अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

अमेरिकी बम प्रहारबाट ९० लडाकुको मृत्यु

बिआरटीनेपाल २०७४ वैशाख २ गते ६:३७ मा प्रकाशित

अमेरिकाले बिहीबार अफगानिस्तानमा खसालेको एउटा शक्तिशाली बमबाट मृत्यु हुने इस्लामिक स्टेट भनिने आइएस विद्रोहीको सङ्ख्या कम्तीमा ९० पुगेको अधिकारीहरूले बताएका छन्। 

नाङ्गारहार प्रान्तको पहाडी भूभागमा आइएसले प्रयोग गर्ने गुफाहरुको सञ्जाललाई निशाना बनाइ अमेरिकाले हालसम्मकै सबैभन्दा शक्तिशाली गैरपरमाणु बम प्रहार गरेको थियो। तर सो आक्रमणबाट आफ्नो तर्फ कुनै हताहती नभएको आइएस विद्रोहीले दाबी गर्दै आएको छ। अमेरिकी बम हमलाबाट नजिकका गाउँ प्रभावित भए वा नभएकोबारे अहिलेसम्म केही खुलाइएको छैन।

अमेरिकी र अफगान सेनाले बम विस्फोट भएको क्षेत्रमा जान पत्रकार र सर्वसाधारणलाई रोकिरहेका छन्। नाङ्गारहार प्रान्त अन्तर्गतको आचिन सहरका गभर्नर इस्माइल शिन्वारीले मृतकको सङ्ख्याबारे बीबीसीसँग पुष्टि गरेका हुन्। शिन्वारीले विस्फोटबाट सर्वसाधारणको मृत्यु नभएको बताए। 

अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले आफ्नो सरकारको समन्वयमा आक्रमण गरिएको र “आमनागरिकतर्फ हताहती हुन नदिनका निम्ति ठुलो सावधानी अपनाइएको” बताएका छन्।

यद्यपि विस्फोट भएको ठाउँ नजिकैका एक जना बासिन्दाले केही घरहरू ध्वस्त भएको बताए। अनका अनुसार विस्फोटका कारण राति आकाशमा पुरै उज्यालो देखिएको थियो। ‘बमहरुकी माता’ अर्थात् एमओबी भनिने सो बमलाई अमेरिकाले सामान ओसारपसार गर्ने एमसी-१३० विमानबाट बिहीबार खसालेको थियो। उक्त बमको परीक्षण सन् २००३ मा गरिएपनि हालसम्म त्यसको प्रयोग गरिएको थिएन। 

अफगान सरकारको समर्थनमा उक्त बम प्रहार गरिएपनि पूर्व राष्ट्रपति हामिद कारजाइले “अमानवीय एवम् नयाँ र खतरनाक अस्त्रको क्रुर परीक्षणका लागि हाम्रो भूमिलाई प्रयोग गरिएको” भन्दै निन्दा गरेका थिए। गभर्नर शिन्वारीले अफगानिस्तानको विशेष सुरक्षा फौजले अमेरिकी हवाई सेनाको सहयोगमा सो क्षेत्रमा दुई साता पहिल्यैदेखि आइएस विद्रोहीविरुद्ध कारबाही थालिसकेको पुष्टि गरेका थिए।

समाचारहरुमा जनाइए अनुसार पछिल्ला दिनहरूमा सङ्घर्ष चर्किएको छ। विद्रोहीसँगको भिडन्तमा गत शनिवार एक जना अमेरिकी सेना मारिएका थिए। बिबिसीबाट फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू