अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

स्कुलका विद्यार्थीहरूलाई दिवा खाजा प्रभावकारी, १० वटा स्कुललाई भाँडावर्तन ज्ञवितरण

बिआरटीनेपाल २०७३ चैत १५ गते ९:४६ मा प्रकाशित

दिवा खाजाको वातावरण मिलाई रहेको नेत्रज्वोती कृषि सहकारी संस्थाले एक अन्तरक्रिया कार्यक्रम गरेर १० वटा विद्यालयलाई भाँडावर्तन वितरण गरेको छ ।

ठूलोसिरुवारी गाउँ विकास समितिका १० वटा सामुदायिक विद्यालयहरुलाई स्थानीय स्तरमा उत्पादन भएका सामग्रीहरू प्रयोग गरेर विद्यालय दिवा खाजा व्यवस्थापन गर्नको लागि आवश्यक भाँडावर्तन वितरण गरिएको हो । नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रत्येक विद्यालयमा स्थानीय स्तरमा उत्पादन भएको सामग्री कोदोको रोटी, गहुँको रोटी, मकै, भट्मास र जाउलो खुवाउनको निमित्त उक्त परिकार निर्माण गर्न आवश्यक पर्ने भाँडा सामग्री खाद्य स्टोरको लागि बाक्सा र विद्यार्थीको आधारमा प्लेट, चम्चा, किचेनका सामानहरू समेतका सामग्रीहरू वितरण गरिएको हो । 

जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे, जिल्ला शिक्षा कार्यालय आयोजना कार्यान्वयन इकाई प्रमुख तथा जिल्ला पोषण समितिका सम्पर्क व्यक्ति कृष्ण सुवेदी, विश्व खाद्य कार्यक्रमका रुद्र सुनुवार, समाजसेवी शान्ता थापा क्षेत्री, राष्ट्रिय अनलाइन पत्रकार सङ्घका केन्द्रीय महासचिव सागर श्रेष्ठ लगायतको विशेष उपस्थितिमा नेत्रज्योती कृषि सहकारी संस्थाले प्रत्येक विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्ष र खाजा सहयोगीहरुलाई सेतीदेवी माविको प्राङ्गणमा भाँडावर्तन वितरण गरेको हो ।

यसअघि गणेश आधारभूत विद्यालयमा विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रिया कार्यक्रम पश्चात् भाँडावर्तन वितरणको कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिशिअ घिमिरेले वैशाख ५ गतेभित्र सबै सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तकहरु ल्याइसक्न सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभएको छ । जिल्ला शिक्षा कार्यालयबाट प्रत्येक विद्यालयको खातामा पाठ्यपुस्तक बापतको ७५ प्रतिशत रकम निकासा भइसकेको हुँदा त्यो निकासाको रकम निकालेर अहिलेको परीक्षा सकिने बित्तिकै शिक्षा मापदण्ड अनुसार पाठ्यपुस्तक खरिद गर्न शिक्षकहरुलाई निर्देशन गर्नुभएको छ ।

नेत्रज्योती कृषि सहकारी संस्था, नेत्रज्योती मार्ग, डडुवाले आयोजना गरेको विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो । विश्व खाद्य कार्यक्रमको विशेष सहयोगमा साविक ठूलोसिरुवारीका १० वटा सामुदायिक विद्यालयमा शिशु कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई स्थानीय स्तरमै उत्पादन भएका खाद्यान्नहरु प्रयोग गरेर नेत्रज्योती कृषि सहकारी संस्थाले खाजा खुवाइरहेको कार्यक्रमका विषयमा गणेश आधारभूत विद्यालय जंगलछापमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै घिमिरेले जिल्ला शिक्षा अधिकारी लगायत सबै विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरूको दाता भनेको विद्यार्थी र अभिभावक हुन् । त्यसैले अभिभावकको मन जितेर उनीहरूको छोराछोरीलाई मनोरञ्जनात्मक तरिकाले शिक्षा दिनु पर्ने बताउनुभयो । 

उहाँले कर्मचारीहरूको दाता भनेकै नागरिक हुन् र मालिक नै नागरिक हुन् उनीहरूले तिरेको करबाट उठेको रकमले हामीहरूले तलब खाइरहेका छौँ । त्यसैले पनि जनता तथा अभिभावकहरु हाम्रा मालिक हुन् । उनीहरूको अनुकूलतामा विद्यालयले काम गर्नुपर्ने बताउनुभयो । विद्यालय दिवा खाजा सम्बन्धमा विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरुलाई कार्य व्यस्ता भार काम गर्नको लागि र स्थानीय बालबालिकाहरुलाई चाउचाउ बिस्कुट तथा कुपोषण सम्बन्धी खालका सामग्रीहरू प्रयोग गर्नुभन्दा गाउँमै उत्पादन भएका सामग्रीहरुबाट खाजा निर्माण गरेर खुवाउँदा पौष्टिक आहार प्राप्त हुने भएकोले यो कार्यक्रम परीक्षणको रूपमा लागू गरिएको बताउनुभयो । सहकारी संस्थाले प्रत्येक विद्यालयमा खाजा सहयोगी राखेर खाजा व्यवस्थापन गरिरहेको र प्रत्येक विद्यालयमा करेसाबारी निर्माण गरेर कृषि उत्पादनलाई बढाउनको निमित्त विशेष योगदान गरिरहेकोले उक्त योगदानलाई सबैले सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो ।

सहायक जिल्ला शिक्षा अधिकारी तथा जिल्ला शिक्षा कार्यालय पोषण समितिका सम्पर्क व्यक्ति कृष्ण सुवेदीले सहकारी संस्थाले सधैंभरी काम गर्नको लागि ठेक्का लिएको होइन, यहिँका बालबच्चाहरुलाई उनीहरूकै अभिभावकहरुबाट उत्पादन भएको खाद्यान्न सामग्रीहरू प्रयोग गरेर बनाइएको खाजाबाट बढी पौष्टिक आहार हुन सक्छ भनेर यो कार्यक्रम परीक्षणकालको रूपमा लागू गरिएको, र विशेष गरी विश्व खाद्य कार्यक्रमले नेत्रज्योती कृषि सहकारी संस्थालाई प्रत्येक विद्यालयमा १–१ जना खाजा सहयोगी राखेर खाजाको व्यवस्थापन गरेको हुँदा विद्यालयका शिक्षक तथा प्रअहरुलाई यस सम्बन्धमा कुनै पनि समस्या नपर्ने गरी काम गर्न सहजता मिलेको बताउनुभयो ।

उहाँले यो कार्यक्रम सफल हुँदा विद्यालयका शिक्षक तथा सहयोगीलाई मार नपर्ने गरी खाजाको लागि अर्को कर्मचारीको व्यवस्थापन समेत गर्दा राम्रो हुन्छ कि भन्ने विषयमा यो परीक्षण गरिएको पनि प्रस्ट पार्नुभयो । विश्व खाद्य कार्यक्रमका रुद्र सुनुवारले सहकारीको माध्यमबाट यो कार्यक्रम लागू गर्न सके सहजता र शैक्षिक स्तरमा उन्नति हुन्छ कि भनेर परीक्षणको रूपमा सहकारीलाई यो कार्यक्रमको व्यवस्थापन गर्न सहयोग गरेको बताउनुभयो ।

नेत्रज्योती कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले विगतमा भएका खाजा व्यवस्थामा परिवर्तन भएको, चाउचाउ, विस्कुट खुवाउने प्रक्रिया हटेर गाउँमै उत्पादन भएका कोदो, मकै तथा धानबाट निर्मित सामग्रीहरू प्रयोग गरी खाजा खुवाउने व्यवस्थामा तीव्रता आएको यसरी पौष्टिक खाजा खान पाउँदा विद्यार्थीहरू पनि आकर्षित भएको बताउनुभयो । कार्यक्रममा सेतीदेवी माध्यमिक विद्यालयका विव्यस अध्यक्ष देवी दुलाल, प्रअ हरिविक्रम नेपाल, डडुवा भवानीशंकर माविका बद्रीप्रसाद नेपाल, गणेश आधारभूत विद्यालयका शान्ति गिरी, कुण्डला माविका विव्यस अध्यक्ष दिवाकर फुयाँल, लेखापाल गोविन्द ढुङ्गेल, झमलादेवी आधारभूत विद्यालयका लालबहादुर श्रेष्ठ, बाघभैरव आधारभूत विद्यालयका हरि ढुङ्गेल लगायत विद्यालयका प्रअ तथा विव्यस अध्यक्षहरुले आ–आफ्नो तर्फबाट खाजाको प्रभावकारिता विषयमा धारणा राख्नुभएको थियो ।

