अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 07:35

किन दर्ता भयो प्रधानन्यायधीश सुशीला कार्की विरूद्ध महाअभियोग ?

बिआरटीनेपाल २०७४ वैशाख १७ गते १०:५६ मा प्रकाशित

प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध व्यवस्थापिका संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । पहिलो महिला प्रधानन्याधिश बनेकी कार्कीमाथी हुँदै आएका पटक पटकका आलोचना सँगै अन्तत आइतबार दिउँसो ४ बजे उनी विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले कार्की विरुद्ध विभिन्न विषयमा आरोप सहितको महाभियोग प्रस्ताव दर्ता गराएका हुन । जसमा

१. प्रधानन्यायाधीश कार्कीले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ।
२. आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको ।
३. न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको ।
४. कार्यविधि र कानुनको पालना नगरेको ।
५. न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको ।
६. शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको ।
७. सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको ।
८. न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको ।
९. खराब आचरण गरेको ।

आरोप लगाइएको छ ।

संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद् सचिवालयमा उनी विरुद्ध दर्ता भएको महाअभियोग प्रस्थावमा काँग्रेस र माओवादी केन्द्रका २५१ सांसदको हस्ताक्षर रहेको छ ।

संविधानको धारा १०१ मा महाभियोग सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा २ मा ‘यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेस गर्न सक्ने छन्’ भन्ने व्यवस्था गरिएको छ ।

 

को हुन् शुशिला कार्की ?
आफू आर्थिक जोहो गर्ने र आफ्ना श्रीमान् घर गृहस्थी चलाउने भनी महिलाको क्षमताको बारेमा अभिव्यक्ति दिँदै आएकी शुशिला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी नेपाली काँग्रेसका त्यति बेलाका नाम चलेका युवा नेता थिए जतिबेला यी दुईजनाको भेट भयो । बनारस हिन्दु बिश्पबिद्यालय वाराणसीमा अध्ययनका क्रममा भएको भेटलाई विवाहमा बदलेका दुर्गा प्रसादले विवाह पछि शुशिलालाई सधैँ अगाडि बढ्न प्रोत्साहित गरिरहे ।

२००९ साल जेठ २५ गते बिराटनगर-३ शंकरपुरमा जन्मिएकी कार्की परिवारका सात सन्तान मध्यकी जेठी छोरी हुन् । सन् १९७२ मा महेन्द्र मोरङ क्याम्पसबाट बि.ए गरेकी उनले बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति विज्ञानमा एम.ए. र सन् १९७८ मा त्रिभुवन विश्वविद्यालयबाट विधि स्नातक उपाधि प्राप्त गरेकी हुन् ।

२६ वर्षको उमेरमा सन् १९७८ मा उनले त्रिविबाट कानुनमा स्नातक (बीएल) गरिन् । बीएल उत्तीर्ण गरेको एक वर्षपछि अर्थात् विसं. ०३५ साल चैत्र १६ गतेदेखि सुशीलाले अधिवक्ताका रूपमा आफ्नो करिअर सुरु गरिन् । ०४३ सालदेखि ०४६ सालसम्म उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापन समेत गरिन् ।

कानुन व्यवसायीका रूपमा कार्यरत रहँदा ०४५ सालदेखि ०४७ सालसम्म सुशीलाले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी निभाएकी थिइन् । त्यस्तै ०५९ सालदेखि ०६१ सालसम्म बिराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् ।

सुशीला ०६१ साल पुस ५ गते वरिष्ठ अधिवक्ता बनिन् र  त्यसको ४ वर्षपछि ०६५ साल माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । त्यसको दुई वर्षपछि ०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेकी उनी  २०७३ असार २७ गते बाट प्रधान न्यायधीशको पदमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू