अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

कोहलपुर महोत्सव एवं कृषि पर्यटन तथा औद्योगिक  मेला आजबाट सुरु

बिआरटीनेपाल २०७३ फागुन ५ गते २१:२३ मा प्रकाशित

कोहलपुर महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला आज (शुक्रबार) देखि कोहलपुरमा शुरु हुँदैछ । बिहीबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । महोत्सवको उद्घाटन शहरी विकास राज्य मन्त्री मिठु मल्लले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

कोहलपुरलाई फोहरमुक्त शहर र हरित नगर बनाउने अवधारणाका साथ महोत्सव संचालन गर्न लागिएको महोत्सव मुल समारोह समिति संयोजक रुद्र खनालले बताए । उनका अनुसार महोत्सवपछि कोहलपुरलाई हरित नगर तथा फोहरमुक्त शहरका रुपमा स्थापित गराउन तत्काल प्रभाव पर्ने खालका गतिविधिहरु संचालन गरिनेछ ।

महोत्सवपछि संकलन हुने आर्थिक स्रोतले कोहलपुरलाई हरित नगर बनाउने अभियानमा प्रत्यक्ष रुपमा जोडिनेछौं’ उनले भने ‘कोहलपुरलाई हरित नगर बनाउने अभियानमा समाजका सबै पक्षलाई समेटेर सभ्य समाजिका संस्कार बसाल्न सबैमा चेतना जगाउन महत्वपूर्ण भूमिका खेल्नेछौं ।’

स्थानीय तथा स्वदेशी उत्पादनहरुलाई प्रवद्र्धन गर्न उपभोक्ताहरुबीच पहुँच स्थापित गर्ने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध कायम गराउने, सूचना प्रविधिको महत्व जानकारी गराउने, स्थानीय तहको कृषि विकासमा प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखिएको उनको भनाई छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम, बालबाटिका, सर्कस, विभिन्न व्यवसायीक तथा सेवामुलक स्टल, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वस्तुहरु तथा सेवाहरुको प्रदर्शन तथा अवलोकन लगायतका आकर्षणहरु रहने आयोजकको भनाई छ ।

महोत्सवमा विभिन्न प्रकारका व्यवसायीक र सेवामूलक २ सय ७६ स्टलहरु रहनेछन् । महोत्सव अवधिभर डेढ लाख बढी दर्शकहरुलाई मेला अवलोकन गराउने लक्ष्य राखिएको छ । यस्तै आयोजकले महोत्सवमा ६८ लाख ४० हजार बराबरको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ ।

विभिन्न खर्चहरु कटाई ९ लाख ५५ हजार बचत हुने अनुमान गरिएको आयोजकको भनाई छ । रुद्राक्ष फिल्मस् प्रा.लि. र ग्रिन सिटी युथ क्लबको संयुक्त आयोजनामा भएको महोत्सव फागुन १६ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू