अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार

बिआरटीनेपाल २०७३ चैत १८ गते ६:५८ मा प्रकाशित

दमकमा भएको साहित्यकारहरुको एक भेलाले प्रतिभा सम्मान कोष स्थापना गर्ने निर्णय गरेको छ । पुर्वाञ्चल क्षेत्रमा रहेर राष्ट्रिय रूपमा स्थापित स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले विदेशमा रहेका नेपाली स्रष्टाहरुको सहयोगमा कोष स्थापना गरिने भएको हो ।

कोषको सञ्चालनको लागि साहित्यकार युवराज रिजालको अध्यक्षतामा समिति निर्माण गरिएको छ । गठित समितिको उपाध्यक्षमा कल्पना पोखरेल, सचिव गिरिराज भट्टराई, सह–सचिव युवराज ढकाल र कोषाध्यक्षमा अशोक थापा रहनु भएको छ । त्यसै गरी सदस्यहरूमा चोमु पासाङ शेर्पा, कुसुम तामाङ र प्रज्वल बाँस्तोला रहनु भएको छ ।

कोषले हरेक वर्ष पूर्वाञ्चल क्षेत्रबाट राष्ट्रिय रूपमा स्थापित भएका दुईजना स्रष्टाहरूलाई सम्मान गर्ने कोषका सचिव गिरिराज भट्टराईले जानकारी दिनुभयो । विशिष्ट प्रतिभा सम्मान र युवा प्रतिभा सम्मान गरी दुईजना स्रष्टाहरूलाई सम्मान गरिने वहाँले बताउनु भयो । विशिष्ट प्रतिभा र युवा प्रतिभालाई नगद ५० हजार रुपैयाँ सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने पनि वहाँले जानकारी दिनुभयो ।

यस वर्ष काठमाण्डौमा बसेर साहित्य क्षेत्रमा सक्रिय दमकका युवराज नयाँघरेलाई विशिष्ट प्रतिभा सम्मान र दमकमै रहेर साहित्यमा क्रियाशील युवा कवि धनकुटे कान्छालाई युवा प्रतिभा सम्मान गर्न लागिएको कोषका अध्यक्ष रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू