अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

राष्ट्रियता र स्वाधीनताका लागि नेपालको पानी जनताको लगानी

बिआरटीनेपाल २०७३ माघ १२ गते १०:२५ मा प्रकाशित

उर्जामन्त्री जर्नादन शर्माले नेपालको पानी जनताको लगानी अवधारणा राष्ट्रलाई आत्मनिर्भर र राष्ट्रियतालाई बलियो बनाउन ल्याइएको बताउनु भएको छ । अष्टज अभियान नेपालले सोमबार राजधानीमा आयोजना गरेको ‘नेपालको पानी जनताको लगानी’ तर कसरी ?” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले नेपाली जनताको तर्फबाट ६ खर्बको लगानी जलविद्युतमा लगाइ देशलाई पुरै रूपमा लोडसेडिङ्ग मुक्त बनाउने र नागरिकलाई पनि प्रतिफल प्रदान गर्ने अभियान सुरु भएको बताउनु भएको थियो ।

“दैनिक ५० करोडको प्रतिबद्धता आएको छ, ती जनताले ख्याल ठट्टा गरेको होलान् भन्ने लाग्दैन । राष्ट्र निर्माणमा योगदान हो भनेर जनता तयार भएर आएका हुन्” मन्त्री शर्माले आशंका बढाएर होइन, सबैले मिलेर यो अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।

अध्ययनको नाममा समय बर्वाद् मात्र गर्ने यसअघिको कार्यप्रणालीलाई अब सुधार गर्दै ठुला योजनाहरू ५ वर्ष भित्र र साना योजनाहरू ३ वर्ष भित्र सम्पन्न गर्न सकिने बताउनु भयो । सो अवसरमा विद्युत् चोरी गर्ने को हुन् भन्ने जनताको प्रश्नको उत्तरको खोजी स्वरूप त्यस्ता व्यक्तिहरूलाई नियन्त्रणमा लिने काम सुरु भएको भन्दै भन्नुभयो “विद्युत् चोरी गरेर व्यापार गर्नेलाई बाँकी राखिँदैन ।”

कार्यक्रममा वक्ताहरुले सरकारलाई भावनामा बहेर होइन, त्यसको दीर्घकालीन उपलब्धिका बारेमा सचेत भएर काम अगाडि बढाउनु पर्ने सुझाव दिएका थिए । राज्यले जनताको लगानीको संरक्षण र प्रतिफलको ग्यारेन्टी गर्नु पर्ने धारणा उनीहरूले राखेका थिए । 

कसले के भने त कार्यक्रममा ?
मधुसुदन अधिकारी, सचिव जल तथा शक्ति आयोग
हामी कहाँ लगानीको समस्या नभै विश्वास गर्ने वातावरणको सिर्जनाको समस्या र शुभेच्छा प्राप्त गर्ने समस्या रहेको छ । सरकारले जनतालाई लगानीका लागि आह्वान गरिरहँदा सुरुमै लगानी र प्रतिफलको फेहरिस्त जनतालाई जानकारी गराउनु पर्दछ ।

काम नहुनुमा कर्मचारीतन्त्रमाथि आरोप लाग्ने गरेको छ, तर सरकारी प्रणालीभित्र विभिन्न दलका कर्मचारी युनियनहरू बनाएर राजनीति छिराउने काम को बाट भएको हो, यसरी आरोप प्रत्यारोप गर्दा नै हाम्रो देशमा विकास कार्य अगाडि बढ्न नसकेको हो । देशको विकासका लागि समग्र क्षेत्रको विकासमा ध्यान दिन आवश्यक छ ।

हस्त पण्डित, ग्रामीण प्रविधि उत्पादक सङ्घ
नेपालमा जलविद्युत्को प्रचुर सम्भावना हुँदा हुँदै पनि सुरुवात गतिमा बढ्न नसकेको हो । सरकारले हालै जनतालाई जलविद्युतमा लगानी गर्न आह्वान गरेको काम राम्रो हो, त्यसलाई मूर्त रूपमा अगाडि बढाउन जरुरी रहेको छ ।

विश्वनाथ कँडेल, (स्वतन्त्र ऊर्जा उत्पादक संस्था, इपान)
सरकारले मोडालिटी नदिँदाकै अवस्थामा यति ठुलो रकमको प्रतिबद्धता आउनु उपलब्धिमुलक भएको हो । सरकारको तर्फबाट यति लगानी गर्दैछौँ, यसरी आयोजना अगाडि बढाउँछौँ, जनताको लगानी यसरी सुरक्षित गरिन्छ भन्ने मोडालिटी आउने हो भने ५ गुणा प्रतिबद्धता अझ बढ्ने छ । जनताको सहभागितामा बन्ने योजनाहरू तुहिने अवस्थामा नजाओस् भन्ने तर्फ सचेत रहँदै जनतालाई लगानीको प्रतिफलको सुनिश्चता गर्नु पर्छ । आवश्यकता अनुसार सरकारलाई सल्लाह सुझाव दिन पनि हामी तयार छौँ ।

आइपी तिवारी(जलविधुत् विज्ञ) ः उत्पादनको क्षमता यति छ भनेर मात्र हुँदैन, लक्ष्य अनुसारको काम समयमै सम्पन्न हुन सक्यो भने त्यसको लागतमा सम्पन्न गर्न सकिन्छ । ३२ वर्षको विद्युतको क्षेत्रको अनुभवमा ५२ जिल्लामा १० वर्ष अघि गरेको सर्वे अनुसार डाउन स्टिम बेनिफिटबाट जिरो ..लगानी गर्न सकिने अवस्था छ तर त्यता कसैको ध्यान जान सकेको छैन ।

रमेशबाबु श्रेष्ठ, हाइड्रो उद्यमी
५०–६० जना ब्रिटिस लाहुरेहरुले नेपालमा सेवाका साथै लगानी पनि गर्ने उद्देश्यले जलविद्युतमा लगानी गर्‍यौँ तर काम गर्दा विशेष गरी राजनीतिक दलबाट निकै झन्झट र हैरानी भोग्नु प¥यो । दलहरूको चन्दा, झगडा जस्ता कुराले १६ रुपैयाँमा पाउने पाइप ४८ रुपैयाँ मूल्य समेत तिर्नु पर्‍यो । विदेशमा बस्ने नेपालीहरू नेपालमा लगानी गर्न उत्साहित छन् तर त्यसको लागि यस्ता राजनीतिक हस्तक्षेप हुनुहुँदैन । लगानी सुरक्षाको वातावरण राज्यले बनाइदिनु पर्दछ ।

मोहन शाक्य, महानिर्देशक- इन्जिनियर विभाग, नेपाल विधुत प्राधिकरण
गुड म्यानेज्मेन्टका कारण लोडसेडिङ्ग क्रमैसँग घटाउन प्राधिकरण सफल बनेको छ । परियोजनामा लगानी गर्दा लगानीकर्ताको लगानी सुनिश्चितता राज्यले दिनुपर्छ । हाम्रो जोड भनेको थप विद्युत् भारतबाट ल्याउने नभै आफ्नो माग यहीबाट पुरा गर्ने र बढी भएको विद्युत् खपत गर्नेमा ध्यान केन्द्रित रहेको छ । २–३ वर्षमा आउने थप विद्युतको खपत गर्ने बजार सिर्जना गर्नुपर्दछ त्यसका लागि घरमा प्रयोग गरिने मट्टितेल डिजेलबाट चल्ने साधनहरू हटाउनु पर्दछ । स्टोरेज क्षमताका ट्रान्समिटरहरु बनाउन आवश्यक छ ।

ज्ञानेन्द्रलाल प्रधान,  प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घ
सरकारले लगानीका लागि आह्वान गर्दा यति उत्साहित रूपमा जनताको तर्फबाट प्रतिबद्धता आउनु स्वागत योग्य होे । अहिलेसम्म रेमिट्यान्सहरु विलासीतार्फ खर्च भएको अवस्थामा सरकारले जनताको प्रतिबद्धताले जनता साना साना लगानीतर्फ उत्सुक छन् भन्ने देखिन्छ । तर सरकारले आह्वान गरेको यो योजना कमजोर हुने वा जनताको लगानी डुब्ने अवस्था आउनु हुँदैन, यदि यसो भएको खण्डमा जनताको तर्फबाट कहिल्यै पनि लगानी जुटाउन सम्भव हुँदैन । गरिब जनताको लगानी डुब्नु भनेको दुर्भाग्य पूर्ण हुन्छ । उहाँले सरकारले आयातित ग्याँसमा ट्याक्स नलाउने भनेको छ, यसले देशको उत्पादनले कहिल्यै पनि प्रतिस्पर्धा गर्न सक्दैन, आयातित वस्तुमा ट्याक्स राख्नै पर्दछ । सरकारका कामहरू फास्ट ट्रयाकमा हुन र साथै कर्मचारीको सहयोगी व्यवहार आवश्यक हुन्छ ।

आनन्द पोखरेल, पूर्व पर्यटनमन्त्री तथा (सांसद), नेकपा एमाले
पानीलाई ऊर्जासँग मात्र जोडियो भने एकांकी हुन्छ । जलविद्युतको कुरा गर्दा लगानी÷व्यवस्थापन÷अनुकुल वातावरण चाहिन्छ । तामाकोशीको अभियानकर्ताको हैसियतले मेरो अनुभव भन्नु पर्दा हिजो जनताको लगानीमा योजना अगाडि बढ्नै सक्दैन भन्ने नेतृत्वको सोच विपरीत जनताको लगानीमा बन्न सक्छ भनेर उभिएर अगाडि बढ्ने व्यक्ति म हुँ । तर लगानीको प्रतिफलको पक्षबाट हेर्दा जलविद्युतको लगानी तत्काल प्रतिफल दिँदैन । सामान्य जनता १२–१३ वर्षसम्म कुरेर बस्दैन, तत्काल प्रतिफल नदिने जलविद्युतमा लगानी गर्दा गरिब जनता डुब्छ । सरकारले जनताको लगानीको ग्यारेन्टी गर्नुपर्दछ । माथिल्लो अरुण जस्तो सस्तोमा बन्ने योजनामा सरकारले आह्वान गर्न सक्छ, तर कर्णालीको चिसापानीमा बनाइने जलविद्युत सस्तो हुँदैन । आज झोलामा खोला राख्ने अवस्था छैन । निजी क्षेत्रले सरकारलाई खोला चिनाइदिएको छ । सरकारले भारतलाई दिएको लाइसन्स खारेज गर्ने हिम्मत गर्नुपर्दछ । म्याद थपि रहने तर योजना अघि नबढाउने र नेपाली जनतालाई अँध्यारोमा राख्ने र आफ्नो उत्पादनलाई नेपाललाई बेचिरहने भारतीय प्रवृति खारेज गर्नैपर्दछ । आयोजनाको पिपिए डलरमा गर्दा योजना महँगो बनेको छ । जनताको लगानीको संरक्षण र तत्काल लगानी दिने ग्यारेन्टी गर्नुपर्दछ । कुनै पनि योजना ३ वर्षमा बन्न सक्दैन ६ वर्षमा बन्यो भने पनि लगानी घाटामा जाँदैन ।

नियाज अहमद, नयाँ शक्ति, पार्टी
देशमा स्रोतसाधन नभएको होइन, यसको व्यवस्थापन आवश्यक छ । म आफू विद्युत् क्षेत्रमा रहेर काम गर्दा समय भन्दा छिटो र कम खर्चमै गर्न सफल भएका छौँ । अध्ययन र काम सँगसँगै गर्न सकिन्छ । इमान्दार र पारदर्शी रूपले योजना सम्पन्न गर्न सकियो भने योजनाहरू समयमै गर्न सकिन्छ । विदेशी विज्ञहरुले नेपाली जनता आफै सक्षम छन् भनिरहेका छन्, नेपाली विज्ञतालाई सरकारले स्वीकार गर्नुपर्दछ । नेपाली जनताकै शक्तिमा देशको आर्थिक विकास सम्भव छ ।

खगेन्द्र बस्नेत, राप्रपा
आवास तथा भौतिक योजना मन्त्रालयमा ३ वर्ष सचिव भएर काम गर्दा यस क्षेत्रमा केही सुधार गर्ने प्रयत्न गरेको हुँ । पानीको पहिलो प्रयोग पिउने पानी, दोस्रोमा सिंचाई र तेस्रोमा जलविद्युत हो । तीनैवटा कुराको संयोजनका लागि विज्ञ समूह बनाउनु पर्दछ । अपनत्व अनुभव गर्ने खालका योजना नबनेसम्म तत्काल छाल आए पनि दीर्घकालीन उपलब्धि आउँदैन । जसरी स्थानीय समुदायलाई जङ्गल संरक्षणको अपनत्व दिइएपछि जङ्गल संरक्षण बढेको छ, यस्तै अपनत्व प्राप्त गर्न स्थानीय जनताको सहभागिता अनिवार्य हुन्छ ।

टंक लोरुङ, सङ्घीय समाजवादी फोरम
सङ्घीय संरचनामा मुलुक गएको बेलामा छलफल पनि त्यही सोचबाट अघि बढाउन आवश्यक हुन्छ । आर्थिक स्रोतको परिचालन पनि त्यही अनुसार हुन्छ । नेपालले अन्तर्राष्ट्रिय रूपमा गरेको आइएलओ सम्झौतालाई अष्ट जले समेट्न आवश्यक हुन्छ ।

अजित नारायण सिंह थापा, नेका
सजिलै किसिमले जनताको पैसा आउँछ र अपार प्रतिफल आउँछ भन्नु सपना मात्र हो । किनकि लगानी प्रतिफलमुखी हुनुपर्दछ । भावनामा बहकिएर मात्र बोल्नु हुँदैन । कुनै बेला खोलाको लाइसेन्स मात्र दिने काम भयो । निजी क्षेत्रले गरिहाल्छन् नि भनेर सरकार चुप लागेर बस्यो, प्राधिकरण अन्यौलमा पर्‍यो । गर्ने काम पनि गर्न सकेन । अरुण तेस्रो जस्तो सस्तो लगानी भएको योजनामा लगानी गर भन्नुहुन्न महँगो योजनामा जनतालाई लगानी गर भनेर हुन्छ ? देशलाई कसरी अगाडि बढाउने भन्ने स्पष्टता छैन । कुन योजना कसरी गर्ने भन्ने सरकारको स्पष्ट नीति आवश्यक छ । योजना बनाउँदा त्यसमा प्रयोग हुने कच्चा पदार्थको उपलब्धता र स्थानीय वातावरणीय पक्षको पनि अध्ययन गर्न आवश्यक हुन्छ । सबै राजनीतिक दलका विशेषज्ञ टिम बनाएर ६–१० महिना लगाएर समाजमा सदाचार काम हुने गरी परियोजना बनाउन सकियो र त्यसलाई संसदबाटै पास गर्न सक्यौँ भने सरकार परिवर्तन भए पनि कामले निरन्तरता पाउन सक्छ । लगानीलाई आकर्षण गर्न सरकारको प्रतिबद्धताका साथै सहजीकरण पनि आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू