अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

नेपालकै पहिलो डेरी अवशेष मात्र

बिआरटीनेपाल २०७४ जेठ २२ गते ७:५० मा प्रकाशित

काभ्रे जिल्ला कृषि, पशुपालन र पर्यटनको हिसाबले जति अगाडि छ, त्यो भन्दा बढी दुग्ध उत्पादनको हिसाबले पनि आत्मनिर्भर जिल्लाको रूपमा स्थापित छ ।

नेपालमै पहिलो पटक २००९ सालमा काभ्रे जिल्लाको उग्रचण्डी नालाको टुसालमा पहिलो दूध डेरी स्थापना भएको थियो । नेपाल दुग्ध विकास संस्थानको स्वामित्वमा स्थापना भएको उक्त डेरीमा २ सय लिटर भन्दा बढी दुग्ध सङ्कलन हुने गर्दथ्यो । त्यहींबाट दूध प्रशोधन र दुधजन्य पदार्थ दही, मोही, घ्यु, खुवा लगायत उत्पादन गरी भक्तपुर हुँदै काठमाडौँको बजारसम्म लगिने गरिन्थ्यो । स्विस सरकारको सहयोगमा निर्माण भएको उक्त डेरी २०४० सालदेखि पूर्ण रूपमा बन्द रहेको नेपाल डेरी एशोसियशनका उपाध्यक्ष राजनप्रसाद दाहालले जानकारी दिए । 

अहिले अवशेष मात्र रहेको नेपालकै पहिलो डेरीको राष्ट्रिय विकास बोर्डका सदस्य एवं नेपाल डेरी एशोसियशनका अध्यक्ष सुमित कोडिया, बोर्ड सदस्य एवं महासचिव प्रल्हाद दाहाल, डेरी एशोसियशनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटा, तृतीय उपाध्यक्ष राजन दाहाल लगायतको टोलीले सोमबार उक्त भग्नावशेषको अवलोकन गर्दै त्यसको विकास र सञ्चालनमा भूमिका खेल्ने बताएका छन् । डेरीकै नाममा भवन र २ रोपनी जग्गा रहँदा पनि निरन्तर सञ्चालन हुन नसक्दा त्यो क्षेत्रका दुग्ध कृषक समेत मारमा परेका छन् । उक्त स्थानमा नेपाल डेरी एशोसियशनले डेरी टेक्निकल इन्ष्टिच्युटको स्थापना माग राखी राजन दाहालको संयोजकत्वमा ३ सदस्य समिति समेत गठन गरी आफ्नो कार्य समेत अगाडि बढाएको भए पनि सम्बन्धित पक्षको ध्यान पुग्न नसक्दा नेपालमै पहिलो डेरीको रूपमा रहेको त्यस क्षेत्र ओझेलिएको छ ।

अहिले जिल्लाका प्रत्येक गाउँ र नगरमा प्राइभेट रूपमा डेरीहरु सञ्चालनमा रहेपनि सरकारी स्वामित्वको पुरानो डेरी सञ्चालन नहुँदा सरकारी लगानी खेर गएको छ नै र त्यो क्षेत्रका कृषकहरूले पनि सुविधा पाउन सकेका छैनन् । उक्त क्षेत्रको अवलोकनपछि त्यसको संवद्र्धन र स्थापनाका लागि डेरी एशोसियशनले पहल गर्ने एशोसियशनका अध्यक्ष सुमित कोडियाले बताए ।

काभ्रे जिल्ला तरकारीमा सुपरजोन (आलु), दुग्ध उत्पादनमा आत्मनिर्भर र कृषिमा पनि त्यतिकै अगाडि रहेको जिल्ला हो । एक गाउँ एक उत्पादन अन्तर्गत काभ्रे दुग्ध उत्पादनमा परेर कार्य पनि भइरहेको छ । तर नेपालकै पहिलो डेरीको रूपमा स्थापना भएको डेरीलाई इतिहासको रूपमा मात्रै पाउनु जिल्लाको लागि पक्कै पनि सुखद समाचार होइन । अब अवशेषको रूपमा रहेको उक्त क्षेत्रमा सरकारी र सम्बन्धित निकायको ध्यान पुग्ने हो भने फेरि पनि त्यो क्षेत्र डेरी हबका रूपमा स्थापित हुन सक्छ । त्यहाँको स्रोत साधनलाई सही प्रयोग गराउन सक्ने हो भने जिल्लाले फेरि पनि नमुनाको रूपमा रेकर्ड राख्न सक्छ । सबैको ध्यान पुगोस् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू