अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

अमेरिका छिर्न खोज्ने २५ नेपाली देशनिकाला

बिआरटीनेपाल २०७३ पुष २७ गते १०:२८ मा प्रकाशित

अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले एक रिपोर्ट सार्वजनिक गर्दै अमेरिकाबाट २५ जना नेपालीहरूलाई अमेरिकाबाट देशनिकाला गरिएको जनाएको छ । उनीहरुमध्ये प्राय मेक्सिकोबाट गैर कानुनी रूपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएकाहरु हुन् । उनीहरू आर्थिक वर्ष २०१६ को अवधि अमेरिकाबाट देशनिकालामा परेकाहरु हुन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुसार कुनै उन्मुक्तिबिना अमेरिकाबाट देशनिकाला हुने नेपालीहरू प्रायसबै गैरकानुनी रूपमा अमेरिका छिर्ने क्रममा सिमाक्षेत्रमा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) अधिकारीहरुसँगको जम्काभेटमा समातिएकाहरु हुन् ।

यस अघि सन् २०१५ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले २३ जना नेपालीहरूलाई अमेरिकाबाट देशनिकाला गरेको थियो । उनीहरू मध्ये प्राय मेक्सिकोको बाटो हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा ठुलो सङ्ख्यामा पक्राउ परेकाहरु नै थिए । उनीहरूलाई अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले पक्राउपछि केहीसमय जेलमा राखेर नेपाल फिर्ता पठाएको हो ।

कस्ता व्यक्ति अमेरिकाबाट देशनिकालामा परे ? के गरे देशनिकालाबाट बच्न सकिन्छ ? यसबारे न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीसँगको विशेष कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोला ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको रिपोर्ट अनुसार सन् २०१६ मा मा अमेरिकी सरकारले विश्वभरका २ लाख ४० हजार २ सय ५५ जनालाई अमेरिकाबाट देशनिकाला गरेर फिर्ता पठाएको छ । जसमध्ये ६५ हजार ३३२ जना आइसका अधिकारीहरुले अमेरिकाभित्र गिरफ्तार गरेकाहरु हुन् । तीमध्ये ६० हजार ३ सय १८ जना अपराधीहरु हुन् । त्यस्तै आइसका अधिकारीहरुले १ लाख ७४ हजार ९२३ जनालाई सिमाक्षेत्रमा पक्राउ गरेर डिपोर्ट गरेका छन् ।

यसअघि सन् २०१५ मा २ लाख ३५ हजार ४ सय १३ जनालाई युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले मात्र अमेरिकाबाट देशनिकाला गरेर फिर्ता पठाएको थियो, जसमध्ये ९० हजार १ सय ३ जना सीमा क्षेत्रबाट गैरकानुनी रूपमा अमेरिका छिर्ने तर कुनै अपराधमा संलग्न नहुनेहरु थिए भने ५ हजार ९ सय ४२ जना गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएकाहरु थिए । बाँकी १ लाख ३९ हजार ३ सय ६८ जना गैरकानुनी रूपमा अमेरिका छिर्ने आपराधिक पृष्ठभूमि भएकाहरु थिए ।

आर्थिक वर्ष २०१६ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले विश्वका १ सय ८५ देशका व्यक्तिलाई अमेरिकाबाट देशनिकाला गरेको छ । अमेरिकाबाट देशनिकालामा पर्नेमा नेपालीहरू ६६ औँ नम्बरमा छन् । गतबर्ष युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले विश्वका १ सय ८१ देशका व्यक्तिलाई अमेरिकाबाट देशनिकाला गर्दा नेपालीहरू ७४ औँ नम्बरमा रहेका थिए ।

गत वर्षको तुलनामा यो वर्ष धेरै नेपालीहरू आइसमार्फत डिपोर्टेशनमा परेका छन् । नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरूका लागि टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्रदान गर्ने घोषणा गरेपछि गतबर्ष कैयन नेपालीहरू देशनिकाला हुनबाट बचेका थिए । तर सन् २०१५ को जुन २४ भन्दा पछि पक्राउ परेकाहरुलाई भने टीपीएसले बचाउन सकेन । खसोखासबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू