अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

चुनावको भूत र भतिज उदण्डप्रसाद – सुनिल मणी दाहाल

बिआरटीनेपाल २०७४ जेठ २८ गते १२:५५ मा प्रकाशित

यतिखेर स्थानीय निर्वाचनले नेपाल चुनावमय भएको छ । पहिलो चरणको निर्वाचन पनि सम्पन्न भएको छ। आ आफ्ना दल र उम्मेदवारको हार जितको समीक्षामा युवा देखी वृद्ध सम्म आँखा झिमिक्क नपार्दै टेलिभिजन र अनलाइन मिडियाको खबरमा नजर गाढेर बसे । पट्यार लाग्दो निर्वाचनको मत गणनाले घर परिवार नै अस्तब्यस्त जस्तै भयो । चिया पसल देखी कार्यालय सम्म आफ्नो दैनिकी नै छोडेर मान्छेहरू आफ्नो अडकल बाजीमा व्यस्त देखिए ।

यती खेर निर्वाचनको रन्कोमा समाज टुक्रीएको छ्- कोही काङ्रेस , कोही एमाले त कोही माओवादी केन्द्र र कोही साझा त कोही बिबेकशिल । गाउँ घरको चिया पसल बेस्सरी चलेको छ , घर परिवार प्रतिको दैनिकी नै छोडी गफ र अडकल बाजीमा समय बिताउने थलो कि त चिया पसल छ कि त भट्टी पसल ।

पन्चायतकाल, बहुदल हुँदै गणतन्त्रको स्वाद चाखेका र ऐले आएर राजनीतिमा वाक्क भएका एक जना फेसबुके मित्रले बडो अर्थपुर्ण बिचार राखेका छन् । उनको बिचार यती खेर सामाजिक सन्जालमा भाईरल भइरहेको छ । आफ्नो छोरा उदण्डप्रसाद लाई सम्झाउने पाराले उनले वर्तमान यथार्थलाई समेटेका छन् ।

उनले आफ्नो स्टाटसमा आफ्नो फ्रस्टेसन यसरी पोखेका छन्:

घरमा गाईलाई चोकर नपुगेर ३ लिटर दूध घटेको थाहा छैन,
खसी ५ केजी घटिसक्यो,
आँगनमा झार पलाएर सर्प घरभित्र पस्ने भइसक्यो,
सुत्केरी बाख्रो भोकाएर म्या म्या गरेको सुन्नु छैन-
एमालेले जित्यो भन्या छ उफ्र्या छ,
काँग्रेसले जित्यो भन्या छ कराको छ,
माकेले उछिन्न आँट्यो फलाना ठाउँमा भन्या छ हाँस्या छ ।
मतगणनामा धाँदली भो भन्या छ नारा ला’छ ।
आउँदै गरेको तेरो परीक्षामा वडाध्यक्षले लेखिदिन्छ हो ?
चाहिंदो मात्रामा चासो राखे हुँदैन ?

जा मिलमा गएर धान कुटाएर लेर आइज ।
कि यतिकै पकाको खान्छस् ?
अलिकति पिना पनि किनेर ले ।
तेरी आमा नोकर हो सबै काम गर्ने ?
लठुवा ! यत्रो भइसक्यो सिन्को भाँच्नु छैन ।
गफ लडाको छ, बसेको छ ।
त्यो साइकल लेर जा ।
बाइक नसमात् ।
हिरो हुन खोज्छस् ?
कसले जितेर तँलाई के हुन्छ ?
टि भी ल्याइदिन्छन् ?
कि DV पार्दिन्छन् ??

नेता चोर भए भन्थिस् ।
पार्टीहरू कुनै काम लाग्दैनन् भन्थिस् ।
जनताका लागि कसैले केही गर्दैनन् , सबै पार्टी उस्तै हुन् , सबै बिग्रेका , कसैको भविष्य छैन भन्थिस् ।

तँ चाहिँ सप्रेको खोइ ?
के छ तेरो भविष्यको योजना ?
मैले पनि भोटै हालेको हुँ ।
तेरी आमाले पनि भोट हालेर आएकी हो ।
चुनाव हो, आयो गयो । जसले जित्यो, जितोस् ।
तेरो यो १५ दिन मनाउने दसैँ हो ? लट्ठक् ।
भयो अब यो चुनाव सुनावको कुरा छोड ।
जा बरु बारीमा मकै गोड ।
हैट ! तलाई खानको काल !!

जा जा जा अगाडि नपर, भागिहाल !!

” बा रन्किन सम्म रन्किए आज बिहान । म त भागेर यता आएँ । वास्तवमा यो चुनावको भूत मलाई कति साह्रो चढेछ अंकल ? अब के गर्नेहोला ? ” भन्दैछ मेरो भतिज उदण्डप्रसाद ! ” लौ न के सल्लाह दिने होला ?

माथिको प्रसङ सामाजिक सन्जालबाट साभार गरिएको हो । राजनीतिमा अनावश्यक चासो राख्दै आफ्नो दैनिकी बिर्सेकाहरु लाई अर्थपुर्ण सन्देश दिन सफल भएको उक्त भनाई सही अर्थमा यथार्थपरक छ । आफ्ना बा को भनाइबाट उछिट्टिएर काकाको घरमा सल्लाह लिन पुगेका उदण्डप्रसाद झैँ तपाईँ पनि आफ्नो दैनिकी छोडी निर्वाचनमा लम्पसार त पर्नु भएको छैन?

प्रतिक्रिया