अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

माइती नेपालद्वारा एक वर्षमा १३६ को उद्धार

बिआरटीनेपाल २०७३ पुष २६ गते २३:०१ मा प्रकाशित

रत्ननगर (चितवन), पुस २७ गते । जोखिममा परेका र बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा चितवनबाट एकसय ३६ जनाको उद्धार भएको छ । माइती नेपालमार्फत गएको एक वर्षमा यसरी चितवनबाट एकसय ३६ जना चेलीको उद्धार गरिएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिनुभयो । तीमध्ये बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा एकसय दुई जनालाई विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो भने ३४ जना जोखिममा परेकालाई उद्धार गरिएको हो ।

केहीलाई भारतबाट समेत फर्काउन सफल भएको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले जानकारी दिनुभयो । जिल्लामा अहिले माइती नेपालले सक्रिय कार्यक्रम नै सञ्चालन गरेर अभियान चलाएको छ । विभिन्न सचेतना कार्यक्रम तथा सडकमै सूचना केन्द्र स्थापना गरेर गाडीमा चेक गर्ने अनि शङ्कास्पद लागेकालाई सोधखोज गर्दा यसरी चेली फेला पर्ने गरेका छन् ।

दवाडीका अनुसार जिल्लामा गएको एकवर्षमा मुद्दा दर्ता भने न्यून छ । जम्मा ६ जनाविरुद्ध मात्रै मुद्दा दर्ता भएको जनाइएको छ । उद्धार गरिएका खुलेर नबोल्ने, कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुने, अभिभावक संवेदनशील नहुने लगायत समस्या रहेको दवाडीको भनाइ छ ।

जिल्लामा गएको एक वर्षमा जबर्जस्ती करणी, घरेलु हिंसा लगायतका ४१ घटना भएको र एकसय तीनजना हराएकामा ७८ जना फेला परेको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत दवाडीको भनाइ छ ।

यस्तै, मकवानपुरमा ११ चेलीको उद्धार गरेकोमा पाँचवटा घटनामा मुद्दा दर्ता भएको जनाइएको छ । ७४ जना हराएकामा २९ जना फेला परेको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । उता पर्सामा १६ जनाको उद्धार भएकामा पाँच घटनाविरुद्ध मुद्दा दर्ता भएको र ८३ जना हराएकामा ३२ जना फेला परेको माइती नेपाल क्षेत्रीय कार्यालय चितवनले जनाएको छ ।

चितवनबाट उद्धार गरिएकामा गोरखा, धादिङ, लमजुङ, नुवाकोटलगायत जिल्लाका चेली बढी छन् । उनीहरूलाई चितवन हुँदै भारत लैजान चितवनलाई ट्रान्जिट बनाउने गरेको पाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू