अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

अमेरिकामा सम्पन्न ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ नेपालमा पनि देखाईयो (फोटो फिचर)

बिआरटीनेपाल २०७३ माघ १५ गते १२:१८ मा प्रकाशित

अमेरिकाको कोलोराडो स्थीत डेनभर सहरमा गत नोभेम्बर १२ तारिखका दिन आयोजित खुम्बु कोल्च ग्लोबल नेपाली फिल्म अवार्ड नेपालमा पनि देखाईएको छ । शनिवार राजधानीको पर्यटन बोर्डमा बिषेश कार्यक्रमको आयोजना गरि अमेरिकामा पहिलो पटक सम्पन्न खुम्बु कोल्च ग्लोबल नेपाली फिल्म अवार्डमा खिचिएको सम्पुर्ण कार्यक्रम भिडियो मार्फत देखाईएको हो ।

परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाली सिने क्षेत्रका नयाँ तथा पुराना कलाकार, संगीतकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिती देखिन्थ्यो । बरिष्ठ कलाकार सुनिल थापा, सदावहार नायक भुवन केसी, निर्देशक ऋषि लामिछाने, नायीका सरिता लामिछाने, कलाकार उत्तम केसी, संगीतकार सम्भुजित बास्कोटा, लेखक तथा निर्देशक राजेन्द्र सलव, गीतकार डा.भोला रिजाल लगायतका कलाकार तथा संगीतकर्मीको उपस्थिती रहेको कार्यक्रममा खुम्बु कोल्च ग्लोबल फिल्म अवार्डका आयोजक बिआरटी नेपाल डटकम, अमेरिका नेपाल टेलिभिजन र नेपाल फिल्म सोसाईटीका सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।

पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्ड भएकाले पनि यस अवार्डलाई महत्वका साथ हेरेका पत्रकार र कलाकारहरुले भिडियो प्रर्दशनी पछि अवार्ड सम्पुर्ण रुपमा आकर्षक र भब्य भएको टिप्पणी गरेका थिए ।

यसै कार्यक्रमका लागि अमेरिकाबाट नेपाल आएका ग्लोबल फिल्म अवार्डका अमेरिका संयोजक नवराज श्रेष्ठले सम्पन्न अवार्डको पृष्ठभुमी देखी, उद्येश्य र अवार्ड सम्पन्न गर्दा सम्मका अनुभवहरु कार्यक्रममा सुनाएका थिए ।

त्यस्तै केहि दिन अघिमात्र एनआरएनए अमेरिकाको ५ औं साधारण सभामा सहभागी भएर फर्केका परराष्टमन्त्री डा.प्रकाशशरण महतले अमेरिकामा रहेका नेपालीहरुको आपसी भाईचारा र बिभिन्न क्षेत्रमा सक्रिय रहेर नेपालको बिकाशमा पुर्याएको योगदानबाट आफु अत्यन्त प्रभावित भएको बताउँदै ग्लोवल नेपाली फिल्म अवार्डले अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपाली चलचित्रको महत्व र नेपाली कलाकारको खुवि तथा पहिचानलाई परिचित गराउने काम गरेको भन्दै आयोजक टिम र कलाकारहरुको प्रशंसा गरेका थिए ।

कार्यक्रममा ग्लोबल नेपाली फिल्म अवार्ड सम्पन्न गर्नका निम्ती महत्वपूर्ण भुमिका निभाएका कलाकार साथै पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । मन्त्री डा. प्रकाशशरण महत र ग्लोबल फिल्म अवार्ड ब्यवस्थापकको जिम्मेवारी सम्हालेका निर्माता तथा कलाकार मधु कुमार श्रेष्ठको हातवाट प्रदान गरिएको मायाको चिनो, नेपाल अमेरिका टेलीभिजनका नवराज श्रेष्ठ जो यस अवार्डका अमेरिका संयोजक हुन, बिआरटी नेपाल डटकमका कार्यकारी सम्पादक साथै अवार्डका अमेरिका सह-संयोजन शैलेश पोखरेल, कलाकार रमेश बुढाथोकी, उत्तम केसी, पत्रकार तथा निर्देशक सुव्रत आचार्य, अवार्डको प्रायोजन गरेको शेर्पा ब्रुवरीका  सि-इ-ओ फुर्बा शेर्पा लगायतले सम्मान स्वरुप पाएका थिए ।

गत नोभेम्बर १२ गते डेनभर सहरमा आयोजित ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा पहिलो पटक आयोजना गरिएको अवार्ड हो । जसमा बरिष्ठ कलाकार बसुन्धरा भुषाल, निर्माता तथा डिजाईनर गेहेन्द्र धिमाल, पूर्व संस्कृती मन्त्री मिनेन्द्र रिजाल, नायक शिव श्रेष्ठ, भुवन केसी, कृष्ण मल्ल, राज बल्लव कोईराला, कलाकार, शिवहरी पौडेल, निर्देशक नारायण पुरी, एभरेस्ट सुर्य बोहरा, श्याम भट्टराई, नायीका शर्मिला मल्ल, नन्दीता केसी, युना उप्रेती लगायतको सहभागीता थियो भने परोणोपरान्त कलाकारको योगदानको कदर स्वरुप प्रदान गरिने बिषेश सम्मान दिवंगत नायक श्रीकृष्ण श्रेष्ठलाई प्रदान गरिएको थियो जसमा नायक श्रेष्ठकी धर्मपत्नी तथा नायीका श्वेता खड्काको उपस्थिती रहेको थियो ।

ग्लोवल फिल्म अवार्डबारे तयार पारिएको स्मारिका पनि सार्वजनिक गरिएको कार्यक्रम दिउँसो २:३० बजे कक्टेल पार्टी सहित सुरु भएर साँझ सम्म चलेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू