अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

अमेरिकाको उच्च माध्यमिक तहमा नेपाली विषय सुचिकृत

बिआरटीनेपाल २०७३ फागुन १६ गते १९:११ मा प्रकाशित

उच्च शिक्षाका लागि अमेरिकामा रहेका नेपाली तथा अन्य देशका बिद्यार्थीले अव नेपाली भाषा बिषय पढ्न पाउने भएका छन् । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई शैक्षिक संस्थामा अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै अमेरिकामा रहेका बिद्यार्थीले नेपाली बिषय अध्ययन गर्न पाउने भएका हुन् ।

उच्च माध्यमिक तहमा अध्ययन गर्ने अमेरिकाका विद्यार्थीलाई शैक्षिक संस्थामा अनिवार्य अङ्ग्रेजी विषयपछि दोस्रो कुनै एक विषय छनोटको प्रावधान छ । जसअनुसार अव नेपाली भाषा अध्ययन गर्न चाहने बिद्यार्थीले आफ्नो छनौटको बिषय नेपाली बनाउन पाउने छन् ।
यस अघि विश्वका धेरै भाषा अमेरिककाका शैक्षिक संस्थामा सूचीकृत भए पनि हालसम्म नेपाली भाषा सूचीकृत भएको थिएन ।

वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङको पहलमा वासिङ्टन राज्य सरकारले नेपाली भाषालाई आफ्ना शैक्षिक संस्थामा सुचिकृत गरेपछि नेपाली भाषीहरुमा उत्साह थपिएको छ भने नेपालको संस्कृती र नेपाली भाषामा रुचि अन्य देशका बिद्यार्थीले पनि अमेरिकामा रहेर नेपाली भाषा अध्ययन गर्ने ढोका खुलेको छ ।

हाल १० हजारभन्दा बढी नेपाली भाषी रहेको ुवासिङ्टन राज्यमा छ हजार भुटानी शरणार्थी र करिब पाँच हजार नेपाली छन् । नेपाली भाषा अध्ययनको लागि ति बिद्याथीलार्ई पहिलो प्राथमिकतामा हेरिएपनि अन्य देशका गैर नेपाली भाषीहरुमा पनि नेपाली भाषाको चासो रहेकाले त्यहाँको शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई सूचीकृत गरिएको आयुक्त गुरुङले बताएका छन् ।

सन् १९९३ मा अमेरिका पुगेका गुरुङले आफ्नो भाषालाई प्रबद्धन गर्ने उद्धेश्यले गरेको यो पहललाई देश बिदेशमा रहेका नेपालीहरुले प्रशंशा गरेका छन् । २०१२ सालमा स्याङ्जामा जन्मिएका गुरुङ काठमाडौँमा अध्ययन तथा वीर अस्पतालमा १३ वर्ष जागिरपछि उज्ज्वल भविष्यको खोजीमा अमेरिका गएका थिए । अमेरिकामा पुगेर पनि विभिन्न सङ्घसंस्था मार्फत नेपाली भाषा संस्कृतिको जगेर्ना तथा समाज सेवामा समर्पित गुरुङ वासिङ्टन राज्यका शैक्षिक संस्थामा नेपाली भाषा अध्ययनका लागि विद्यार्थीलाई सङ्गठित गर्ने योजनामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू