अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२६ | Colorodo: 15:41

विश्वसामु नेपाल चिनाउँदै २७ वर्षीया जोली अमात्य

बिआरटीनेपाल २०७३ फागुन ७ गते २१:२७ मा प्रकाशित

 ८५ देशबाट आएका युवानेता र व्यवसायी, राष्ट्रसंघकै अधिकारी र कूटनीतिज्ञ तथा अन्तरसरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि गरी हजारभन्दा बढी युवा प्रतिनिधि । त्यो बृहत् सम्मेलनमा युवाका तर्फबाट अध्यक्षता गर्दै थिइन्, २७ वर्षीया नेपाली युवती । ‘संयुक्त राष्ट्रसंघको युवा सम्मेलन’ को युवा अध्यक्षका रूपमा उपस्थित थिइन्, ललितपुर जन्मे, हुर्केर अमेरिका पुगेकी जोली अमात्य ।

‘दिगो विकासका लागि संयुक्त राष्ट्रसंघको कार्यान्वयनमा युवाको भूमिका’ विषयमा केन्द्रित सम्मेलनमा युवा अध्यक्षको कुर्सीबाट उनले संसारकै युवाको आवाज बोलिन् । संसारमा एकता र ऐक्यबद्धताको खाँचो भएको टिप्पणी उनले गरिन् । भनिन्, ‘म शान्तिका प्रतीक बुद्धको जन्मभूमिबाट प्रतिनिधित्व गर्छु र मलाई लाग्छ, हामी सबै शान्ति र प्रेमका वाहक हौं । दिगो विकासको लक्ष्य पूरा गर्न संसारभरका युवा एकजुट हुन जरुरी छ ।’

बर्सेनि ग्रीष्म र शिशिर ऋतु (अगस्ट र फेब्रुअरी) मा हुने संयुक्त राष्ट्रसंघको युवा सम्मेलन सबैभन्दा ठूलो सम्मेलन हो । फेब्रुअरीमा हुने विन्टर युथ एसेम्ब्लीले संसारभरकै युवानेता, व्यवसायी, संयुक्त राष्ट्रसंघका अधिकारी, कूटनीतिज्ञ र अन्तरसरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलाई एकै थलोमा भेट गराउँछ । त्यो ठूलो सम्मेलनको अध्यक्षता गर्नु ठूलै जिम्मेवारी वहन गर्नु हो । लामो रेस दौडेपछि मात्र त्यहाँ पुग्ने थोरै मध्येकी एक हुन् जोली ।

पाटनकै सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयबाट विज्ञान संकायमा प्लस टु सकेर अमेरिका पुगेकी जोली पहिलोपटक सन् २०१३ मा संयुक्त राष्ट्रसंघको युवा सम्मेलनमा सहभागी भएकी थिइन् । त्यो पनि साथीले भनेपछि आवेदन दिएर, छनोटको लामो प्रक्रियाबाट गुज्रिएर । २०१३ को शिशिरकालीन सम्मेलनमा पहिलोपटक सहभागी हुँदा उनी छक्क परेकी थिइन् ठूलो हल र असंख्य मानिस देखेर । ‘त्यतिबेला त मैले धेरै कुरा बुझेकी थिइनँ’, उनी सम्झन्छिन् । यी चार वर्षमा भने उनले धेरै विषय बुझिन्, प्रशस्त मानिस भेटिन् ।

२०१३ को सम्मेलन सकिएलगत्तै उनले इन्टर्नसिपका लागि संयुक्त राष्ट्रसंघमा आवेदन दिएकी थिइन् । अन्र्तार्वातामा छनोट भएपछि इन्टर्नसिप सुरु गरिन् । २०१३ र २०१४ को समर सेसनमा काम गरेपछि सम्मेलनको तौरतरिका र मर्म बुझिन् । २०१४ मा केही प्यानल सञ्चालन गरेकी थिइन् । २०१५ मा प्रशिक्षक नै बन्न पुगिन् । ‘त्यो मैले बोकेको पहिलो सबैभन्दा ठूलो चुनौती थियो’, जोलीको अनुभव छ ।

अहिले त उनी विभिन्न अन्तर्राष्ट्रिय संस्थामा नेपालको तर्फबाट प्रतिनिधित्व गरिरहेकी छन् । आफूसँगै देशलाई चिनाइरहिछन् । ‘ह्वाइट हाउस एएपीआई’ नामक युवा मञ्चमा पनि नेपालको तर्फबाट प्रतिनिधित्व गर्छिन् । ‘महिला डब्लुपीपीसी’ मा राजदूतका रूपमा प्रनितिधित्व गर्छिन् । ‘संयुक्त राष्ट्रसंघको कमिटी अफ द स्टाटस अफ वुमन’ मा पनि उनले नेपालको तर्फबाट २०१२ देखि २०१६ सम्म प्रतिनिधित्व गरिन् ।

नेपालका युवामा सही निर्देशन, परामर्श तथा अवसरको आवश्यकता छ -जोली अमात्य

कसरी लागिन् उनी यो सामाजिक गतिविधिमा ? हार्वर्ड विश्वविद्यालयबाट वित्त तथा लेखा संकायमा अन्डरग्य्राजुएट जोलीलाई सामाजिक–राजनीतिक गतिविधिमा कसले डोर्‍यायो ? उनी यसको श्रेय आफूले प्लस टुसम्म अध्ययन गरेको सेन्ट मेरिज उमाविलाई दिन्छिन् । ‘त्यहाँ हुने अतिरिक्त क्रियाकलापले समाजका लागि योगदान गर्न सिकायो,’ उनको अनुभूति छ । त्यसभन्दा पहिला ललितपुरको रोट्र्याक्ट क्लबअन्तर्गत युवाको समिति ‘इन्टर्‍याक्ट’ मा गरेको गतिविधिले सामाजिक कार्यको पहिलो परिचय दिएको उनको अनुभव छ

त्यसो त जोली नेपालमा हुँदादेखि नै सामाजिक गतिविधिमा संलग्न थिइन् । सन् २००७ मा ‘भ्वाइस अफ वुमन टपटेन अवार्ड’ जितेकी थिइन् । संयुक्त राष्ट्रसंघअन्तर्गत युएन महिला, वल्र्ड बैंक, हेबी ट्याट फर ह्युमानिटी, एक्सन एड नेपाल आदिमा काम गरेको अनुभव सँगालेर कम समयमै आफूलाई परिपक्व बनाइसकेकी छन् उनले । त्यसैले त २०१५ मा ग्लोबल कनेक्सन फर वुमन फाउन्डेसनले उनलाई ‘योङ ग्लोबल लिडर एचिभमेन्ट’ द्वारा सम्मान गरेको थियो ।

युवाकै क्षेत्रमा लामो समय काम गरेकी जोलीसँग नेपालको सरकारी नीतिलाई लिएर भने केही गुनासा छन् । विकसित देशले युवालाई प्राथमिकता दिए पनि नेपालमा सरकारले युवालाई वास्तै नगरेको उनको टिप्पणी छ । ‘नेपालबारे राजनीतिप्रति नकारात्मक धारणा बन्दै गइरहेछ । यो दुःखलाग्दो अवस्था हो’, जोलीको विश्लेषण छ, ‘नीति निर्माणमा युवाको भूमिका आवश्यक छ । बल्ल त्यसको कार्यान्वयन सुनिश्चित हुन्छ ।’

उनले युवा सम्मेलनकै अवसरमा पुगेका नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली, परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत, विदेशसचिव शंकर वैरागी र अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीसँग आफ्ना व्यक्त गरेकी थिइन् ।

जोलीले नेपालमा आएर देशका निम्ति केही गर्ने सोच रहेको बताइन् । नेपाली युवासँग क्षमता भएर पनि अवसर नपाएको उनको धारणा छ । उनले अन्नपूर्णसँग भनिन्, ‘नेपालका युवामा सही निर्देशन, परामर्श तथा अवसरको आवश्यकता छ ।’ पैसाको कमीले योजना र सीप भएर पनि खुम्चिन बाध्य नेपाली युवाको सशक्तीकरणका निम्ति काम गर्ने जोलीको योजना छ ।

 

स्रोत:अन्नपुर्ण पोष्ट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू