अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३९ | Colorodo: 14:54

‘घडी काण्ड’सभासद खतिवडालाई बदनाम गराउने नियोजित षणयन्त्र भन्दै ओखलढुंगाका अमेरिकाबासी आक्रोशित

बिआरटीनेपाल २०७३ पुष २८ गते १०:०६ मा प्रकाशित

संविधान सभाका सदस्य माननीय रामहरी खतिवडाको नाम घडी काण्डमा जोडिएको घटना अझै सेलाएको छैन । स्वयम् खतिवडा र घडी धनी प्रवल गुरुङले समेत यस बारे आ-आफ्ना तर्फबाट सार्वजनिक जानकारी गराई सकेपछि पनि घडी चोरेको विषयमा सभासद खतिवडाको नाम जोडेर चर्चा गर्ने क्रम जारी नै छ ।

यो प्रकरण नितान्त व्यक्तिगत चरित्र हत्या गर्ने नियतले सभासद खतिवडालाई बदनाम गराउन नियोजित रुपमा आएको भन्दै अमेरिकामा रहेका खतिवडाका शुभेच्छुकहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

उनीहरुले भनेका छन्, ‘हामी दावीका साथ भन्न सक्छौं सभासद खतिवडा एउटा घडी चोर्नुपर्ने हैसियतको व्यक्ति होइन । निरन्तर देश र जनताको सेवामा लागिरहने एक निष्ठाबान युवा नेताले घडी चोरेको भन्ने कथित र घृणित काम गर्न सक्दैन ।]

 

अमेरिकामा विभिन्न क्षेत्रमा रहेका सभासद विधायकका शुभेच्छुकहरुले खतिवडाको पक्षमा जारी गरेको विज्ञप्ति यस्तो छ:

मिति: जनवरी १२, २०१७

ओखलढुंगाबाट निर्वाचित माननीय एवं नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाका बारे सामाजिक संजाल र विभिन्न अनलाईनमा प्रकाशित भै रहेका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

माननीय खतिवडालाई हामी लामो समयदेखि निकै नजिकबाट चिन्छौं र उनको निजी एवं पारिवारिक जीवनका बारे पनि हामी राम्रोसँग परिचित छौं । निरन्तर देश र जनताको सेवामा लागिरहने एक निष्ठाबान युवा नेताले घडी चोरेको भन्ने कथित र घृणित काम गर्न सक्दैन । हामी सार्वजनिक रुपमा नै दावीका साथ भन्न सक्छौं माननीय खतिवडा एउटा घडी चोर्नुपर्ने हैसियतको व्यक्ति होइन । यस बारे माननीय स्वयमले समेत पत्रकार सम्मेलन गरी प्रष्ट पारिसक्नु नै भएको छ । साथै घडी धनी प्रवल गुरुङले समेत यस बारे विज्ञप्ति जारी गरेर प्रष्ट पारिसक्नु भएको छ ।

युवा सभासद मध्ये व्यवस्थापिका संसदमा निरन्तर क्रियाशील र जिल्लाको विकास एवं सम्मानजनक प्रतिनिधित्वका लागि गर्व गर्न लायक हैसियत बनाईसकेका माननीय खतिवडाको बढ्दो लोकप्रियतालाई बदनाम गराउने र निजको चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित रुपमा यस्तो अफवाह फैलाइएको हुनसक्ने हाम्रो निष्कर्ष छ । हरेक व्यक्तिको स्वाभिमान हुन्छ । प्रत्येक घटनाको न्यायोचित छानबिन गरी त्यसको प्रमाणको आधारमा कसैलाई दोषी ठहर गर्ने प्रक्रिया हुन्छ । हामी जसले यो हर्कत गरेको हो त्यसको सत्य,तथ्य बुझी दोषीलाई कारवाही हुनुपर्छ भन्ने माग गर्दछौं । तर विना प्रमाण कोही कसैलाई पनि बदनाम गराउने नियतले यस्तो अफवाह नफैलाउनु हुन सबैलाई अनुरोध गर्दछौं । साथै माननीय रामहरी खतिवडाको सार्वजनिक व्यक्तित्वमा आँच पुग्ने गरी भएको प्रचारवाजीको हामी भर्त्सना गर्दछौं 

हामी माननीय खतिवडालाई यस्ता अफवाहका कारण कति पनि हतोत्साहित र विचलित नभई देश र जनताका निम्ति निरन्तर क्रियाशील भैरहन अनुरोध समेत गर्दछौं ।

 

गृह जिल्ला ओखलढुंगा भै हाल अमेरिकामा रहंदै आएका खतिवडाका समर्थक तथा शुभचिन्तक तर्फबाट
१. राजा घले, पर्यटन दूत एवं समाजसेवी (हाल: एटलान्टा,जर्जिया)

२. अशोक गुरुङ, पूर्व महासचिव, रुम्जाटार गुरुङ सेवा समिति एवं पूर्व सभापति, नेपाली जनसम्पर्क समिति,सियाटल (हाल: न्यूयोर्क,अमेरिका)

३. आङ्गकामी शेर्पा,संस्थापक अध्यक्ष, प्रवासी नेपाली एकता समाज अमेरिका (हाल: न्यूयोर्क,अमेरिका)

४. गम्बु शेर्पा, गायक एवं पूर्व अध्यक्ष नेपाल अमेरिका कलाकार संघ (हाल: न्यूयोर्क,अमेरिका)

५. यादव दाहाल, पूर्व महासचिव, राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ,नेपाल (हाल: क्यालिफोर्निया,अमेरिका)

६. दिनेश पोखरेल, पूर्व वरिष्ठ उपाध्यक्ष, नेप्लिज एशोसियसन अफ नर्दर्न क्यालिफोर्निया,अमेरिका (हाल: सन् फ्रान्सिस्को,अमेरिका)

७. हरिप्रिया ढुंगेल, सचिव,नेपाली जनसम्पर्क समिति,अमेरिका म्यासाचुसेट्स च्याप्टर (हाल:बोष्टन,अमेरिका)

८. गौतम दाहाल, पूर्व अध्यक्ष,नेपाल अमेरिका पत्रकार संघ एवं केन्द्रीय सदस्य,नेपाली जनसम्पर्क समिति,अमेरिका (हाल: बाल्टिमोर,अमेरिका)

 

 

 

घडी धनी प्रवल गुरुङले जारी गरेको प्रेश बिज्ञप्ती 

प्रेस विज्ञप्ति
मितिः २०७३/०९/२८

२०७३ साल पुस २० गते काठमाण्डौको लाजिम्पाटस्थित होटल र्‍याडिशनको हेल्थ क्लबबाट हराएको मेरो घडीका बारेमा विभिन्न अफवाह फैलिएपछि केही भन्नैपर्ने आवश्यकता महसुस गरेर यो विज्ञप्ति जारी गरेको छु ।

मेरो बुबा छत्रमानसिंह गुरुङलाई २०६६ माघ २७ गते सम्धी भेटका क्रममा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट उक्त घडी प्रधानसेनापति निवास शशीभवनमा दिनुभएको थियो । त्यसयता उक्त रोलेक्स घडी मैले लगाउँदै आएको थिएँ । घडी हराएको सम्बन्धमा जानकारी गराई म कामको सिलसिलामा भोलिपल्टै भारतको मुम्बई गएँ । नेपाल फर्केर आउँदासम्म घडी हराएको प्रसंगमा विभिन्न सञ्चार माध्यमहरुमा अफवाह फैलिएको पाएँ ।

त्यसदिन क्लबको चेन्जिङ रुममा नेपाली काँग्रेसका ओखलढुंगा-२ का सांसद तथा युवा नेता माननीय रामहरि खतिवडाज्यूले राखेको ट्रयाकसुटको गोजीमा पर्न गएको मेरो घडीबारे जानकारी प्राप्त हुनासाथ उहाँले मेरा मित्र सिमान्त गुरुङलाई एसएमएस र टेलिफोनमार्फत खबर गर्नुभएको रहेछ । उक्त विषयमा सिमान्तले मलाई बम्बइमै रहेका बेला फोनबाट अवगत गराइसकेका थिए । तर, हालै घडी हराएको प्रसंगमा माननीय रामहरि खतिवडाज्यूको नाम जोडिएकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसबाट पर्न गएको भ्रम कसैमा नरहोस् । साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगका लागि सबैमा सादर अनुरोध गर्दछु ।

प्रबलमानसिंह गुरुङ
काठमाडौं

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू