अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 02:18

तिम्रो मन मधुशालाको नामी सरावी म-सुषमा देवकोटा

बिआरटीनेपाल २०७३ फागुन १७ गते ५:४० मा प्रकाशित

तिम्रो मनको मधुशाला धाउन थालेपछि
म नामी सरावी भएँ
कति त बदनामै पनि भएँ
आहा! बदनामी हुनुको मज्जा
अव डराउनै नपर्ने भयो म, तिमी सम्म पुग्न

 

यस्तो आदत बन्यौ तिमी
हरेक पल तिम्रा नजरका प्याला उठाएर
निशंकोच खुलिदीन मन लाग्छ
जसरी आकास सामु धर्ति उदाङ्ग छे
जसरी घामकै लयमा सूर्यमुखी फुलिरहेछ
जसरी बादलको स्खलनले हिलाम्य बनेका छन्
हिजो धुलो उड्ने बाटोहरु

 

तिम्रा होश् बेहोस् स्पर्समा हराएर
तिम्रा लापरवाह बानिमा मिसिएर
म भय रहित प्राणी बन्न पाउँछु भने
किन मानुँ म यो समाजका निर्धारित नियम ?
किन बनाउँ, मेरै असुबिधाका लागि
नमुना घर ?
जवकि तिमीले खुल्ला मनले मेरो नाममा गरिदिएका छौ
सुखको संसार सिङ्गै

 

आउ बदनाम भईदिउँ, बवार्त नै भईदिउँ
यति बदमास भै दिउँकी
रोक्न खोज्नेका लागि बाटो नै नहोस्
हाम्रो छेउ सम्म पुग्ने
यति बहिरो भै दिउँकी
हाम्रा खवर हामीलाई नै थाहा नहोस्
अन्धो बनौं लाटो बनौं, पागल बनि हिडौं संगै
आउ निर्धक्क मेरो नजिक र सुनाउ
हाम्रा ति पूर्खाका कथा
जो आजको सम्य समाजको बन्दी गृहमा
जंगली ठहरियका छन्
जो स्वतन्त्र, स्वाभलम्बी र अस्तीत्वपूर्ण मान्छे थिए
जो अपेक्षा रहित स्निग्ध प्रेमले नुहाएर
आफ्नोपनको घाम ताप्थे

प्रतिक्रिया