अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा

बिआरटीनेपाल २०७३ माघ १९ गते ०:०१ मा प्रकाशित

काठमाडौँ, माघ १९ गते । विद्याकी देवी सरस्वतीको पूजा गरेर बुधवार श्रीपञ्चमी मनाइँदैछ । यो दिन बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्न शुभ दिन मानिन्छ । यस दिन विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य गर्दा गराउँदा साइत पर्खन नपर्ने प्रचलन पनि छ । देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वतीको पूजा विधान लेखिएको छ । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार ज्योतिष शास्त्रमा फागुन र माघ महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

बुधवार बिहान ११ः३५ बजेको साइतमा राष्ट्रप्रमुखबाट हनुमानढोका दरबारस्थित नासलचोकमा परम्परा अनुसार वसन्त श्रवण हुँदैछ । दरबारका कर्मचारी मिठाराम पुडासैनीका अनुसार वरिष्ठ शास्त्रीय सङ्गीतज्ञ सरिता मिश्रको एक टोलीले यहाँ वसन्त राग प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

विशालनगरको नील सरस्वती, पशुपति आर्यघाटको सरस्वती, पाटन लेलेको सरस्वती कुण्ड, मैतीदेवीको सरस्वती मन्दिर लगायत मुलुकका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा यस दिन मेला लाग्छ । शैक्षिक संस्था, तालिम केन्द्र, गुरुकुल लगायतमा यो दिन सरस्वतीको आराधना गर्ने गराउने प्रचलन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू