अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

देश छोडेर विदेश जाने, उतैको नागरिक पनि बन्ने, अनि मुलुकप्रति चिन्ता देखाउनेहरुप्रति मेरो आपत्ति छ- अनिल पाण्डे

बिआरटीनेपाल २०७३ माघ २७ गते २२:३७ मा प्रकाशित

देश छोडेर विदेश जाने, उतैको नागरिक पनि बन्ने, अनि मुलुकप्रति चिन्ता देखाउनेहरुप्रति मेरो आपत्ति छ’– कतिले यसो भनेको यस लेखकले पनि पढेको वा सुनेको छ । के तपाईँ यस भनाइमा सहमत हुनुहुन्छ ? तर, यो लेखक छैन । माइतीबाट बिदा भएर अपरिचित ठाउँमा घर गर्न जानु नेपाली चेलीको जुन नियती हो, त्यही नियती भोगिरहेछन् जन्मभूमि छोडेर परदेश बस्नेहरु ।

‘तँ विवाह गरेर श्रीमानको घरमा गएकी, माइतीको चिन्ता किन गर्छेस्, तँलाई जन्मघरको चिन्ता गर्ने अधिकार छैन’ भनियो भने, के चेलीमाथि न्याय होला ? राजनीतिक अस्थिरता, आर्थिक उत्पादनको अनिश्चितता, सामाजिक असुरक्षा, भ्रष्टाचार र अराजक वातावरणबाट दिक्क भएर मात्र कसैले मुलुक छोडेको हो ।

आजभोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानको अध्यागमन जानुहोस्– थाइल्याण्ड, सिंगापुर, दिल्ली, कुवेत, कतार मात्र होइन नेपालजस्तै अल्पविकसित बङ्गलादेशतिर उड्ने विमानमा पनि टन्न साहूको ऋण काडेर विदेश पसेका खचाखच मजदुर, विद्यार्थी भेटिन्छन् । के ती सबै रहरले रमाइलो गर्न हिंडेका हुन् ? विदेशमा दास जस्तो जोतिएर र शारीरिक तथा मानसिक रूपले शोषित भएर उनीहरू दुई पैसाको मुख हेर्न र फर्केर जीवनलाई आर्थिक रूपले केही सक्षम बनाउन अन्तिम विकल्प रोजेका हुन् । उनीहरू मुलुकमै अनुकूल वातावरण पाएका भए पनि यसरी नै धोती न टोपी भएर प्रवासको अन्धकारमा हामफाल्थे त ? खासमा मुलुकको राजनीतिसँग पनि यस्ता निम्न स्तरका जनतालाई चासो छैन, चासो छ त केवल जीविकोपार्जनको आकर्षक विकल्प र सामाजिक सुरक्षाको छ । राणाशाही, राजतन्त्र, दलविहीन पञ्चायत, दलीय प्रजातन्त्र र आजको सङ्घीय लोकतन्त्रमा पनि आगो बल्ने चुलोको अनुहार नफेरिएपछि जनताले राजनीतिक व्यवस्थाको परिवर्तनसँग खासै सम्बन्ध राख्न पनि आवश्यक ठानेका छैनन् । जीविकोपार्जन र सुरक्षा नै उनीहरूका लागि सर्वाधिक चासोका विषय बनेका छन् । विदेशमा कहाँ डा. बाबुराम भट्टराई छन् र, तर पनि रोजगारीको सम्भावना छ, राष्ट्रपतिको पदमा डा. रामवरण यादव पनि छैनन् तैपनि धेरथोर कामको सम्मान छ, प्रतिपक्षमा सुशील कोइराला, झलनाथ खनाल र तराईको शासक हुन खोज्ने विजयकुमार गच्छदारहरु– कोही पनि त छैनन् । तैपनि विदेश आउने कसैले उनीहरूलाई ‘मिस’ गरेको देखिन्न । केवल उनीहरूको सम्झनामा साहूको ऋण र परिवारजन मात्र आइरहन्छन् । के अब त्यही सम्झना गर्ने अधिकारबाट पनि विदेशिन बाध्य भएका नेपालीलाई बेदखल गर्नुपर्छ र ?

तर जसरी समाजमा चेलीको अधिकार खोस्ने विवेकहीन माइती अल्पमतमा छन्, त्यसरी नै विदेशमा जाने नेपालीलाई मुलुकको बारेमा चिन्ता नगर भनेर हुकुम चलाउने ठेकेदार । त्यसैले त विदेशमा बसेर नेपालको चिन्ता गर्न राज्यले पनि केही वातावरण बनाइदिएको छ । जस्तो, अमेरिकामा बसोबास गर्ने नेपाली मूलका विदेशी नागरिकलाई ‘नेपालएम्बेसीयुएसए डट ओआरजी’ ले ‘माइततिर फर्किन’ प्रेरित गरेको छ । विदेशमा बसेर नेपालसँग पनि समानान्तर सम्बन्ध कायम राख्न र व्यापार व्यवसाय बढाउन चाहने सबैका लागि त्यहाँ उपाय पनि बताइएको छ । त्यसमध्ये गैर आवासीय नेपाली परिचयपत्र जन्मभूमिप्रति केही योगदान दिने व्यक्तिका लागि प्रवेशद्वार साबित हुन्छ । ‘एनआरएन आइडी’ का नामले चिनिने यस परिचयपत्र लिन वेबसाइटमा सम्बद्ध सबैमा आग्रह पनि गरिएको छ । फाराम अनलाइनबाटै भर्नसकिने व्यवस्था पनि छ । सबै विधि पुराएर फाराम भरेमा एक साताभित्र प्रमाणपत्र पाइने नियमावलीमा पनि उल्लेख छ । गैर आवासीय नेपालीकाका हातमा यस प्रकारको परिचयपत्र आएपछि उसले के पाउँछ भन्ने प्रश्न स्वाभाविक रूपले प्रकट हुन्छ । त्यसका लागि गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ पल्टाउनु आवश्यक छ ।

गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ का आधारमा ल्याइएको नियमावली हरेक गैर आवासीय नेपाली (एनआरएन) का लागि प्रिय उपलब्धि हो । दोहोरो नागरिकताको माग गर्दै आएका एनआरएनले अहिलेका लागि जे–जति उपलब्धि पाएका छन् त्यो एनआरएन आइडीकै ढोकाबाट छिरेपछि उपभोग गर्न पाइने अवस्था छ । सबैभन्दा ठुलो कुरा त, आफु जन्मी–हुर्की गरेको मुलुकमा कुनै प्रकारको कानुनी सम्बन्ध कायम नहुने हो कि भनेर चिन्तित रहेका गैर आवासीय नेपालीले दोहोरो नागरिकता नै नपाए पनि मन राख्ने आधार भने पाएका छन् । यसका लागि एनआरएन सङ्घका पूर्व नेतृत्व तथा सहयोगी सबै बधाईका पात्र छन् । उनीहरूको निरन्तरको अभियान र आन्दोलन नहुँदो हो त आज नेपाली मूलका विदेशी नागरिकले नेपाल प्रवेश गर्दा आफ्नै जन्मघरमा आफैले भिसा शुल्क बुझाउनु पर्ने अवस्था कायम रहने थियो ।

गैर आवासीय नेपाली सङ्घलाई नियमावलीले पहिचान दिएको छ । परिच्छेद २ मा दर्ता तथा परिचयपत्रसम्बन्धी व्यवस्था छ । कुनै गैर आवासीय नेपाली वा निजको परिवारले गैर आवासीय नेपालीको हैसियतमा आफ्नो नाम दर्ता गराउन चाहेमा विदेशमा भए राजतूतवावास वा नियोग प्रमुखसमक्ष र नेपालभित्र भए परराष्ट्र मन्त्रालयका सचिवसमक्ष निवेदन दिनुपर्नेछ । निवेदन परेको सात दिनभित्र सम्पूर्ण प्रमाण पुगेको अवस्थामा प्रमाणपत्र दिन नियोग प्रमुख वा सचिव बाध्य हुनेछन् भनिएको छ । तर त्यसका लागि दस्तुर लाग्ने व्यवस्था छ । यो शुल्क मुलुकअनुसार फरक छ, जस्तो अमेरिकामा यस प्रकारका परिचयपत्र लिने हो भने जम्मा ५२० डलर खर्च हुन्छ ।

यसरी परिचयपत्र हासिल गरेको व्यक्तिले नेपालभित्र जग्गा वा अन्य सम्पत्ति खरिद गर्न पाउँछ । नेपालमा सम्पत्ति जोड्न चाहने नेपाली मूलका विदेशी नागरिकले आपूmले वा आफ्नो परिवारको नाममा खरिद गर्न चाहेको जग्गा रहेको स्थान, क्षेत्रफल तथा खरिद गर्न तयार भएको मूल्य खुलाई स्वीकृतिको लागि परराष्ट्र सचिवसमक्ष निवेदन दिनुपर्नेछ । स्वीकृति प्राप्त भएअनुसार खरिद गर्न सकिनेछ । जग्गा रजिष्ट्रेसन पास गर्ने सम्बन्धित कार्यालयले ऐन तथा यस नियमावलीको अधीनमा रही जग्गा रजिष्ट्रेसन पास गरिदिनुपर्नेछ भनी कानुनमा व्यवस्था छ । ‘यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि ऐन र यस नियमावलीबमोजिम अचल सम्पत्ति खरिद गरेकै कारण ऐन र यो नियमावलीले प्रदान गरेबाहेकको अन्य कुनै हक अधिकार प्राप्त हुनेछैन’ ऐनमा भनिएको छ । जग्गा धनी प्रमाणपत्र नीलो रङ्गको हुने पनि खुलाइएको छ ।

ऐनअनुसार सङ्घ दर्ता गर्न २५ मुलुकका ५० जना गैर आवासीय नेपालीले मन्त्रालयसमक्ष निवेदन दिनुपर्नेछ । दफा ९ मा पुँजी भित्र्याएको प्रमाणपत्र लिन पाउने व्यवस्था पनि छ । दफा १० मा रकम फिर्ता लैजानेसम्बन्धी व्यवस्था छ । नेपालमा गरेको लगानी रकम र त्यसबाट प्राप्त भएको लाभ बराबरको रकम प्रमाणपत्रअनुसार फिर्ता लान पाइनेछ । मुनाफाको रकम एकै पटक लैजान सकिन्छ भने मूलधन परिमाणअनुसार किस्ताबन्दीमा फिर्ता लान सकिन्छ । काठमाडौँ उपत्यकाभित्र बढीमा दुई रोपनी जग्गा, तराईको शहरी क्षेत्रमा बढीमा आठ कठ्ठा र अन्यत्र बढीमा चार रोपनी र कति ठाउँमा एक विगाहा र १० रोपनीसम्म पनि जग्गा खरिद गर्न पाउने व्यवस्था छ ।

यी सबै व्यवस्था स्वागतयोग्छ छन् । विदेशमा दुखले कमाएको धन निर्धन जन्मभूमिमा खर्च गर्ने अधिकारबाट प्रवासमा पुगेका नेपालीबाट कसैले नछिनोस् । हालै, साउदी अरबबाट पीडाका साथ केही रियाल लिएर नेपाल भित्रिएकी एक २० वर्षीया युवतीलाई जसरी अध्यागमन नै आर्थिक तथा शारीरिक रूपमा ‘राष्ट्रसेवकहरु’ ले नै लुटे, त्यस्ता चेलीका लागि सुरक्षाको व्यवस्थासम्म गरियो भने कम्तीमा देशको विप्रेषण बढ्नेछ । चेलीलाई सराप्ने कुन माइतीको भलो भएको छ र ?

प्रतिक्रिया