अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

दशगजा मिचेर संरचना निर्माण सुरु

बिआरटीनेपाल २०७३ फागुन २३ गते २१:१२ मा प्रकाशित

पथरी (मोरङ), २४ फागुन । विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियम विपरीत संरचना निर्माण गरिरहेको छ । भारतीय पक्षले विराटनगरको वडा नम्बर २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ । रानी भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडिको उक्त ठाउँमा भारतको जोगबनी भन्सार कार्यालयले संरचना निर्माण गर्न थालेको हो ।

यसअघि विराटनगर भन्सार कार्यालयको पर्खालको झन्डै २२ फिट पश्चिमतर्फ रहेको अस्थायी संरचना भत्काएर जोगबनी भन्सारले त्यति नै पूर्वतर्फ सारेर संरचना निर्माण गरिरहेको छ । सो ठाउँमा हाल २२ बाई २० फिटको पक्की संरचना निर्माण भइरहेको छ ।

यसअघि विसं २०४४ सालमा समेत जोगबनी भन्सारले सो ठाउँमा पक्की संरचना निर्माण गर्ने प्रयास गरेपछि आफूहरुले रोक लगाएको वडा नम्बर २२ का तत्कालीन अध्यक्षसमेत रहिसक्नुभएका मुस्लिम मियाँले जानकारी दिनुभयो ।

जोगबनी भन्सारले उक्त ठाउँमा तीन दिनअघिदेखि नै संरचना निर्माणको काम सुरु गरेपनि सरोकारवाला निकाय बेखबर झैँ थिए । सो विषयमा प्रतिक्रिया दिँदै विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले आफूले समेत सोमबार मात्र संरचना निर्माण भइरहेको थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो–“भन्सार प्रशासनसहित सरोकारवालासँग छलफलको पहल गर्छु ।”

जोगबनी भन्सारले सो ठाउँमा संरचना निर्माण गरेर सामान चेकजाँच गर्ने एक्सरे मेसिन राख्न लागेको बताइएको छ । भन्सार क्षेत्रमा सुरक्षाका अत्याधुनिक उपकरण राख्ने विषय दुवै पक्षका लागि सकारात्मक भए पनि दशगजा क्षेत्र मिचेर भइरहेको निर्माण कार्य अविलम्ब रोकिनुपर्ने स्थानीयको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू