अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

एन आर एन अमेरिकाको सदस्यता वितरण समाप्त

बिआरटीनेपाल २०७३ चैत ७ गते १०:१० मा प्रकाशित

अमेरिका, मार्च १९, एन आर एन अमेरिकाको आगामी मे मा हुने चुनावलाई मध्यनजर गरी गरिएको सदस्यता वितरण कार्य हिजो राती १२ बजे वाट बन्द गरिएको छ । गत फेब्रुवरी १५ पछाडिबाट सदस्यता वितरण तीव्र पारिएको थियो । केही दिन यता विशेषत नयाँ सदस्यता वितरण र नविकरणको लागी एन आर एन अमेरिकाले नेपालीहरू माझ आव्हान गर्दै आइरहेको थियो ।

सदस्यता सङ्ख्या सन २०१५ मा एन आर एन अमेरिकाको सदस्य सङ्ख्या करिब १०,६०० रहेको थियो । यसपटक यो सङ्ख्या भारी थपिएको छ । हाल सदस्य सङ्ख्या १६,८८१ पुगेको छ । यो पछिल्लो सदस्य सङ्ख्या भन्दा लगभग ६,००० ले बढी हो । तर यो सङ्ख्या उल्लेख्य चाहिँ हैन ।

गत जनवरी १५ मा सम्पन्न एन आर एन अमेरिकाको साधारण सभामा प्रस्तुत अमेरिकामा रहेका नेपालीहरूको तथ्याङक अनुसार हाल अमेरिकामा करिब दुई लाख ३० हजारको हाराहारीमा नेपालीहरू रहेको अनुमान छ । जसमा ३० प्रतिशत नेपालीहरू १८ वर्ष भन्दा मुनि रहेका छन् । त्यस्तै हरेक वर्ष स्थायी र अस्थायी भिसामा नेपालबाट अमेरिका छिर्नेहरुको सङ्ख्या तकरीवन १५ हजारको हाराहारीमा रहेको छ । एन आर एन हुन अमेरिकामा दुई वर्षको अवधि बसेको हुन पर्छ । अठार वर्षका मुनिका नेपालीहरू र दुई वर्ष अमेरिकामा कटाएका नेपालीहरू अमेरिकामा एक लाख भन्दा माथि रहेको तथ्याङले देखाउछ । जुन सङ्ख्या एन आर एन हुन योग्य नेपालीहरूको सङ्ख्या हो । विज्ञहरुका अनुसार एक लाख तीस हजार भन्दा माथिका नेपालहरु अमेरिकामा एन आर एन हुन योग्य छन् ।

टेक्सस सबैभन्दा एन आर एन नेपाली सदस्य भएको राज्य
अघिल्लो चुनावमा लगभग दुई तिन हजारको हाराहारीमा रहेको टेक्सस राज्यको सदस्यता सङ्ख्या यसपटक उल्लेख रूपमा वृद्धि भएको छ । हालको सदस्यता सङ्ख्या हेर्दा टेक्सस सबैभन्दा बढी एन आर एन नेपालीहरू भएको राज्य हुन पुग्ने निश्चित छ । हाल छानविन नगरिएका सदस्यता सङ्ख्या ५,१२८ टेक्सासमा छ । टेक्सस पछि न्यूर्योक ३,१५८ र क्यालिफोर्निया २,१८८ जना छन् । तर यो सङ्ख्यामा छानिविन समितिको निर्णयमा तलमाथि हुन सक्छ ।

छानविन समिति गर्भमै विवाद
यसैबिच हिजो राति बसेको एन आर एन केन्द्रीय समितिको बैठकले एन आर एन सदस्यता छानविन समिति गठन गरेको छ । जसमध्ये हरेक एन आर एन च्याप्टरहरुमा तिन तिन जनाका दरले ५५ जना र मुख्य छानविन समितिमा ७ जना रहने व्यवस्था गरेको छ । सात जनाको समितिमा न्यूर्योकवाट प्रमोद सिटौला, नवराज खडका, टेक्सासवाट विनोद तिवारी, सी.पी. पौडेल र पासाङ लामा क्यालिफोर्नियावाट हरिहर दाहाल रहेका छन् । छानविन समिति वर्तमान महासचिव तिलक श्रेष्ठको संयोजकत्वमा बनेका हो । छानविन समितिका अधिकांश व्यक्तिहरू वर्तमान अध्यक्ष डा. केशव पौडेल इतर पक्षका हुन । यसैले सामाजिक सञ्जालमा छानविन समितिको सदस्यहरुका बारेमा व्यापक विरोध सुरु भएको छ ।

डा. केशव पौडेलद्धारा धन्यवाद व्यक्त
यसै बिच वर्तमान एन आर एन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले सदस्यता वितरण कार्य सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरेका छन् । उनले बढेको एन आर एन सदस्यतावाट आफू निकै उत्साहित भएको बताएका छन् । उनले यस कार्य सम्पन्न गर्न अहोरात्र खटिने एन आर एन कार्यसमितिका साथीहरू लगायत सम्पूर्ण एन आर एन अगुवाहरु, पत्रकार र सर्वसधारण सबैलाई धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा एन आर एन अमेरिकाले थप उचाइ थप्नेमा उनले विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया