अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 20:47

 म शहीद भएको छु

मणि भट्टराई २०७३ फागुन २५ गते ४:३६ मा प्रकाशित

आमा!
युग प्रतियुग
कति आए आए
तिमीलाई मुक्ति दिन्छु भन्नेहरू
तिमीलाई आजादी दिन्छु भन्नेहरू
तर अहिलेसम्म तिम्रो काखमा
आफ्नै सन्तानका बर्बादीका लासहरू बाहेक त
केही छैन
सुदुर हेर्नको लागि तिम्रो आँखामा भविष्य छैन
प्रशस्त रुनलाई आँसु छैन
अब त मेरा कविता जस्ता आँसुहरू पनि नबुझ्ने भएछौ
अब त मेरा आँसु जस्ता गीतहरू पनि नसुन्ने भएछौ
परिवर्तन – सुनिसक्दा झर्कने
आमा ! तिमी त म भन्दा बढी विक्षिप्त रहेछौ !

यी हेर त आमा !
आज फेरि आफ्नै शिर बोकेर हातमा
म तिम्रो सामु रून्चेहात फर्किएको छु
आमा! यता हेर न आमा !
मुक्तिको निम्ति निस्केको म
वेवारिसे लास भएको छु
 
आमा !
केही क्षणमै अब
कसैले आएर मेरो लासमाथि
ओढाएर उभिनेछ स्वार्थको झन्डा
गाउने छ वलिदानीको गीत
सम्भावना शून्य -भाग्य फुटेको मेरो निधारमा
देखेर सत्ताको सपना फुल्न आटेको
चुमेर मुस्कुराउने छ कुटिल ओठहरू
देख्यौ त आमा !
तिम्रो निम्ति पो झरेको फुल हुँ म
कसैको निम्ति फुलिरहेको !
तिम्रो निम्ति पो खसेको तारा हुँ म
कसैको निम्ति चम्किरहेको !
आमा !
जिउँदो हुँदा त म हेपिएको थिएँ नै
मरेपछि पनि म यसरी अपमानित भएको छु
खासमा, म मरेको मात्र छैन आमा
आज सख्त घाइते पनि भएको छु
थाहा छ आमा !
म फेरि एक पटक
यो देशको निहत्था सहिद भएको छु ! 
 
बाँचिन्जेल त मैले यो कहिल्यै बुझिन
र त सहजै तयार भएँ मर्न
तर मरेपछि भने बुझ्दै आएको छु
हो आमा !
बाँच्दा नदेखेको कुरा मरेपछि देख्दै आएको छु
मेरो लासको सिँढी भएर
कति बादशाहहरू सिंहदरबारको उच्च आसनमा पुगे !
हो, मरेपछि यो देखेको छु मैले
आज फेरि म
कसैको निम्ति सिंहदरबारको सिँढी भएको छु
म खटिरा निस्केर मरेको होइन आमा
निमोनिया भएर मरेको होइन
सडक दुर्घटनामा पनि परेको होइन
आमा म त शहीद भएको छु
शहीद
  
आमा !
त्यो मुर्दा आन्दोलन
फेरि पनि आउनसक्छ
त्यसले मलाई जस्तै मुक्तिको सपना देखाएर
फकाएर लैजान सक्छ तिम्रा मझेरीका ताराहरू
भाँचेर लैजान सक्छ तिम्रा आँगनका गुलाफहरू
रछ्यानमा बम रोपेर जानसक्छ त्यो
एकदमै चनाखो रहन सक्नुपर्छ आमा !
गट्टी भनेर बटुल्दा
नानीहरूले गोली बटुल्न सक्छन्
घिरौंला भनेर टिप्दा
केटाकेटीहरूले ग्रिनेट टिप्न सक्छन्
मकैका घोगाहरूमा कालिपोके भएर बारुद फल्न सक्छ
धानका प्रत्येक दानाहरू लाजा भएर पड्कन सक्छन्
खेतको सिरान भएर बग्न सक्छ रगतको पैनी
जुनसुकै दिशा भएर हावा दुर्गन्ध बोकेर बहन सक्छ
दूध खान नपाएर अर्थात् भोकाएर होइन
बरु बन्दुकको आवाजले तर्सिएर कराएको हुनसक्छ
गोठको बाछा
 
हो आमा ! परिवर्तनको नाममा
फेरि पनि त्यो मुर्दा आन्दोलन आयो भने,
तिम्रा अनगिन्ती सन्तानहरू
आज म जस्तै आ-आफ्नो लास बोकेर घर फर्कनेछन्
तिमी भित्र फेरि अर्को औंसी जन्मनेछ आजको झैँ
तर त्यही मौकामा –
कसैले दीपावली गरिरहेको हुनेछ सिंहदरबारमा
र आफैलाई कुल्चिएर गइरहेका बादशाहहरू देखेर
यो रमितामा रोइरहेका हुनेछन् फेरि
यो देशका मजस्तै विभत्स लासहरू
कसैले आएर ओढाउने छ
स्वार्थै स्वार्थको झन्डा जस्तो कात्रो
शहीद भनेर अपमान गर्नेछन् फेरि
कयौँ मजस्ता निहत्था मृत्युहरूलाई
हो आमा!
आज जसरी सहिद भएर
दशलाखको पोको बोकेर
तिम्रा आँसुहरू पुछ्न म तिमी सामु उभिएको छु
त्यो मुर्दा आन्दोलन फेरि आयो भने
त्यसरी नै उभिनेछ मेरो भाइ
हो, आफ्नै निहत्था मृत्युप्रति
मलाई सख्त अफसोस छ आमा,
तिमी मात्र किन एकोहोरो रोइरहन्छौ ?
किन पखाल्दिनौ मेरो छातीको रगत ?
किन बन्द गर्दिनौ मेरा बर्बराई रहेका ओठहरू ?
किन पुछ्दिनौ मेरा पश्चतापका आँसुहरू ?
आमा! आजको दिन,
म मरेको मात्र छैन – अपमानित पनि भएको छु
हो आमा !
मैले थाहै नपाई
म शहीद भएको छु ।