नेत्रज्योती कृषि सहकारी संस्थाका अध्यक्ष शिव केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा १० वटा विद्यालयका प्रधानाध्यापक, पोषण सम्पर्क व्यक्ति तथा सहकारी संस्थाका खाजा सहयोगीहरुको उपस्थिति रहेको थियो । विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेत्रज्योती कृषि सहकारी संस्था लिई.का सचिव नेत्रबहादुर बस्नेतद्वारा प्रस्तुत प्रतिवेदन नेत्रज्योती कृषि सहकारी संस्था लिई.ले नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोक, विश्व खाद्य कार्यक्रमको सहयोगमा २०७३ भाद्र १ गतेदेखि विद्यालय दिवा खाजाको लागि प्रत्येक विद्यालयमा खाजा सहयोगीको व्यवस्था गरेर स्थानीय स्तरमा उत्पादन भएको खाद्यान्न प्रयोग गरी दिवा खाजा वितरण गरिरहेको छ ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रत्येक विद्यालयमा विद्यार्थी उपस्थिति विवरण अनुसार खाजा निर्माण गरेर खुवाउनुका साथै विद्यालयलाई कृषि क्षेत्रको प्राथमिकतामा राख्दै प्रत्येक विद्यालयमा करेसाबारी निर्माण गरी करेसाबारीको लागि आवश्यक पर्ने सामग्रीहरू समेत विद्यालयलाई उपलब्ध गराइसकिएको छ ।

सिन्धुपाल्चोक जिल्लामा प्रति महिना रु १०० र ३ माना चामल अभिभावकबाट सङ्कलन गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रधानाध्यापकबाट दिवा खाजा व्यवस्थापन गरिएको उदाहरणहरू देखिएको छ । तर हाम्रो सदरमुकाम नजिकै रहेको साँगाचोक स्रोतकेन्द्र अन्तर्गत साविक ठूलोसिरुवारी गाविसको १० वटा विद्यालयमा सरकारले प्रति विद्यार्थी रु १५ का दरले उपलब्ध गराइएको र उक्त रकमबाट बाह्य सामग्रीको प्रयोग गरी चाउचाउ बिस्कुट खुवाइरहेको प्रथालाई हटाएर स्थानीय स्तरमै उत्पादन भएको सामग्रीहरुको व्यवस्थापन गरी विश्व खाद्य कार्यक्रमको सहयोगमा खाजा सहयोगी राखेर व्यवस्थापन गर्दा समेत केही विद्यालयहरुले यसलाई असहयोग गरेको देखिन आएको छ ।

यसरी उपलब्ध भएको रकमलाई पनि सदुपयोग गर्न नसक्नुमा हामी आफै गाउँवासीहरुको कमजोरी रहने हामी सबैले महसुस गरेका छौँ । त्यसैले पनि नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडले यसको सदुपयोगताको लागि विभिन्न कदमहरू चाल्दै आएको छ । यस खाजा कार्यक्रमको निरन्तरता र व्यवस्थापनको लागि सहकारीले आफ्नो बुताले भ्याएसम्म आवश्यक व्यवस्थापनमा लागिरहन्छ । अरू जिल्लाहरू भन्दा सिन्धुपाल्चोकमा रहेका ५४२ विद्यालय मध्ये ११२ विद्यालयमा मात्र यो व्यवस्था लागू गरिएको छ ।
जम्मा राष्ट्रभरीकै २९ जिल्लाका केही विद्यालयमा लागू भएको यो कार्यक्रम १० वटा जिल्लामा खाद्यान्न सामग्री, पीठो, चामल उपलब्ध गराइएको छ भने २९ जिल्लाको केही विद्यालयमा नगद प्रवाह गरिएको छ । त्यही नगद प्रवाह गरिएको जिल्ला मध्ये सिन्धुपाल्चोक पनि एक हो । सिन्धुपाल्चोक जिल्लामा साविक ७९ गाविस मध्ये जम्मा १५ वटा गाविस छानिनुमा ठूलोसिरुवारी पनि भाग्यमानी मान्नुपर्छ । किनभने जिल्लामा रहेका ७९ गाविसहरु र ५४२ विद्यालयहरू मध्ये ठूलोसिरुवारीको १० वटा विद्यालय पक्कै पनि दुर्गम र पिछडामा थिएन ।

सदरमुकामको नजिकै रहेको र जिल्लाको हिमाली क्षेत्र र सिमान्तकृत क्षेत्र भन्दा हामी दुर्गम होइनौं । एउटा विद्यालयबाट अर्को विद्यालयमा जान झन्डै ६ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको यसै सिन्धुपाल्चोकमा हेर्ने हो भन े हामी ६ घण्टामा त गाविसभरीको पुरै विद्यालयमा घुम्न सक्ने अवस्थामा छौँ । यही जिल्लामा बिहान बेलुका पेटभरी खान नपाउने अवस्थाका बालबालिकाहरु पनि हुन सक्छन् । त्यस्ता दुर्गम र पिछडा बालबालिकालाई समेत बेवास्ता गर्दै ठूलोसिरुवारीमा आएको खाजा कार्यक्रमलाई आफ्नो अनुकूलमा अनियमितता गरेर व्यक्तिगत फाइदा उठाउन खोज्नु महा अपराध हुन जान्छ । त्यसैले पनि सहकारी संस्थाले खाजा व्यवस्थापनमा बढी चासो लिएको हो । यस्तो अवस्थामा रहेको यहाँको १० वटा विद्यालयका बालबालिकालाई जिल्ला शिक्षा कार्यालयले व्यवस्थापन गरेको दिवा खाजामा हेलचक्राइँ गर्न कुनै पनि हालतमा सहकारीले नदिने अठोटका साथ यो कार्यक्रममा समावेश भएको हो ।

कार्यक्रमको सुरुवातमा सहकारी संस्थाका केही कमी कमजोरीहरू हुन सक्छ । जानेर होस, नजानेर होस् भएका उक्त कमी कमजोरीहरुलाई सुधार गर्दै स्थानीय खाजा व्यवस्थापनमा विद्यालय शिक्षकहरू र व्यवस्थापन समितिको संलग्नतालाई टाढा राखेर उनीहरूलाई विद्यालयको शिक्षा स्तारोन्नतीको लागि मात्र तल्लीन रहने कार्यलाई अझ सहजता पु¥याउनको निमित्त सहकारीले यो खाजा व्यवस्थापन गरेको हो ।

माथि उल्लिखित रहेका विषयहरुलाई ध्यानदृष्टिले बिचार गर्ने हो भने हामी हाम्रा बालबालिकालाई पौष्टिक आहार खुवाउँदै विद्यालयमा पठाउनबाट किन वञ्चित गराउँदैछौं भन्ने विषयमा अनविज्ञ नै रहेको मान्नुपर्छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सरकारले यसरी सुविधा दिँदादिँदै पनि निजी विद्यालयमा घरबाट खाजा बोकेर फि तिरेर बालबालिका पढाइरहेका हामीले देखेका छौँ ।

सामुदायिक विद्यालय र निजी विद्यालयहरू बिच हुने प्रतिस्पर्धामा सामुदायिक विद्यालयलाई अगाडि ल्याउनको निमित्त विभिन्न खालको योजनाहरू अगाडि ल्याइएको छ । यो योजना अन्तर्गत अब सहकारीले आगामी शैक्षिक सत्रमा भर्ना अभियान तीव्र रूपले सञ्चालन गर्ने योजना राखेको छ । शिक्षा कार्यालयको मापदण्ड र नीतिभित्र रहेर सहकारीको प्रत्येक शेयर सदस्य र सबै नागरिकको बालबालिकालाई नजिकको सामुदायिक विद्यालयमा अध्ययन गराउनको निमित्त सहकारीले विशेष कार्ययोजना अगाडि ल्याउन लागेको छ । यो कार्ययोजनालाई सहयोग पु¥याउन सबैसित हार्दिक अपिल समेत गरेको छ । आगामी दिनमा दिवा खाजालाई अझ व्यवस्थित मर्यादित रूपले नमुनाको रूपमा अगाडि लैजान यहाँहरूको सल्लाह र सुझावको अपेक्षा समेत राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू