अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

लस एन्जलसमा कन्सुलर कार्यालय राख्ने निर्णयका साथ कार्यालय खोल्ने चुनौती

बिआरटीनेपाल २०७४ जेठ ११ गते १९:१० मा प्रकाशित

अग्नि चौलागाईं, अमेरिका, लस एन्जलस २३ मे ।

नेपाल सरकारले क्यालिफोर्नियाको लसएन्जलसमा कन्सुलर कार्यालय राख्ने निर्णय गरेसंगै यसक्षेत्रमा बसोबास गर्ने नेपालीहरुमा खुसीयाली छाएको छ । दूतावासबाट लिने सुविधाहरू लिनको लागी पाँच घण्टा भन्दा बढीको हवाई यात्रा, हजार डलर भन्दा बढी खर्च गर्नुपर्ने र हप्ता दिन जसो समय खर्चिनु पर्ने अवस्थाबाट मुक्ति पाउन नेपाल सरकारले गरेको निर्णय सँगै यहाँ कार्यालय खुलेमा यसको सेरोफेरोमा बस्नेहरूले सुविधा पाउनेमा आशाबादी छन्।

नेपाली जनसंम्पर्क समिति, अमेरिका-साउदर्न क्यालिफोर्निया च्याप्टर,लस एन्जलस,अमेरिकाका सभापति मदन पाठकले एक विज्ञप्ति निकालेर सम्पर्क समितिले तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति स्व. सुशील कोइरालालाई समस्याको अबगत गराउनुका साथै विभिन्न पार्टी तथा नेपाल सरकारका प्रतिनिधिसँग भएका अन्तरक्रिया कार्यक्रममा कन्सुलर कार्यालय स्थापनाको लागि पहल गरेको उल्लेख गरेकाछन् । कन्सुलर कार्यालय खुल्दा आफ्नो भवनमा अफिस राख्न दिने श्री पशुपतिनाथ फाउन्डेशनले निर्णय गरेको छ,पटक पटक आफ्नो कार्यालयमा बहस कार्यक्रम सन्चालन गरेको र गर्न दिएको नेपाल अमेरिका एकता समाज लगायतका सङ्घ संस्थाहरू र कार्यालय खुलेमा एक कर्मचारीको तलब आफू ब्यहोर्न तयार भएको भनी यसको लागि पहल गर्ने नेपाल सरकारका अबैतनिक दुत ॠषि ढकालको भूमिका समेत उल्लेखनीय रहेको छ । कति नेता त आए मन्चमा बसे भाषण ठोके, नेपालमा गएर कहीँ कतै आवाज उठाएनन ।

परराष्टमन्त्री डा. प्रकाशशरण महत पटक पटक यहॉं आउँदा आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रमहरू, नेपाली कॉंग्रेसका महामन्त्री मा.डा.शशांक कोइराला,मा.वन तथा भुसंरक्षण मन्त्री शङ्कर भन्डारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू मा.बल बहादुर के.सी.,मा.नारायण प्रसाद साउद मा.अर्जुन प्रसाद जोशी, मा.जीवन परियार, विश्वप्रकाश शर्मा, कल्याण कुमार गुरुंग, मा.राजु थापा लगायत लसएन्जलस भ्रमणमा रहेका नेताहरू सङ गरिएका अन्तर्कृया कार्यक्रम ले जनमत र आवाज सृजना गर्ने काम गर्‍यो । एनआरएन अमेरिकाको चुनावमा समेत उम्मेदवारहरुले कन्सुलर शाखाको पहल गर्ने भन्दै भाषण गर्ने र भोट माग्ने गरिरहेकाछन्, जसले आवाज सृजना गर्ने कार्यमा भने टेवा पुर्याएको छ । कुनै कुरा प्राप्तिको लागि उठेका आवाजलाई लबिङ गरिरहनु त्यतिकै आवश्यक हुन्छ ।

परराष्टमन्त्री डा. प्रकाशशरण महत आफ्नो छोरी लसएन्जल्समा अध्यनरत हुँदा पटक पटक यहाँ आउँदा यो समस्यालाई नजिकबाट बुझ्ने र देख्ने अवसर पाएका थिए। यसको अलावा ऊनी सँगै ने वि संघवकेन्द्रमा काम गरेका उनका समकक्षी नेपाली जन सम्पर्क समिति अमेरिकाका सल्लाहाकार मुकुन्द ढुङ्गानाको पहल र नेपाली कॉंग्रेसका महाधिवेशन प्रतिनिधि हेमराज भट्टको वर्तमान संस्थापन पक्षको पार्टी भित्रको आन्तरिक खेमा एकै भएका कारण निरन्तर रूपमा गरेको लबिङले पनि यो निर्णय हुन सघाउ पुर्याएको देखिन्छ। अब बन्ने सरकार को नेतृत्व समेत खासै परिवर्तन नभई शेर बहादुर देउवा प्रधानमन्त्री हुने पक्का जस्तै हुँदा कार्यालय स्थापना गर्न समेत सबैले निरन्तर पहल गर्नु पर्ने देखिन्छ ।
सरकार परिवर्तनको अघिल्लो दिनमा भएको यस निर्णयले कन्सुलर शाखा आइहाल्ने अवस्था भने छैन । शाखा खोल्नको लागि केही दिनमा हुने बजेटमा सो समावेश हुन्छ कि हुन्न, नयाँ परराष्ट्रमन्त्री को बन्ने हो जस्ता धेरै कुराहरूले यसको कार्यान्वयन पक्षमा असर पार्दछ ।

अमेरिकामा अझै पनि टेक्सस धेरै नेपालीको बसोबास भएको क्षेत्र भएको र वास्तवमा कन्सुलर शाखाको सो स्थानमा समेत आवश्यकता भएको हुँदा त्यहाँ बाट समेत निरन्तर लबिङ भैरहनेछ । नयाँ बन्ने मन्त्री मन्डलमा लबिङ को पहुँच र निरन्तरता नपाउने हो भने, यो एक हात्ती आयो हात्ती आयो फुस्सा भने झैँ कागजमा मात्र सीमित भएर जान पनि सक्दछ ।

आन्तरिक श्रोतले साधारण खर्च समेत धान्न धौधौ पर्ने मुलुकमा यस्ता धेरै निर्णय कागजमा रहनु कुनै अनौठो कुरा समेत हुँदैन । अहिलेको समय भनेको सबैको भूमिकाको सम्मान गर्दै वास्तवमा कन्सुलर कार्यालय खोलेर सेवा शुरुगर्नु नै ठुलो उपलब्धि हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू