अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

पूर्व प्रधानमन्त्री के पी शर्मा ओली अमेरिका आउँदै (फोटो फिचर)

बिआरटीनेपाल २०७३ माघ २३ गते १६:०९ मा प्रकाशित

प्रवासी नेपाली मञ्च अमेरिकाको आयोजनामा टेक्सासको अर्भिङ्गमा आज पत्रकार सम्मेलनको आयोजना गरियो। कार्यक्रममा मञ्चले आगामी मार्च ३१ तारिख देखी अप्रिल २ तारिख सम्म मेरील्याण्डको बाल्टीमोरमा दोस्रो अधिवेशन सम्पन्न गरिने र अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले गर्ने जानकारी दिएको हो । 

प्रवासी नेपाली मञ्च (ओएनअफ) अमेरिकाको दोस्रो अधिवेशनको तयारी स्वरूप आज प्रचार प्रसार समिति संयोजक कमल ओझाद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा उहाँले पत्रकारहरुलाई वितरण गरिएको प्रेस बक्तब्य पढेर समेत सुनाउनु भएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा (न्यु योर्क), केन्द्रीय कोषाध्यक्ष शङ्कर पन्त (फिलाडेल्फिया), टेक गुरुङ (न्यु योर्क), टेकराज पौडेल (शिकागो), गोपाल कडेल (शिकागो), प्रीति सगर खत्री (ओहाओ) लगायतका केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रममा सन २०१३ मा स्थापना भएको मञ्च अमेरिकी कानुन अनुसार दर्ता भई नेपालीहरूको सेवामा समर्पित रहेको जानकारी दिइयो । प्रेस विज्ञप्तिका अनुसार मञ्चको अधिवेशनका लागी अमेरिकाका २२ राज्यहरूमा रहेका सदस्य, १५ राज्य समिति, ४ क्षेत्रीय समिति र १ केन्द्रीय समितिबाट करिब २ सय प्रतिनिधिको सहभागिता रहनेछ ।

आगामी नेतृत्वको सम्बन्धमा वर्तमान अध्यक्षसँग पत्रकारहरुले राखेको जिज्ञासामा थापाले संस्था भित्र धेरै सक्षम साथीहरू रहेको हुँदा आफू पुन अध्यक्ष नहुने प्रस्ट पार्नुभयो । पत्रकार सम्मेलनमा विभिन्न पत्र-पत्रिकाका सहभागी अतिरिक्त विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै प्रवासी नेपाली मञ्च अमेरिकाको झन्डै ७० -८० शुभ-चिन्तकहरुको उपस्थिति रहेको थियो ।

फोटो: सन्तोष न्यौपाने (बिआरटी नेपाल डट कम)

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू