अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

पूर्व अधिराजकुमारी प्रेरणाले मुद्धा हारिन्-सर्वोच्चद्वारा प्रेरणाको जग्गा सरकारी भएको फैसला

बिआरटीनेपाल २०७३ पुष २१ गते ५:१२ मा प्रकाशित

सर्वोच्च अदालतले पूर्व अधिराजकुमारी प्रेरणा शाहको दाइजो दाबी गरिएको जग्गा सरकारी भएको फैसला सुनाएको छ । यसअघि पूर्वप्रधानन्यायाधशी रामकुमार प्रसाद साह र चोलेन्द्र शम्शेर राणाको इजलाशले नेपाल ट्रस्टको नाममा आएको जग्गा दाइजो भएको फैसला सुनाएकोमा आज प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश द्वय सपना प्रधान मल्ल र दीपकुमार कार्कीको इजलाशले यसअघि गरेको फैसला उल्टाउँदै दाइजो दाबी गरिएको जग्गा सरकारी भएको फैसला सुनाएको हो ।

२०५९ माघ १० गते राजबहादुर सिंहसँग बिबाह गरेकी पूर्व अधिराजकुमारी प्रेरणा शाहले आफ्ना बाबु तत्कालीन राजा ज्ञानेन्द्र शाहले दाइजो बकस दिएको घरजग्गा जबरजस्ती सरकारी ट्रस्टमा राखिएको भन्दै न्यायका लागि सर्वोच्च अदालत पुगेकी थिईन् । विवाहमा दिएको दाइजोमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी प्रेरणाको रहेको छ ।

कित्ता नम्बर २५ को उक्त घरजग्गा काठमाडौं महानगरपालिका-१३ छाउनीमा छ। अर्बौं रुपैयाँ पर्ने उक्त घरजग्गाको क्षेत्रफल ०७६६४.६० वर्गमिटर छ।

सरकारले नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरूप उक्त जग्गा सरकारी भएको बताएपनि आफ्नो विवाह हुँदा र दाइजो लिँदा तत्काल जारी रहेको नेपाल अधिराज्यको संविधान २०४७ को धारा ३० र ३१ अनुसार दाइजो बकसपत्र सम्बन्धमा कुनै प्रश्न उठाउन नपाइने र अन्तरिम संविधान र अध्यादेश लागू हुनुअघि नै आफ्नो हकभोग स्थापित भइसकेकोले आफु अन्यायमा परेको प्रेरणाको दाबी छ ।

सर्वोच्चको आदेशपछि प्रेरणाले दाइजो भनेर गरेको दाबी गैरकानुनी सावित भएको छ । अब उक्त जग्गा सरकारी हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू