अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

अबको एनआरएन अमेरिकाको नेतृत्वले ध्यान दिनु पर्ने कुराहरू

बिआरटीनेपाल २०७४ वैशाख ९ गते ९:२८ मा प्रकाशित

सुनिल मणी दाहाल भर्जिनिया, अमेरिका

एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासीहरू बिचको बहस कार्यक्रम
एनआरएन अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्यासीहरू बिच एक बहस कार्यक्रम शुक्रवारका दिन भर्जिनियामा आयोजना गरिएको थियो । युनाईटेड नेपलीज फेलोशिप नामक सामाजिक संस्थाको सहयोगमा भिजन फ़र नेपाल फ़ाउण्डेशन आयोजक रहेको त्यस बहस कार्यक्रममा डिसी मेट्रो क्षेत्रका नेपाली वासिन्दाहरू, अन्य राज्यबाट आएका सहभागीहरू र स्थानीय संचारकर्मी पत्रकारहरूले एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासीहरूलाई विभिन्न प्रश्न सोधेका थिए । उक्त बहस कार्यक्रममा प्रत्यासीहरूमा रबिना थापा ,केशव पौडेल तथा कृष्ण पोख्रेलले सहभागिता जनाएका थिए। बहस कार्यक्रमको सुरु देखि अन्त सम्म नै प्रमुख तिन वटा मुख्य विषयहरूमा छलफल गरिए, जस अन्तर्गत अमेरिकामा करियर वनाएकाको समूहको एनआरएनमा रुचि र सहभागिता नरहनु, युवा विद्यार्थी वर्गको समेत एनआरएनमा रुचि र सहभागिता नहुनु र नावालिग केटाकेटीहरूलाई अमेरिकी नेपाली भएर नेपालको परिचय कायम राख्ने कार्यक्रम तथा योजना नहुनु । यी तिन वटा प्रमुख विषयहरू लगायत अन्य समसामुहिक विषयमा प्रत्यासीहरूको राय र भावी योजनाका बारेमा विभिन्न महानुभावहरूले जानकारी मागेका थिए।

एनआरएनमा चासो नदेखाउने ठुलो समूहका लागी अध्यक्ष पदका प्रत्यासीहरूसँग योजना नै छैन
एकदम न्यून सङ्ख्यामा एनआरएनमा युवाहरूको सहभागितालाई लिएर सोधिएको प्रश्नमा एनआरएन अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका तीनै जना प्रत्यासीहरूले युवाहरूलाई एनआरएनको मुलधारमा ल्याउन आफू प्रयासरत रहने बाचा गरे तर ती युवाहरूको उत्थानका लागी आफ्नो योजना र कार्यक्रम भने प्रस्तुत गर्न सकेनन् । त्यस्तै अमेरिकामा आफ्नो करियर बनाउन सफल प्रोफेसनल ब्यक्तित्वहरुलाइ मूलधारमा आकर्षण गर्न र जिम्मेवारी दिने योजनाका बारेमा समेत कुनै ठोस कार्यक्रमको खाका प्रस्तुत हुन सकेनन् । अमेरिकामा जन्मे हुर्केका वा नेपालबाट सानो उमेरमा आएका नाबालिगहरुका बारेमा समेत कुनै कार्यक्रम र योजना प्रस्तुत गर्न नसक्नुले वर्तमान प्रत्यासीहरुको दुर्दर्शितामा प्रश्न खडा गरेको छ । त्यस्तै , अमेरिकामा तीन लाख भन्दा बढी नेपाली भएको अवस्थामा एनआरएन अमेरिकाले कस्का लागी काम गरी रहेको भन्ने प्रश्न समेत तेर्सियो ।

के भन्छन् अमेरिकाका नेपाली युवाहरू?
अमेरिकी नेपाली समाज भित्रका यी नेपाली युवाहरू नेपाली भाषी सङ सस्थाहरुबाटै अपेक्षित छन् ।अमेरिकामा स्थापित नेपाली संघ सस्थाहरुका बारेमा नेपाली समुदाय भित्रका युवाहरू के भन्छन्? केही प्रसङ कोट्याउ:

उमेरले उनी उन्नाइस वर्ष टेकेछन । गत साल मात्र अमेरिका पसेका यी युवालाई सोह्र बर्से उमेर मै डिभि चिठा परेको रहेछ । जस्तो पनि गीत गाउन सक्ने राम्रो गलाका धनी यी युवा कलेजको ट्युसन फी जोहो गर्नका लागी हाल दुई ठाउँमा काम गर्छन् र अर्को वर्ष देखि आफ्नो पढाई सुरु गर्ने बताउछन । आफ्नो पढाईसँगै गायन क्षेत्रलाई अगाडी बढाउने उनको चाहाना छ । अमेरिकामा नेपालीहरूको हक र हितका लागी स्थापित नेपाली सस्थाहरु कता छन् र के गर्छन् भन्ने यिनलाई केही थाहा छैन । नेपाली सस्थाबाट आफू जस्तालाई उपयोगी हुने कुनै सास्कृतिक कार्यक्रमहरू भए आफूलाई थाहा नभएको बताउछन ।

अर्की युवती भने अन्डर ग्राजुएसन पढन भनी आएकी छिन। उमेरले उन्नाइस वर्ष टेकेकी यी युवती म्यानेजमेन्टको विद्यार्थी हुन र अर्को वर्ष नर्सिङ्ग पढने सोचमा छिन । पार्ट टाइम कामका लागी भौतारिएको धेरै भयो तर पाउन सकेकी छैनन् । सहयोगका लागी कता जाने उनलाई केही थाहा छैन । यिनी विध्यार्थी अलावा डान्सर र ब्युटिसियन पनि हुन । यिनलाई पनि नेपाली संस्थाहरु भएको तर यी सस्थाहरुले आफू जस्ता युवाहरुका लागी के काम गर्छन् भन्ने कुरा केही थाहा नभएको बताउछीन्!

अर्की युवती छिन अमेरिका मै जन्मिएकी र हुर्किएकी । उनलाई नेपाली बोल्न आउदैन तर अरूले नेपाली बोलेको बुझ्छिन, अङ्ग्रेजीमा आफ्नो जवाफ फ़र्काउछिन । घरेलु वातावरणका कारण नेपाली खाना पनि मन पराउछिन, नेपाली गीत सुन्छिन र नाच गान समेत गर्छिन । अङ्ग्रेजी गीतको सौखिन यी युवती बेला बेला जाने सम्मको नेपाली गीत पनि गाउने गर्छिन । यिनको प्रतिभालाई आफ्नो स्कुल र घर परिवार बाहेक अन्य नेपाली सस्थाहरुले पहिचान गर्न सकेको छैन । यिन लाई नेपाली सस्थाहरुले गर्ने कार्यक्रम र उनीहरूको कार्यशैली पटक्कै मन पर्दैन ।

अमेरिका मै हुर्केका एक अर्का युवा भन्छन्, बाबु आमा मात्र नेपाली समाजको कार्यक्रममा जानु हुन्छ । नेपालीहरूले संस्थामा रहेर सामाजिक काम भन्दा नेपालको राजनीतिको कुरा गर्दछन् । आफुहरुको लागी उपयोगी हुने कार्यक्रम नहुने भएकोले नेपाली सस्थाहरुको कार्यक्रममा झर्को लाग्ने बताउछन ।

अर्की एक युवती डिभी परेर आएकी छन् । नेपाल छोडने बेलामा आमा बाबुले बिहे गरेर पठाएछन। एक वर्ष पश्चात् आफ्नो पढाईलाई निरन्तरता दिने बिचारमा रहेकी यी युवतीको सहयोगी हातहरू कोही रहेनछन अमेरिकामा । आपतका बेला आफूले कुनै पनि नेपाली समाजबाट सहयोग र मद्दत नपाएको कुरा केही समय अगाडी आफू बिरामी परि अस्पताल भर्ना हुदाको पिडा सम्झदै बताईन। त्यसताका आफ्नो रुम पार्ट्नर महिला साथीले सहयोग नगरेको भए आफू नबाच्ने व्यथा गहभरि आशु पार्दै ती युवतीले बताईन ।

अबको एनआरएन अमेरिकाको नेतृत्वले ध्यान दिनु पर्ने कुराहरू
समान उद्देश्य बोकेका माथि उल्लिखित युवाहरू एउटा उदाहरणका पात्र मात्र हुन् । अमेरिका भरि छरिएका यी युवाहरू आ-आफ्नो तरिकाले भविष्य निर्माणमा कस्सिएका छन् । युवा नेपालीहरू बिचको भरपर्दो नेटवर्किङको अभाव तथा स्थानीय नेपाली संघ संस्थाहरुको कमजोरीका कारण एउटै सहर वा काउन्टी भित्रै बसोबास गर्नेहरु बिच चिनजान समेत हुन नसकेको अवस्था छ । यी युवाहरू बिच चिनजान गराउने , आपसी सहयोगको भावना जगाउने, दुख र सुखमा एक आपसमा भाईचारा कायम राख्नका लागी पहल गर्ने सस्थाहरु कहीँ भेटिदैनन । नयाँ ठाउँ, नयाँ परिवेशमा सात समुन्द्र पारिको बिरानो ठाउँमा एक्लोपनका बिच समस्यै समस्या लाई झेल्दै छन् यी कर्णधार युवाहरू । अमेरिकामा नेपाली भाषीहरुको उत्थानका लागि भनी खोलिएका अनेकौ सस्थाहरु छन् तर यी युवाहरूको सहयोग र उत्थानका लागि अघि सर्ने सस्थाहरु कहीँ कतै देखिएका छैनन् ।

कुनै पनि समाजको सम्बृद्धीको मेरुदण्ड भनेको त्यो समाजको युवा शक्ति हो। त्यस्तो युवा शक्ति जो चेतनशील, लगनशील अनि गतिशील छ। आज अमेरिका स्थित नेपाली समाज पछाडि पर्नुमा हामी अबिभावकहरुको पनि ठुलो भूमिका छ। हामीले हाम्रा युवाहरूसँग कहिले पनि साझेदारी नै गरेनौ वा उनीहरूको उत्थानका लागी भनेर कहिले पनि कार्यक्रम नै गरेनौ । त्यसैले पनि युवाहरू नेपाली भाषीहरुको कार्यक्रममा साझेदारी गर्न उत्सुक देखिदैनन ।

यस्तै अवस्था झेल्दै जाने हो भने नेपाली समाजले भविष्यमा धेरै ठुलो मूल्य चुकाउने पर्ने छ । पहिलो त युवाहरू नेपाली समाजबाट क्रमशः बिस्थापित हुने छन्, दोस्रो भाषा, कला र सस्कृती बिर्सने छन् र तेस्रो- अत्याधिक चिन्ता का कारण डिप्रेसनको रोगी समेत हुन सक्नेछन ।

परिवर्तन आजैबाट गर्नु पर्छ अनि आफैबाट गर्नुपर्छ । यति भनिरहदा परिवर्तन गर्न खोज्ने इच्छुकहरुमा नयाँ उत्सुकता जाग्न सक्छ । नेपाली समाजलाई गतिशील बनाउनका लागी परिवर्तन गर्न सक्ने शक्ति पनि युवा नै हो । यसलाई सहजै रूपमा लिई भएका आशा र अपेक्षाहरु पूरा गर्न एनआरएन अमेरिकाको नेतृत्व तत्पर रहनुपर्छ ।

युवाहरूलाई नेपाली समाज रूपान्तरणका लागी नवीन चेतना र जिम्मेवारी दिनु पर्छ
युवाहरूलाई नेपाली समाज लगायत संघ संस्थाहरुले पनि नवीन चेतना र जिम्मेवारी दिनु पर्छ । अमेरिकामा नेपाली समाज ऐले सामाजिक, आर्थिक, राजनैतिक लगायत विविध विकृति र बिसँगतीको झमेलामा अल्झिएको अवस्था छ । समाज भित्रै ठग्ने र ठगिने, भाडने र भाडिने जस्ता कुराहरूले नेपाली समाज गलत बाटो तर्फ लागेको भनक पाउन सकिन्छ । यस्ता कृयाकलापहरुले सबै नेपाली समुदायलाई नोक्सानी पुर्याएको छ । अमेरिकामा नेपाली समाजलाई कुन अवस्थामा लैजाने हो त्यसको निर्णय गर्ने जिम्मेवारी अब युवाहरुमा छोडनु पर्दछ । अमेरिकामा युवाहरूको सक्रिय साझेदारी बिनाको नेपाली समाज वा संघ संस्थाहरुको भविष्य देखिदैन।

आजको युग भनेको २१ औँ सताब्दीको हो। जहाँ चेतनशील अनि सम्बृद्ध समाजको कल्पना गरिएको हुन्छ। त्यो समाज निर्माणको लागि युवाहरूसँग हातेमालो गर्दै अगाडी बढ्नुको विकल्प छैन। आजको दिनहरूमा हामीले लिने हरेक निर्णयहरू बिबेकशील हुनु आवश्यक छ। हामीहरूले विरोध गर्नुपर्ने कुराहरूलाई पनि भद्र तरिकाले आफ्नो विवेकको सही प्रयोग गरेर गर्नु पर्छ।

नाबालिग पुश्ताहरुको लागी प्रभावकारी कार्यक्रमको आवश्यकता
उमेरले अठार वर्ष मुनिका, नेपालमा जन्मेर बाबु आमासँग अमेरिका आएका वा अमेरिका मै जन्मेका नाबालिग बच्चाहरूलाई यस समूह भित्र राख्न सकिन्छ । यस समूह अन्तर्गत करिब तीस प्रतिशत नाबालिग नेपालीहरू रहेको अनुमान गर्न सकिन्छ । यस समूहलाई “आप्रवासी ” पुस्ता मान्न सकिन्छ र पछिल्ला यी पुस्ताले अबको ” आप्रवासी नेपाली” को परिचय दिने आशा राखिए पनि आफ्नो परिचय घट्ने होकी भन्ने त्यतिकै चिन्ता पनि छ । यो पुस्ताले बाल्यकालिन अवस्था देखी अमेरिकामा पढाई गर्ने भएकाले यस मुलुकको सस्कार , रहन सहन र नीति नियममा पूर्ण जानकारी राख्दछ र सोही अनुरूप अनुसरण गर्दछ । यो समूहकाहरु मध्ये अनुमानीत आधा जसो नाबालिगहरुले नेपाली बोल्न जान्दैनन भने एक चौथाइले नेपाली कला, भाषा र संस्कारमा खासै चासो देखाउदैन । तर, अबिभावक र स्थानीय समुदायको प्रयासले करिब एक चौथाई सङ्ख्याका नाबालिगहरु आफ्नै घरमा वा स्थानीय तहमा नेपालीहरू द्यारा सञ्चालित नेपाली स्कुलमा सिक्न र पढन जाने गरेको अनुमान गरिन्छ । यो समूहका आधा जसो नाबालिगहरु पछि गएर बयस्क अवस्थामा टेके पछि आफू आत्मनिर्भर हुन अविभावकको घर छाडी अन्य राज्यमा काम गर्दै थप शिक्षा लिने चाहना राख्दछन ।

नेपालीले अमेरिकामा नेपाली अमेरिकन भएर कसरि आफ्नो परिचय बचाई राख्ने बारे नेपाली समुदाय बिच आजकाल छलफल, चिन्तन तथा केही कार्यक्रमहरूको सुरुवात हुनु सकारात्मक प्रयास मानिएता पनि दिगो तथा प्रभावकारी भने हुन सकेको छैन । यसका लागी एनआरएन अमेरिकाले एक दीर्घकालीन कार्यक्रम ल्याई नेपाली समुदाय बाक्लो भएको स्कुलहरुमा नेपाली शिक्षाको पाठ्यक्रम लागू गर्न सकिए अत्यन्त लाभकारी हुने चिन्तित अबिभावकहरुको धारणा छ ।

समाज रूपान्तरणमा नेपाली समाजको भूमिका
प्रवासमा नेपाली समाजलाई परिवर्तन गरी सम्बृद्ध बनाउने अठोट छ भने क्षणिक फाइदाको लागि कसैको पक्ष पोसन कदापि गर्नु हुँदैन। सामाजिक सङ्घ-संस्थामा प्रवेश गरेपछि राजनीतिको खोलमा समाज भाडने गतिविधि जो कोहीबाट भए पनि अविलम्ब बन्द गर्नु पर्छ। कोही मान्छे सङ्घ-संस्थाको नेतृत्व गर्न आउँछ भने अन्ध समर्थन गर्नु पनि हुँदैन। नेतृत्व गर्ने मान्छे कमसेकम समाजले पचाउने अनुहार र उसको व्यक्तिगत छवि कलंकित नभएको हुनु पर्छ। उसले ल्याएको दृष्टिकोण र मुद्धाहरु समाजलाई परिवर्तन गराउन सक्ने साथ-साथै समाजलाई सही दिशानिर्देश गराउने खालको छ कि छैन हामीले अध्यन गर्नु जरुरी छ।

Twitter: @sunildahal

प्रतिक्रिया