अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

नर्थ क्यारोलाइनामा साहित्यिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ माघ २६ गते १०:५१ मा प्रकाशित

फेब्रुअरी ७, २०१७ (मोरिस्भिल, नर्थ क्यारोलाइना) – नर्थ क्यारोलाइना नेपाली साहित्य समाजद्वारा आयोजना गरिने मासिक साहित्यिक कार्यक्रम अन्तर्गत जनवरी महिनाको कार्यक्रम गत साता शनिवार मोरिस्भिल सहरमा सम्पन्न भएको छ। समाजका सदस्य विक्रम गौतमको निवासमा आयोजित उक्त कार्यक्रमको पहिलो चरणमा कवि तथा नाटककार गोपाल प्रसाद रिमालको व्यक्तित्व एवं कृतित्व माथि छलफल गरिएको थियो भने दोस्रो चरणमा सहभागीहरुले आ-आफ्ना रचना पाठ गरेका थिए। कार्यक्रमको सुरुवातमा चार वर्षीय बालिका विभुषा गौतमले रिमालको “रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो” बोलको गीत गाएकी थिइन्। परिचयसँगै अगाडि बढेको उक्त कार्यक्रममा समाजका अध्यक्ष मनोज प्रधानले अतिथि सहभागी ऋषि बस्ताकोटीलाई स्वागत गर्नुका साथै समाजको बारेमा जानकारी दिनुभएको थियो। विशेषत: कविता र गजल विधामा कलम चलाउनु हुने बस्ताकोटीले कार्यक्रमको रुपरेखाबारे सन्तोष व्यक्त गर्दै आगामी दिनमा समाजमा सक्रिय हुने इच्छा व्यक्त गर्नु भएको थियो। 

कार्यक्रममा आमाको सपना (कविता सङ्ग्रह), मसान (नाटक) तथा यो प्रेम (नाटक) जस्ता चर्चित कृतिहरुका रचयिता रिमालका साहित्यिक रचना संख्यात्मक रूपमा कम भएता पनि गुणात्मक रूपमा उच्चकोटिको रहेको निष्कर्ष सहभागीहरुले गरेका थिए। कार्यक्रममा रिमालका ‘आमाको सपना’ र ‘प्रति’ कविताहरू वाचन गर्नुका साथै देशभक्तिपूर्ण अन्य गीतहरू पनि गाइएको थियो। २००७ सालको आन्दोलनलाई ऊर्जा प्रदान गर्ने सशक्त कृतिहरुका रचनाकार गोपाल प्रसाद रिमाल नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक काव्यगाथा गायक रहेको ठहर सबै सहभागीहरुले गरेका थिए। “आमाको सपना” कृतिका लागि वि सं. २०१९ सालको मदन पुरस्कार विजेता रिमाललाई नेपाली कवितामा गद्य प्रवृति भित्र्याउने अग्रणी साहित्यकारको रूपमा पनि मानिन्छ।

विगत ५ वर्षदेखि निरन्तर रूपमा मासिक साहित्यिक कार्यक्रम गर्दै आएको नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको उक्त कार्यक्रममा सहभागीहरू ईश्वर देवकोटा, शिशिर खनाल, निर्मला प्रधान, लेखनाथ दुलाल, सुजाता ढुंगेल, बटु शर्मा, ऋषि बस्ताकोटी, दिपेन्द्र अर्याल, मनोज प्रधान, विक्रम गौतम आदिले आ-आफ्नो रचना पाठ गर्नुभएको थियो। विशेष अतिथिको रूपमा सहभागी रातो बङ्गला स्कुलकी शिक्षिका सुधा शर्माले छन्द कविता वाचनका बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा अन्य सहभागीहरू सुषमा प्रधान, सुनिल ढुंगेल, कमला देवकोटा, पूजा शर्मा, उषा गौतम सहितको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू