अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

शिवरात्रीका लागि आएका सन्त बाबाहरुलाई श्रेणीमा वर्गीकरण गरि दक्षिणा दिईने

बिआरटीनेपाल २०७३ फागुन ११ गते ४:०७ मा प्रकाशित

केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको जनाइएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।

यही फागुन १३ गते महाशिवरात्री पर्व मनाइँदैछ । महाशिवरात्री पर्वका लागि समितिका संस्थापक अध्यक्ष बालहरि चालिसेको संयोजकत्वमा पूजा ब्यवस्थापन उपसमिति, मोहन बल्लको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, लवराज थापाको संयोजकत्वमा स्वंयमसेवक उपसमिति, हरिशरण बस्नेतको संयोजकत्वमा दाउरा र धुनी ब्यवस्थापन उपसमिति, धर्मराज बस्नेतको संयोजकत्वमा भोजन तथा आवास ब्यवस्थापन उपसमिति, विश्वराम थापाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, सूर्यबहादुर खाइतुको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, किरण थापाको संयोजकत्वमा समन्वय उपसमिति, कृष्णहरि उपाध्यायको संयोजकत्वमा भजनकीर्तन ब्यवस्थापन उपसमिति र गोपाल भट्टराईको संयोजकत्वमा खानेपानी तथा विद्युत ब्यवस्थापन उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमाफर्त जानकारी गराइयो ।

महाशिवरात्री पर्व सम्पन्न गर्न करिब २० लाख खर्च हुने अनुमान गरिएको प्रचार प्रसार उपसमिति संयोजक एवम् समितिका सचिव मोहन बल्लले जानकारी दिनुभयो । प्रचार प्रसार उपसमिति संयोजक बल्लका अनुसार सो दिन पञ्चस्नानको लागि एक हजार एक सय र यस वर्षदेखि महाशिवरात्रीको दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहाने भक्तजनहरुका लागि ११ हजार १ सय ११ को रसिद काटी पूजामा सामेल गरिनेछ । साथै मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत ब्यवस्था गरिएको संयोजक बल्लले जानकारी दिनुभयो । त्यस्तै, शिवरात्रीमा आउने सम्पूर्ण भक्तजनहरुलाई प्रसादीको समेत ब्यवस्था मानव सेवा संघ कुलेश्वर काठमाडौैबाट गरिएको छ । सुरक्षा ब्यवस्थाका लागि प्रहरी, सेनालगायतको सहयोग रहनेछ ।

मन्दिरले हरेक वर्ष डोलेश्वरमा आउने साधु सन्त र बावाहरुको चाप बढ्दै गएपछि बाबाहरुलाई श्रेणीमा वर्गीकरण गरि दक्षिणा उपलब्ध गराइने जनाइएको छ । क वर्गका साधुसन्तका लािग एक हजार एक सय एघार, ख वर्गका लागि ७ सय ७७ र ग वर्गका लागि ५ सय ५५ रुपैयाँ दक्षिण तथा प्रति साधुलाई एक थान कम्बल, दुई थान धोती र एक थान कमण्डलु प्रदान गरिनेछ । त्यसैगरी मन्दिरको वार्षिक कार्यक्रमअनुसार शिवरात्रीका लागि सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुला गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू