अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो अधिवेशन भव्यताको साथ सम्पन्न, प्रभु थापा अध्यक्षमा निर्वाचित

बिआरटीनेपाल २०७३ चैत २० गते १९:४३ मा प्रकाशित

विजय थापा, बाल्टिमोर ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत मार्च ३१ देखि अप्रिल २ सम्म सञ्चालन भएको प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ l यसको साथै नयाँ कार्यकारी समितिको निर्वाचनमा वर्तमान महासचिव प्रभु थापा अध्यक्ष पदमा निर्वाचित भएका छन् l 

अन्तिम अवस्था सम्म पनि सहमति नपुगे पछि निर्वाचन मार्फत नेतृत्वको जिम्मेवार प्रभु थापाले पाएका हुन् l अन्य सबै पदमा निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ ,उपाध्यक्षहरुमा बेनी यादव कंडेल (गोपाल ) ,श्याम राजा महत ,यमुना भट्टराई तथा ईश्वरी भट्ट निर्वाचित भएका छन् l 

यसै गरी महासचिवमा राधा कृष्ण देउजा तथा उप महा-सचिवमा कृष्ण प्रसाद लामिछाने निर्वाचित भएका छन् । यसै गरी कोषाध्यक्षमा हेमन्त भेटवाल निर्वाचित भएका छन् । यसै गरी सचिवहरुमा छवि पाण्डे, जानकी कार्की, प्रदिप तिमिल्सिना, उध बहादुर पन्त निर्वाचित भएका छन् l

कार्यक्रमको उद्घाटन पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, एमाले सङ्गठन विभाग प्रमुख तथा अधिवेशनका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिमा पूर्व मन्त्री युवराज कार्की, पूर्व मन्त्री खगराज अधिकारी, पूर्व एमाले सांसद जगदिश कुसियत, मेरिल्याण्ड तथा पेनसेलभ्यानिया वाणिज्य दुत प्रेम राजा महत, नेपाली महा वाणिज्य दूतावास न्यु योर्कका कृसु क्षेत्री, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष रबिना थापा, एएनएका अध्यक्ष मेदिनी अधिकारी, बुद्धिजीवी प्रा. गोपी उप्रेती (बिद्या वारिधि) लगायत दर्जनौ सङ्घ/संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो l 

अधिवेशनमा डिसी महानगर क्षेत्रका सङ्घ तथा संस्थाका प्रतिनिधिहरूको साथै अमेरिकाका विभिन्न राज्यहरुबाट आएका संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम बिच मै नेपालका चर्चित हास्य कलाकार सागर लम्साल (बले सोल्टी) हरि प्रसाद निरौला (कक्रोज) ले प्रहसन गरेका थिए l यसै गरी लोक गायक भगवान् भण्डारी लगायत अमेरिका मा बसोबास गर्दै आएका कलाकारहरू सपना श्री तथा सिर्जना लामाले राष्ट्रिय गीतहरू प्रस्तुत गरेका थिए । कलाकार तथा संस्थालाई सहयोग गर्नेहरुलाई प्रमाणपत्र प्रमुख अतिथि सुब्बाले प्रदान गरेका थिए ।

प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले करिब एक घण्टा सम्म लामो मन्तव्य राख्दै उनले २०२८ ,२०४६ र २०७२ सालको भारतले गरेको नाकाबन्दी गर्नुको कारण बारेमा जानकारी दिँदै उनले मोदी अवसरबादी र उग्रबादी विचार भएको आरोप लगाए l 

उनले भारतले नेपाललाई पटक पटक आत्मसमर्पण गराउन खोजेको भन्दै तर नेपाली जनताले डटेर सङ्घर्ष गर्दै हण्डर खादै लडेकोमा प्रशंसा गरे l भारतले नेपाललाई निल्न खोज्ने गर्न खोजेको स्पष्ट नीति रहेको प्रस्ट पार्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अडानको कारण मुलुकले घुडा टेक्नु नपरेको बताए l

उनले जताततै एमाले मय पनि नेपाल बन्दै गएकोले अब आउने स्थानीय निर्वाचन एमालेको बर्चस्व रहने बताए ।

यसै गरी पूर्व मन्त्री युवराज कार्कीले हामीलाई देशले प्राकृतिक हिमालबाट बग्ने निरन्तर रूपमा पानी दिएको छ । उनले थप गर्दै साउदी अरब को तेल को कुवा सकिन्छ तर नेपाल पृथ्वी उलट पलट भएन भने नेपालबाट हामी ८३ लाख मेगावाट विद्युत् उत्पादन हुन् सक्ने बताए । हामी त्यसै बसेका छैनौ हामी केही गरेर बसेको बताए ।

पूर्व मन्त्री खगराज अधिकारीले नेपालका नेताहरूलाई सबैलाई सगोलमा प्रदेशमा बसेर गाली गर्न नुहुने भन्दै बरु विशेष नाम नै तोकेर या किटान गर्दा उत्तम हुने बताए । उनले आफ्ना पालोमा गरेका कामको संक्षेपमा व्याख्या गर्दै सबै नेता खराब नहुने बताए l

यसै गरी पूर्व एमाले सांसद जगदिश कुसियतले २०६४ सालमा संविधान जारी नेकपा माओवादी र मधेसी दलको कारण नभएको बताए l उनले नेकपा एमालेका नेता केपी शर्मा नभएको भए भारतले अझ दुख दिने थियो भने । मधेसी दलले राखेको संविधान संशोधन के को लागि भनी मधेसी दललाई प्रश्न गरे ? मदेशी दलले भारतीय भाषालाई नेपालको राष्ट्रिय भाषा समेत बनाउने कुराको विरोध गरे । ९५ प्रतिशतले बनाएको संविधान लाई भारतको इसारामा विशेष स्वार्थ सहित संविधान परिवर्तन गर्न खोज्नु आफैमा एक षडयन्त्र भएको बताए । 

प्रा. डा. गोपी उप्रेतीले अमेरिका थुप्रै राजनैतिक दलसँग आबद्ध भएका सङ्घ/संस्था खुलेकोमा आक्रोस व्यक्त गर्दै नेपालमा भएको कुसंस्कार बोकेर यहाँ पनि त्यस्तै गर्ने गरेकोमा ध्यानाकर्षण गराए l दिक्क लाग्दो कुरा भनेको नेपालको राजनैतिक दलका विकृतिलाई अमेरिकामा पनि दोहोर्याउने संस्कार बोकेकोले यस्तो संस्कार हटोस् भनी शुभकामना दिए । उपस्थित विशेष अतिथि, अतिथि तथा सङ्घ/संस्थाका प्रतिनिधिहरूले अधिवेशनको लागि शुभकामना सहित मन्तव्य राखेका थिए ।

अधिवेशनको सभापतित्व सभापति सञ्जय थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन महा-सचिव प्रभु थापाले गरेका थिए । 

प्रतिक्रिया