अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

सम्वृद्ध नेपाल निर्माणका लागि क्षमता अनुसार लगानी गरौँ: उपाध्यक्ष कुमार पन्त

बिआरटीनेपाल २०७३ माघ १० गते १६:२५ मा प्रकाशित

न्यु योर्क, १० माघ । उत्तर अमेरिका भ्रमणमा रहनु भएका गैर आवासीय नेपाली सङ्घ, (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले सङ्घको नेतृत्व चयनका लागि अनलाइन भोटिङ प्रणाली स्थापना गर्ने तर्फ समयमा सोचिएन भने सङ्घको खर्चिलो निर्वाचन पद्धतिले गैर आवासीय अभियान प्रतीनै नकारात्मक सोच हाबी हुने बिचार व्यक्त गरेका छन् । उपाध्यक्ष पन्तको उपस्थितिमा संयुक्त राज्य अमेरिकाको न्यु योर्क र क्यानाडाको टोरोन्टोमा आयोजित अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले भने, ‘गैर आवासीय नेपाली अभियानलाई नेपालीको साझा हितको आधार बनाउन आवश्यक छ र यसका लागि काठमाडौँ गएरै मतदान गर्नुपर्ने अहिलेको व्यवस्था फेरिनु पर्छ । जुन मुलुकमा बसोबास गर्छन् त्यहीँबाट अनलाइन भोटिङको व्यवस्था मिलाइनुपर्छ ।’ 

सङ्घको २०१७-२०१९ कार्यकालका लागि अध्य्क्ष प्रत्यासीका रूपमा हेरिएका पन्तले यस्तो व्यवस्था भए एनआरएनएलाई वास्तवमै सबै गैर आवासीय नेपालीको छाता सङ्गठन बनाउन सकिने दाबी समेत गरेका छन् । आधा नेपाली मुलुक बाहिर रहेको उल्लेख गर्दै उनले नेपालको राजनीतिक प्रक्रियामा समेत गैर आवासीय नेपालीले मताधिकार पाउनुपर्ने माग गरे ।

‘मुलुकको सम्वृद्धिका लागि महत्त्वपूर्ण आयोजना छिटै सार्वजनिक गर्दैछौं’

लगानी केन्द्रित एक दिने उक्त सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष पन्तले गैर आवासीय नेपालीले आफ्नो क्षमताअनुसार संयुक्त कोष बनाएर नेपालमा लगानी गर्नुपर्ने बताए । आफ्नो नेतृत्वमा नेपालमा ठुलो आयोजनामा लगानी गर्न तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

‘मुलुकको सम्वृद्धिका लागि महत्त्वपूर्ण आयोजनामा लगानी गर्न अध्ययन अन्तिम चरणमा पुगेको छ । पाइपलाइनमा रहेका ती आयोजना छिटै सार्वजनिक गर्दैछौं’, उनले भने, ‘एनआरएन आइसीसी बैठकपछि लगानीसम्बन्धी बृहत् कार्यक्रम सार्वजनिक हुनेछ । त्यसपछि हामी योजनै सार्वजनिक गर्नेछौँ ।’ यी परियोजनामा सहभागी हुन उनले क्यानडबासी नेपालीलाई आह्वान गरे ।

अहिले नेपालको कूल अर्थतन्त्रको ३० प्रतिशत विदेशमा बस्ने नेपालीले धानेको दृष्टान्त प्रस्तुत गर्दै एनआरएनले चाहे जस्तासुकै योजना सम्पन्न गर्न सक्ने उनले दाबी गरे। नाफामूलक क्षेत्रहरू हाइड्रोपावर, बैङ्क, होटलमा लगानी गर्न उनको सल्लाह थियो ।

‘व्यक्ति धनी भएर खासै केही नहुने रहेनछ । गरिब देशको धनी नागरिक हुनुभन्दा धनी देशको गरिब जनाता हुनु ठिक छ’, उनले अनुभव सुनाउँदै भने, ‘विभिन्न देश घुम्ने क्रममा हामीले निकै कष्ट भोग्नु परेको छ। यो सञ्जालमार्फत् सम्वृद्ध नेपाल निर्माणका लागि क्षमता अनुसार लगानी गरौँ भन्ने मेरो अनुरोध छ ।’

लाप्राकमा सहयोग गर्न अनुरोध
उपाध्यक्ष पन्तले गैर आवासीय नेपाली सङ्घले गोरखाको लाप्राकमा निर्माण गरिरहेको ६१२ घर सहितको एकीकृत बस्ती निर्माण अभियानमा सहयोग गर्न क्यानडाको नेपाली समुदाय समक्ष आग्रह गरे ।

‘हामीले व्यक्ति व्यक्तिको घर मात्र निर्माण गरिरहेका होइनौं। पुरै बस्ती विकास गरिरहेका छौँ। त्यसमा विद्यालय तथा सामुदायिक स्वास्थ्य केन्द्रहरु समेत छन् ।’ महाभूकम्पको केन्द्रविन्दू लाप्राकस्थित गुम्सी डाँडामा ६२६ रोपनी क्षेत्रफलमा संस्थाले एकीकृत बस्ती निर्माण गरिरहेको जानकारी दिँदै उनले भने, ‘हामीले व्यक्ति व्यक्तिको घर मात्र निर्माण गरिरहेका होइनौं । पुरै बस्ती विकास गरिरहेका छौँ। त्यसमा विद्यालय तथा सामुदायिक स्वास्थ्य केन्द्रहरु समेत छन् ।’

राष्ट्र पुनःनिर्माणको यो अभियानमा सघाउने वचन दिएकाहरुलाई उनले तत्काल रकम हस्तान्तरण गरी सहयोग गर्न आग्रह गरे। ‘राष्ट्रसेवाको यो एउटा अवसर हो। आर्थिक सहयोग नगरेका साथीहरूलाई म लाप्राक गएरै सहयोग गर्नुहुन आग्रह गर्दछु’, उनले भने । 

सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनए युरोप क्षेत्रका संयोजक कुल आचार्यले गैर आवासीय नेपालीले नेपालमा लगानी गरिरहेका क्षेत्रबारे जानकारी दिएका छन्। होटेल र हाइड्रो गैर आवासीय नेपालीका लागि उच्च सम्भावनाको क्षेत्र भएको उनको भनाइ थियो ।

नेपालामा लगानी गर्न केही चुनौती भए पनि मातृभूमिका लागि योगदान गर्ने सही समय यही भएको उनले बताए। ‘लगानीका लागि नेपालमा केही अप्ठ्यारा होलान्। तर सानातिना कुरामा अल्झिनुभन्दा क्षमताअनुसार लगानी गर्नु बुद्धिमानी ठहर्नेछ’, उनले भने ।

कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, एनआरएनए अाइसीसी सल्लाहकार नवराज गुरुङ, नेपाली जन सम्पर्क समिति क्यानडाका अध्यक्ष बुद्धि ओली लगायतका सहभागी थिए । एनआरएन क्यनडाका अध्यक्ष तुलसी सापकोटा, कार्यक्रम संयोजक तुला भट्टचनले मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाली जन सम्पर्क समिति नेता दीपक भट्टराई सहितका व्यक्तित्वको सहभागिता थियो । सो कार्यक्रममा भूकम्प पीडितका लागि लाप्रांकमा बन्दैं गरेको घर निमार्णका लागि ९ हजार क्यानेडियन डलर जम्मा भएको थियो ।

यस अघि सङ्घको न्यु योर्क च्याप्टरका अध्य्क्ष तेम्बा शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, जनजाति महासङ्घका अध्य्क्ष लुइसाङ वाइबा, प्रवासी मन्चका अध्य्क्ष सञ्जय थापा, सङ्घका नागरिकता कार्यदलका सम्योजक खगेन्द्र जिसी लगायतका बक्ताहरुले सङ्घ सबै गैर आवासीय नेपालीको साझा संस्था बनाउन उपाध्य्क्ष पन्तलाई आग्र्ह गर्दै सङ्घको आगामी नेतृत्वका लागि उपाध्य्क्ष पन्तलाई आग्रिम शुभकामना दिएका थिए । 

प्रतिक्रिया