अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

जाँउ हैं कालिन्चोक ! हिउँ खेल्दै घुमफिर बर्ष मनाउन (यस्ता छन् पछिल्ला तस्विरहरु)

बिआरटीनेपाल २०७३ माघ ९ गते १९:४७ मा प्रकाशित

काठमाण्डौंबाट करिब ५ घण्टाको दुरिमा रहेको दोलखा जिल्ला यो बर्ष आन्तरिक पर्यटकले भरिभराउ भयो । अन्य बर्षको तुलनामा यो बर्ष दोलखा भ्रमण गर्ने पर्यटकहरुको संख्या करिब दोब्बर नैं रहेको र अझ भ्रमणकर्ताहरु बढिरहेको देखिन्छ ।

स्थानिय पर्यटन ब्यवसायी र अभियन्ताहरु दोलखामा बढ्दो पर्यटकीय चहल पहललाई देखेर उत्साहित छन् । घुमफिर बर्ष २०७३ ले नेपालीहरुमा घुम्ने संस्कृतिको बिकास गरेको छ जसको सकारात्मक प्रभाव दोलखा जिल्लाको पर्यटनमा पनि देखियो ।

दोलखा आफैंमा सुन्दर र पर्यटकीय आर्कषण भएको जिल्ला हो । यहाँ भिमसेन मन्दिर, कालिन्चोक भगवती मन्दिर, सुन्दर दृष्यावलोकन, गौरिशंकर लगायत अन्य हिमश्रृखंला अवस्थित छन् । हिजोका दिनमा दोलखा भिमसेन दर्शन गर्ने धार्मिक पर्यटकहरुको चहल पहल बढी भएपनि आजका दिनमा भने धार्मिक पर्यटनसँगैं दृष्याबलोकन गर्ने, साहसिक पर्यटनका गतिबिधि संचालन गर्ने, रमाउने पर्यटकहरु बढीरहेको भेटिन्छन् ।

यो बर्ष देशका हिमाली क्षेत्रहरुमा हिमपात भयो, दोलखा जिल्ला पनि अछुतो रहेन । काठमाण्डौंबाट नजिकैको दुरिमा रहेको दोलखा जिल्ला र अझ भनौं कालिञ्चोक क्षेत्रमा हिउ खेल्न कुदिहाले काठमाण्डौंबाट आन्तरिक पर्यटकहरु ।

काठमाण्डौबाट दोलखा जिल्ला सदरमुकामसम्म पिच बाटो भएपनी त्यहाँबाट कालिञ्चोक पुग्न करिब डेढ घण्टा कच्चिबाटो कुदनु पर्ने हुन्छ । कुरी सम्म गाडिमा पुगेपछि भने करिब १ घण्टा उकालो हिडनै पर्छ कालिञ्चोक भगवती मन्दिर पुग्न जुन ३८४२ मिटरमा अवस्थित छ ।
केहि समय अगाडि परेको हिउ कालिञ्चोक, कुरि क्षेत्रमा अझैं छ, आन्तरिक पर्यटकहरु कोहि जिप भाडामा लिएर, कोहि मोटरसाईकल र कोहि सोहि रुटमा चल्ने बसमा कालिञ्चोक कुद्दै छन् । हिउ र प्रकृतिसंग रमाउन, मन्दिर दर्शन गर्न, तस्विर खिच्न, सिनेमाको सुटिगं गर्न र घुमफिर बर्ष मनाउन ।

केहि दिन अगाडि मात्रै हामी पनि पुग्यौं कालिञ्चोक क्षेत्र स्थानिय पर्यटन अभियन्ता बैकुण्ठ नारायण प्रधानको निमन्त्रणामा नेपाल पर्यटन बोर्डका अधिकारी खड्ग बिक्रम शाह र म । आतिथ्यता र सर्भिसमा अझैं फड्को मार्न नसकेको दोलखाका होटेल ब्यवसायीहरु लगानी र सुबिधा सम्पन्न होटेल निर्माणमा भनें तिब्र रुपमा लागेको देखिन्छन् । कालिञ्चोकको फेदि कुरीमा मात्रै करिब ६० वटा होटेल सञ्चालनमा रहेको र अझ बढ्ने क्रममा रहेको अभियन्ता बैकुण्ठ प्रधानले जानकारी गराए ।

दोलखा जस्तैं खप्तड, रामारोशन, रारा आदि सुन्दर स्थानहरु पनि आन्तरिक पर्यटकहरुको पर्खाईमा छन् । तपाई पनि बनाउने होईन त योजना, घुमफिर बर्षमा नेपालका सुन्दर तथा भर्जिन ठाउँहरु घुम्ने ?

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू