अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 09:25

बोस्टनमा अन्तर्राष्ट्रिय महिला दिवस यसरी मनाइयो ,’एनडव्लुजीएन न्युइङ्ल्यान्ड’मा नयाँ नेतृत्व

बिआरटीनेपाल २०७३ फागुन २३ गते २०:५१ मा प्रकाशित

सुरेश वाग्ले, बोस्टन

नेपाली महिलाहरूको विश्वव्यापी सञ्जाल, न्युइङ्ल्यान्ड (‘एनडव्लुजीएन’- न्युइङ्ल्यान्ड च्याप्टर)ले बोस्टनमा ‘परिवर्तनका लागि साहसी बनौँ’ भन्ने नारा लिएर अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न गरेको छ । पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. बिध्या रञ्जित, इन्कु सुबेदी, एलिना प्रधान र पूर्णिमा सेघलको महिला दिवसको सन्दर्भमा विशेष प्रस्तुति रहेको थियो । 

प्रमुख अतिथि पोखरेलले आफू निर्वाचन आयुक्त हुँदा सांसदमा महिलाहरूलाई ३३% आरक्षणको लागि गरेको प्रयास सफल भएको प्रसङ्ग सुनाउनु भएको थियो । वक्ता एलिना प्रधानले महिला सशक्तिकरणका लागि शिक्षाको साथ साथै सम्पतीमा पनि समान अधिकार दिइनु पर्ने कुरा राख्नु भएको थियो ।

‘एनडव्लुजीएन’का अध्यक्ष रुक्मिनी कार्कीले संस्थाले गरेका उपलब्धिहरूको चर्चा गर्दै नारी दिवसको नारा जस्तै महिलाहरू अझ सशक्त हुनुपर्ने कुरा बताउनु भएको थियो । निर्मला शेरचनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सङ्गेर्वा कुलुङ, सुदिना श्रेष्ठ, चन्दना, दिवयानी र सिमरनको नृत्य, सोनी खत्री, शान्ति जोशी, रुक्मिनी कार्की, जमुना श्रेष्ठ, पुष्पा गुरुङ्, अन्जना उपाध्याय र रीता राणाको गायन, ममता कर्माचार्यको कविता तथा हिमालयन हेरिटेज कल्चरल एकेडेमी बोस्टनका विद्यार्थी सोयम पोखरेल र अनुभव थपलियाको सङ्गितिक प्रस्तुति रहेको थियो । 

कार्यक्रम सञ्चालन अन्जना उपाध्याय तथा रुक्मणी बस्नेतले गर्नु भएको थियो l यसै गरी धन्यवाद ज्ञापन शान्ति जोशीले गर्नु भएको थियो । कार्यक्रममा ‘एनडव्लुजीएन न्युइङ्ल्यान्ड’को नयाँ कार्यसमिति घोषणा गरिएको थियो । नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षमा निर्मला शेरचन तथा उपाध्यक्षहरुमा शान्ति जोशी तथा कल्पना श्रेष्ठ निर्वाचित हुनु भएको छ l यसै गरी महासचिवमा रीता राणा तथा सचिवमा रोशनी खनाल निर्वाचित हुनु भएको छ l  

यसै गरी कोषाध्यक्षमा रुक्मणी बस्नेत तथा जमुना श्रेष्ठ र बोर्ड अफ डाइरेक्टरहरुमा क्रमशः रोशना घिमिरे न्यौपाने ,सानुमैया श्रेष्ठ ,मिना पुडासैनी ,इश्वरी नेपाल अधिकारी ,अन्जना उपाध्याय ,निर्मला अर्याल तथा मन्जु कुँवर निर्वाचित हुनु भएको छ l यसै गरी नयाँ समितिको सल्लाहकारमा रुक्मिनी कार्कीलाई नियुक्त गरिएको छ l 

तस्बिर :सुरेश वाग्ले, बोस्टन

प्रतिक्रिया