्रविधियुक्त पूर्वाधार तयार पारी यस नगरको विकास गर्ने र यसलाई सुन्दर,शान्त,समृद्ध शहरमा रुपान्तरण गर्ने योजना र कार्यक्रमहरु समावेश गरिएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू