अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

मानव अधिकार आयोगद्वारा निर्वाचनमा सहयोग पुर्याउन सबै पक्षलाई आग्रह (विज्ञप्ती)

बिआरटीनेपाल २०७४ वैशाख २८ गते १२:०४ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनका क्रममा बिभिन्न जिल्लामा भएका अप्रिय घटना प्रति दुख ब्यक्त गर्दै निर्वाचनमा सहयोग पुर्याउन सबै पक्षलाई आग्रह गरेको छ । ३ प्रदेशका ३४ वटै जिल्लामा अनुगमन टोली खटाएको आयोगले दोलखामा दुःखद् घटना भएको तथा गोरखा, रूकुम, कालिकोट, तनहुँ, स्याङ्गजा, चितवन, धादिङ्ग लगायतका केही स्थानहरुमा आगजनी, तोडफोड, झडप हुनुका साथै दोलखा जिल्लामा राजनीतिकदलका कार्यकर्ताहरूवीच झडप भई एक जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मतदाताको अधिकारको कदर गरी भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न, गराउन सबै पक्षलाई आग्रह गरेको हो ।

आयोगले बिहिवार एक प्रेश विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कनूनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घइतेहरूको प्रभावकारी उपचार गर्न तथा शान्ति सुरक्षाको स्थितिलाई थप प्रभावकारी बनाउन आयोग नेपाल सरकारलाई आग्रह गरेको छ ।

जारी विज्ञप्तीमा भनिएको छ -‘निर्वाचन अनुगमनका लागि आयोगले नागरिक समाजका प्रतिनिधिहरू संलग्न रहेको आयोगका अध्यक्षको नेतृत्वमा उच्चस्तरीय अनुगमन टोली समेत गठन गरेको छ । साथै, निर्वाचन पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाहरुसँग आयोगले सूचना आदान प्रदान गर्ने, समन्वय र सहकार्य गर्ने तयारी गरिरहेको छ । आयोगले आज आसन्न स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन पर्यवेक्षक संघसंस्थाहरूसँग छलफल गरेको छ । छलफलका क्रममा सहभागीहरूले निर्वाचनको पर्यवेक्षण गर्ने संस्थाहरु र राष्ट्रिय मानव अधिकार आयोगवीच निर्वाचन पर्यवेक्षण सम्बन्धमा सहकार्य र एक आपसमा सूचना आदान प्रदान गर्नु वाञ्छनीय हुने कुरामा सहमत भई सम्पर्क र सूचनाको सम्प्रेषण गर्ने तरिकाबारे छलफल भएको छ ।

निर्वाचनको अवस्थाबारे विस्तृत छलफल भई निर्वाचनपूर्वका घटना, झडप र दुःखद मृत्यु समेत हुँदा सुरक्षाको वातावरण सहज नभएकोप्रति सबैको गम्भिर ध्यानाकर्षण भएको छ । यस्तो अवस्था दोहोरिन नदिन नेपाल सरकार र राजनीतिक दलहरु सचेत हुनुपर्ने निष्कर्ष छलफलले निकालेको छ । साथै मतदानको दिन कुनै अप्रिय घटना घटेमा मतदाता तथा पर्यवेक्षकहरूको तत्काल उद्धार कार्य गर्नकालागि सुरक्षा निकायको प्रभावकारी भूमिका हुनु जरूरी रहेको र त्यसका लागि राजनीतिक दलहरुको सहयोग र संलग्नता हुनुपर्ने छलफलको निष्कर्ष रहेको छ ।

सबै राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिताको अक्षरसः पालना गर्न, गराउन आयोग आग्रह गर्दछ । निर्वाचनको विपक्षमा रहेको नेकपा माओवादी (विप्लव) समूहलाई निर्वाचन विरोधी तथा हिंसात्मक गतिविधिहरु नगर्न, नगराउन समेत आयोग विशेष आग्रह गर्दछ ।’

विज्ञप्ती

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू