अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 13:04

बालबालिकासँग लेखक कार्यक्रमको दोस्रो श्रृङ्खला सम्पन्न

बिआरटीनेपाल २०७३ माघ ९ गते २३:१७ मा प्रकाशित

जेभियर इन्टरनेसनल स्कुल बौद्धमा बालबालिकालाई लेखकसँग प्रत्यक्ष साक्षात्कार गराउने उद्देश्यसाथ आयोजित बालबालिकासँग लेखक कार्यक्रमको दोस्रो श्रृङ्खला सम्पन्न भयो । उक्त कार्यक्रममा बृहत् कवि गोष्ठिको आयोजना गरिएको थियो । कार्यक्रममा आयोजक जेभियर इन्टरनेसनल स्कुलसहित अन्य धेरै विद्यालयका विद्यार्थीहरूले कविता वाचन गरे ।

कविता वाचन गर्नेमा जेभियर इन्टरनेसनलका जस्टिना राउत, आयुष भट्राई, प्रतिष्ठा पौडेल, रुवी पन्त, शुरभी खतिवडा, नुमाँशा सुब्बा, संस्कार संग्रौला, निकिता पाण्डे, अनन्या विमली, कृष कुमार यादव, पृतक कार्की, स्यागी गुरुङ्ग, रुचि शाह, स्मृति रिजाल लगायतका विद्यार्थीहरू थिए । इष्ट पोल हाइयर सेकेन्डरी स्कुलका स्मारिका चौलागाईं र सदिक्षा नेपाल, एक्सलसियरका एन्थस खनाल र आर्जन खनाल, पायोनियर इन्टरनेसनल स्कुलका बविता सापकोटा र ऋचिमा मगार र अक्सिडेन्टल स्कुलका दीप लुईटेल थिए । विद्यार्थीहरूले कवितामा देशप्रेम, राष्ट्र, राष्ट्रियता, प्रकृतिको चित्रण तथा दैनिक जीवनका कारुणिक दृश्यहरुलाई विषयवस्तु बनाएका थिए ।

कक्षा एकमा पढ्ने निमेष शर्माले मायाको डोली चढाइ बोलको नारयण गोपालको गीत गाएर सबैलाई चकित पारेँ । बालकदेखि वृद्ध कविहरुको उपस्थितिले कार्यक्रममा आकर्षण थपेको थियो । कार्यक्रम बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जिवेन्द्र देव गिरीले साहित्यको विकास हुन पहिला बालबालिकालाई बुझाउन पर्ने सुझाव दिनु भयो । उक्त कार्यक्रममा वरिष्ठ कथाकार माया ठकुरी, प्राज्ञ उन्नति बोहारा शिला, बम बहादुर थापा जिताली, युवराज नयाँघरे, राधेश्याम लेकाली, भुवनहरि सिग्देल, रजनी ढकाल, गीता त्रिपाठी, ज्ञाननिष्ठ ज्ञवाली, बाबा बस्नेत, मणि लोहनी, ललिता दोषी, गङ्गा पौडेल, गोपीकृष्ण ढुङ्गाना, अकोश सवेदी, डब्बु क्षेत्री, शशी थापा पण्डित, दिनेश विक्रम ज्ञवाली, अनुपम रोशी, महेश क्षितिज, अन्जना पौडेल गीता रेग्मी, ममता नेपाल, सोझो गाउँले, र सुदेश सत्याल लगायतका कवि, कवयित्रीहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रममा कवि तथा समालोचक तर्कना शर्माको प्रयोगशालाको प्रयोग समालोचना कृतिको विमोचन गरिएको थियो । लोकार्पित कृतिमाथि बोल्दै समालोचक गीता त्रिपाठीले नेपाली साहित्यलाई पर्गेल्न उक्त कृति सक्षम रहेको बताउइन् । कृतिमा पूर्वीय र पाश्चात्य समालोचना सिद्धान्तका आधारमा विभिन्न विधाको समालोचना गरिएको छ ।

बालबालिकासँग लेखक कार्यक्रमको दोस्रो श्रृङ्खलाबाट बालबालिकासँग लेखक स्रष्टा सम्मानको पनि थालनी भएको छ । यस वर्ष उक्त सम्मानबाट तादी किनारको गीतका लागि महेश पौडेल र तृष्णा उपन्यासका लागि उन्नति बोहारा शिलालाई सम्मानित गरियो । विद्यालयले नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि यस कार्यक्रमलाई निरन्तरता दिने जेभियर इन्टरनेसनलका डाइरेक्टर लोकबादुर भण्डारीले बताए । सभापतिको आसनबाट बोल्दै कमल कृष्ण जोशीले देश विकास हुन साहित्य र साहित्यकारको सम्मान हुनु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू