अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

अमेरिकामा सन् २०१६ का चर्चित नेपाली

बिआरटीनेपाल २०७३ पुष १७ गते १३:४८ मा प्रकाशित

गत दुई वर्ष देखी अमेरिकाबाट सन्चालित अनलाइन पत्रिका बिआरटी नेपाल डट कमले अमेरिकामा रहेका दस चर्चित तथा सफल व्यक्तिहरूलाई पाठक समक्ष पेस गर्दै आएकोमा यो वर्ष अर्थात् २०१६ को तेस्रो संस्करणका लागि पनि १० जना व्यक्तिलाई पाठक सामु ल्याएका छौँ । शिक्षा रोजगारी लगायतका सिलसिलामा अमेरिकालाई कर्म क्षेत्र बनाएर बसेका नेपालीहरू जो प्रवासमा रहेर पनि विभिन्न क्षेत्रसँग आवद्ध रहेर सफल उदाहरण बनेका छन् ती व्यक्तिहरूलाई गत ३ वर्ष देखी हामीले उनीहरूको योगदानको मूल्याङ्कन गर्दै पाठकसामु ल्याएका हौँ ।

अमेरिका सबै नेपालीको सपनाको सहर जस्तै भई रहेको वर्तमान अवस्थामा अमेरिकामा रहेर पनि व्यापार देखि स्थानीय राजनीतिसम्म नेपाली भाषी अमेरिकनहरु सक्रिय रहंदै आएका छन् । कर्मका हिसाबले अमेरिकन नागरिक बन्न पुगेपनि यहाँ बसोबास गर्ने नेपालीहरुमा नेपालप्रति आदरभाव नेपालीप्रती सहयोगी भावना सधैँ पाईदैं आएको छ । भौगोलिक रूपमा जो जहाँ रहेपनि हामी बिच भातृत्व भाव सधैँ मजबुत छ । त्यसैले पनि एक नेपालीले गरेको सफलताले अर्को नेपालीलाई प्रत्यक्ष या अप्रत्यक्ष रूपमा खुसी र प्रेरणा मिल्ने गर्दछ । यही कुरालाई ध्यानमा राखेर विभिन्न क्षेत्रमा पहिचान बनाइरहेका नेपाली अमेरिकनलाई अघि बढ्न अझ प्रेरणा मिलोस भनेर बीआरटी नेपालले यस वर्ष २०१६ मा पनि दस चर्चित अमेरिकन नेपालीको सुची बनाउने जमर्को गरेको हो ।

यस पटक पनि चर्चित नेपाली छान्ने क्रममा बीआरटी नेपालले थुप्रै नामहरुलाई सुचीवद्ध गरेको थियो । सुचीवद्ध नामहरुलाई केही विज्ञहरुको परामर्श सहित अन्तिम दश नाम तयार गरिएको हो । हामीले चर्चित १० नाम छनौट गर्दा आफ्नो पेशागत वा पारिवारिक स्वार्थ भन्दा अघि बढेर नेपाली वा अमेरिकी समाजसंग जोडिएकालाई प्रथामिकता दियौं । वैज्ञानिक, इन्जिनियर, वकिल, प्रध्यापक लगायत थुप्रै क्षेत्रका दक्ष नेपाली हाम्रो प्रारम्भिक सुचीमा परेका थिए । तर, पेशागत रूपमा दक्षलाई मात्र सुचीको प्रथामिकतामा राखिएन । कुनै क्षेत्रमा दक्षता वा विज्ञता हुनुलाई पक्कै पनि अतिनै राम्रो हो यसलाई हामी सम्मान गर्छौ । तर, व्यावसायिक वा पेशागत घेरा नाघेर अघि आउने अमेरिकी नेपालीलाई हामीले प्रथामिकतामा राखेका छौ । हामीले छानेका नाममा हाम्रा विज्ञहरुमा फरक विचार नभएको होइन । समाजका अगुवा भन्नेहरुले भाषण तथा खादा ओडेर सामाजिक सन्जालमा फोटो राख्ने काम मात्र गरेका छन् साथै राजनीतिमा लागेर समाजका लागि केही कामपनि गरेका छैनन् भन्ने तर्क पनि उठेको थियो । यो केही हदसम्म सही पनि हो । तर, समाजसंग जोडिएपछि सधैँ भाषण गरेर मात्र पुग्छ भन्ने मान्यता गलत हो ।

समाजसंग जोडिएका व्यक्तिलाई केही गरेर देखाउन दबाब पनि उत्तिकै हुन्छ । यो सुचीमा पर्ने अरू नामहरू पनि हरेकले समाजमा गरेको कामका आधारमा तयार पारिएको हो । अमेरिका भरी बस्ने प्रशंसनीय कार्य गरेका नेपाली आदरणीय ब्यक्तित्वहरुको खोजी गर्नु निश्चित रूपमा सजिलो काम होइन । यो हाम्रो तेस्रो प्रयास भएकाले थप जोखिम पनि हो । यो जोखिम हामीले उठाएका छौँ । यो प्रयास हामी प्रत्येक वर्ष उठाउदै जानेछौ । यसमा विज्ञ पाठकहरुको रचनात्मक सल्लाह सुझावको पनि अपेक्षा गर्दछौँ । अमेरिकामा रहेका नेपालीहरु जो आफ्नो कामको कारणले चर्चित रहे ।

१. डा. अर्जुन कार्की (वासिङ्टन डि सि ) 
नेपालको सङ्खुवासभा जिल्ला घर भई हाल नेपालको लागि अमेरिकाको राजदूतको रूपमा कार्यरत डा अर्जुन कार्की कोलम्बिया, कोस्टारिका, ग्वाटेमाला, होण्डुरस, निकारागुवा, मेक्सिको र गुयनाको समेत राजदूत हुनुहुन्छ । मे २०१५ मा अमेरिकाको राजदूतको कार्यभार लिए पश्चात् अमेरिकामा रहेका नेपालीहरूका समस्यालाई समाधान गर्न क्रियाशील रहनु भएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट वि.एस सी, म्यानचेस्टर विश्वविद्यालयबाट मास्टर्स्, ब्राड्फोर्ड विश्वविद्यालयबाट पोस्ट ग्राजुयेट र ईष्ट एन्जिला विश्वविद्यालयबाट पी.एच.डी. गर्नु भएको छ ।

नेपालमा भएको १९९० को प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका डा कार्की लामो समय आर आर एन को अध्यक्ष र एल.डी.सी. वाचको संयोजकको रूपमा जिम्मेवारी बहन गर्नु भएको थियो । उहाँले लामो समय देखि गैर सरकारी संस्था मार्फत सामाजिक परिचालन र देश विकासमा टेवा पुर्याउदै आउनु भएको छ । माओवादी द्वन्दकालमा समेत गैर सरकारी संस्था महासङ्घको अध्यक्षको हैसियतले द्वन्द व्यवस्थापनको लागि ठुलो भूमिका निभाउनु भएको थियो ।

डा. कार्कीको पहलमा अमेरिकाले नेपाली बस्तुहरुमा भन्सार छुट दिने सुविधा समेत प्रदान गरेको छ । यस सुविधाको प्राप्ति पश्चात् नेपालमा मरनोशान्न अवस्थामा पुगेको गार्मेन्ट व्यवसायले पुनर्जीवन प्राप्त गरी देशमा रोजगारीको अवस्था श्रीजना हुनुका साथै वैदेशिक व्यापार समेत बढ्ने अवस्था आउने देखिन्छ । गत वर्ष नेपालमा विनाशकारी भूकम्प गएको अवस्थामा अमेरिकामा रहेका नेपालीहरूको सङ्घ संस्थासँग समन्वय गर्दै राहत सङ्कलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

२. डा. अम्बिका अधिकारी (एरिजोना )
एरिजोनाको फिनिक्समा बस्दै आउनु भएका डा. अम्बिका अधिकारी नेपाली अमेरिकी समुदाय लगायत अन्य भागमा रहेका प्रवासी नेपाली समुदायमा समेत चिर परिचित अनुहार हो । डा. अधिकारीले प्रवासमा रहेका नेपाली हुन वा नेपालमा आफ्नो बिद्वताबाट सबैलाई हरदम सेवा र सहयोग पुर्‍याउनु भएको छ । उहा एरिजोनाको टेम्पे सहरको मुख्य प्लानर, बिशिष्ठ दिगोपना वैज्ञानिक, एरिजोना स्टेट विश्वविद्यालयमा कार्यक्रम अधिकृत, फिनिक्स सहर र साल्ट लेक ईन्डियन समुदायको सिटी प्लानर, DPRA मा पाँच वर्ष भन्दा बढी कार्यक्रम अधिकृत भएर काम गर्नुका साथै IUCN को १९९७ देखी २००० सम्म नेपालको प्रमुख भएर कार्य गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालय मा प्राध्यापन गरी सेवा प्रदान गर्नु भएका अधिकारीले MIT बाट पोस्ट ग्राजुयेट, हवाइ विश्वविद्यालयबाट मास्टर्स् र १९९० मा हार्बड विश्वविद्यालयबाट शहरी विकाश सम्बन्धी Ph.D. गर्नु भएको छ । उहाँले स्वय एक पुस्तक लेख्नु भएको छ भने पाँच कृतिहरुको संयुक्तरुपमा सम्पादन गर्नु भएको छ । अन्तरराष्ट्रिय जर्नलहरुमा उहाका धेरै प्राविधिक प्रतिवेदन, लेख रचनाहरू प्रकाशित भएका छन् ।

हाल एनआरएनएको अनुशासन समितिको अध्यक्ष र एएनए को बोर्ड अफ ट्रस्टीको रुप्मा रहनु भएका अधिकारी एनआरएनए को पूर्व सल्लाहाकार तथा संरक्षक हुनुहुन्थ्यो । एक पटकको नेपाली सधैको नेपाली भन्ने नारालाई लिएर एनआरएनलाई अगाडी बढाउने अगुवा मध्येका एक डा. अधिकारी सोही संस्थाको अमेरिका र क्यानडा हेर्ने क्षेत्रीय संस्थाको रूपमा रहेको नेपाली अमेरिकी काउन्सिलको पूर्व अध्यक्ष समेत भईसक्नु भएकोछ । अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा पुरानो संस्था एएनए लगायत अन्य नेपाली सङ्घ संस्थामा समेत नेतृत्वदायी भूमिकामा रही काम गर्दै नेपाली समुदायमा हरदम सेवा पुरयाईरहनु भएको छ ।

३. विष्णु माया परियार (न्युयोर्क ) 
गोरखा जिल्लाको ताक्लुङ गाविसको एउटा दलित परिवारमा जन्मिएकी बिष्णुमाया परियार जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बबन्नु भएको छ  । घरेलु हिंसामा परेका महिलाहरूको अधिकार, दलितहरुको अधिकार र सामाजिक न्याय तथा मानव अधिकारको प्रर्याय बन्नु भएकी डा. परियार अमेरिकामा रहेको नेपाली समुदाय मात्र होइन अमेरिकनहरुले समेत चिन्ने नाम हो । आफैले नेपालमा सन् १९९६ मा स्थापना गरेको सामाजिक संस्था “एड्वन” (Associaition of Dalit Women’s Advancement of Nepal-ADWAN) मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य विपन्न समुदायका महिलाहरूको उत्थानार्थ गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै उक्त कलेजले उक्त बिद्यावारीधी प्रदान गरेको हो ।

‘डाक्टर अफ लेटर्स’ (D.Litt.) डिग्री बेलायत (यूके), अस्ट्रेलिया र इन्डियामा ‘डाक्टर अफ फिलोसोफी’ (Ph.D.) भन्दा माथिल्लो तहको उपाधि मानिन्छ। अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०२ वर्ष अगाडी स्थापित ख्याती कमाएको उक्त विश्वविद्यालयमा दक्षिण एसियाली देशबाट पहिलो पटक उक्त मानार्थ डी.लिट. (D.Litt.) पदवी पाउने समाजसेवी परियार पहिलो नेपाली हुनुहुन्छ । समाजसेवी परियारले उक्त मानार्थ डी.लिट. पदवी पाउने अमेरिकामा पहिलो नेपाली महिला बन्ने सौभाग्य पनि पाउनु भएको छ । संस्थापक समाजसेवी बिष्णुमाया परियारद्वारा सञ्चालित संस्था “एड्वन” ले अहिलेसम्म 15,000 हजार भन्दा बेशी नेपालका दलित, गरिब, सिमान्तकृत बालबालिका उत्थानकालागि विद्यालय स्थापना र छात्रबृद्दी मार्फत शिक्षा दिलाउन सफल भएको छ । डा. विष्णुमायालाई नेपाली कम्युनिटीका अधिकांश संस्थाले विभिन्न अवार्डबाट सम्मान गरेका छन् । उहासँग सामाजिक न्यायका क्षेत्रमा कार्य गरेवापत ४० वटा भन्दा बढी अवार्डहरु छन् ।

सामान्य परिवारमा जन्मिएर जीवनको आरोह अवरोह छिचोल्दै यो उचाइमा पुग्नु भएकी डा. विष्णुमाया परियारको सम्मानमा अमेरिकाको केन्टकीको लुईभिल सहरले ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरेको छ । त्यहाँको स्थानीय सरकारले हरेक वर्ष सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ को रूपमा मनाउने घोषणा गरेको हो । उहाले नेपाल र अमेरिकामा सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको सम्मान स्वरूप स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।

उहाँले गत वर्ष गएको महाबिनासकारी भूकम्पमा आकास्मिक रिलिफको लागि करिब २७०० जनालाई उहाँको संस्ठा मार्फत वितरण गरेको तथा १५३ परिवारलाई सेल्टर, १४९ परिवारलाई टेम्पोररी सेल्टर तथा ४०० परिवारलाई स्मोक फ्री स्टोभ वितरण गर्नु भएको थियो भने उहाँको सामाजिक संस्था मार्फत विभिन्न सामाजिक कार्य गरी रहनु भएको छ ।

४. डा. श्याम कार्की (बाल्टीमोर, म्यारिल्याण्ड )
काठमाण्डौंमा जन्मिएर अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा झन्डै चार दशक देखि बस्दै आउनु भएका समाज सेवी डा. श्याम कार्कीले न्युयोर्कको युनिभर्सिटी अफ बफेल्लोबाट बिद्याबारिधी (पी ईच डी) प्राप्त गर्नु भएको छ । उहा पागल तथा बुढा बुढीको औषधीको बिशेषज्ञ हुनुहुन्छ । यस सम्बन्धमा उहा अमेरिकाकै १० जना महत्त्वपूर्ण बिशेषज्ञ मध्येमा गनिनु हुन्छ । हाल उहा हार्भड र बाल्टिमोर युनीभर्सिटीको असोसिएट प्रोफेसर पनि हुनुहुन्छ ।

डा. कार्की गैर आवासीय नेपाली सङ्घका प्रथम संस्थापक उपाध्यक्ष, अनेसास बोर्ड अफ ट्रस्टीजका सभापति, एनएएनका पूर्व अध्यक्ष, नेपाल शिक्षा तथा सामुदायिक केन्द्रका बोर्ड अफ ट्रस्टीजका सभापति हुनुहुन्थ्यो । साथै उहाँले एनआरएन को पहलमा देबघाट बृद्दाश्रमको सुरुवात तथा सिकागो म्याराथोन २००३ मा पहिलो नेपाली धावकको रूपमा सहभागी हुनु भएको थियो ।

समाज सेवी डा. श्याम कार्कीलाई २०१६ को मे महिनामा म्यारिल्याण्ड राज्यका लागि दक्षिण पूर्वी एसियन अमेरिकन मामला (South East Asian American Affairs) सम्बधि हेर्नको लागि गभर्नर कमिसनमा नियुक्त गरेको छ ।

५. जोली अमात्य (न्युयोर्क) 
नेपाल पाटन घर भई हाल अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी पिता जगदिसमान अमात्य र माता कृष्ण अमात्यकि पुत्री जोली अमात्यले सयुक्त राष्ट्र सङ्घको युवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति पायर सयुक्त राष्ट्र सङ्घको इतिहास मै उक्त पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली मूलकी भई नेपाल र नेपालीको शिर उच्च बनाउन सफल हुनु भएको छ । सन् २०१३ देखि नै नेपालको प्रतिनिधित्व गर्दै २०१५ मा सह-अध्यक्ष हुँदै छोटो समयमा नै अध्यक्षको रूपमा नियुक्ति पाय पश्चात् ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा युवाहरूको नेतृत्व गरिरहनु भएको छ । उहाँको नेतृत्वमा फेब्रुवरी १- ३, २०१७ मा सयुक्त राष्ट्र सङ्घको मुख्यालयमा फ्रेन्ड्शिप एम्बेसडर फाउण्डेशनले अन्तरराष्ट्रिय श्रम सङ्गठन, सयुक्त राष्ट्रसङ्घिय वातावरणिय कार्यक्रम र युनेस्कोको पार्टनरसिपमा युवा सम्मेलनको आयोजना गर्न गइरहेको छ ।

काठमाडौँ सेन्ट मेरिज उच्च माध्यमिक हुँदै अमेरिकाको सिओई (COE) कलेज आयोवाबाट वित्त, लेखा तथा अर्थशास्त्र संकाय पश्च्यात बोस्टन स्थित हार्वर्ड विश्व विद्यालयबाट अन्तरराष्ट्रिय व्यापार/वित्त र अडितिङमा अध्ययन गर्नु भएको छ । सयुक्त राष्ट्र सङ्घ अन्तर्गत युएन महिला ,वर्ल्ड बैङ्क ,हेबीटेट फर हुमानीटि, एक्सन एड नेपाल, युएस नेसनल कमिटि फर वुमेनको कार्यकारी अर्थ समिति तथा व्हाइट हाउसको एएपी आइ युथ फोरम तथा एसियन अमेरिकन प्यासिफिक आई ल्यानडर्समा काम गरेको अनुभव छ । नेपालका युवाहरुमा अद्भुत सम्भावना रहेको र अवसर, सही निर्देशन तथा परामर्श दिएमा युवा शक्तिको परिचालनबाट राष्ट्रको मुहार फेर्न सकिने हुँदा उहा आफ्नो स्थानबाट नेपाल र अमेरिकामा यस तर्फ क्रियाशील हुनुहुन्छ ।

६. उज्वल ठकुरी (भर्जिनिया) 
अमेरिकन मरिन गोजुका बिलक्षण प्रतिभा बन्न सफल एक प्रशिक्षार्थीको नाम हो उज्जल ठकुरी । ह्वाईट बेल्टबाट खेल्न सुरु गरेका ठकुरी २ डांन सम्म आईपुग्दा अमेरिकाका प्रतिस्पर्धामा १३ वटा सम्म स्वर्ण पदक जिती सक्नु भएको छ । ब्लु बेल्टबाट खेल्दा Breath Of Nature, Age 40-45 Point Fight Harrisburg, PA Gold Cup 2015, पेन्सिल्भेनियाबाट पहिलो स्वर्ण पदक विजयी ठकुरीले मेरिल्याण्ड मात्र नभएर अमेरिकाको अन्य राज्यहरूबाट पनि स्वर्ण पदक जित्न सफल हुनु भएको छ । उहाँले अहिले सम्म अमेरिकामा जितेका पदकहरु यस प्रकार छन् ।

1. Battle of Baltimore World Title Belt Open Breaking Essex, Maryland World title belt 2016
2. World Cup Final, Age 40-45 point fight Reston, Virginia, MD, USA Gold Cup 2016
3. American Marine Goju Dan Black Belt Test Fight Springfield, Virginia Trophy with 2 Dan 2016
4. Maryland Victor Cup Open Breaking Maryland Gold Cup 2016
5. Kurobushi World Championship North Carolina Trophy, medals 2016
6. USA Masters National /International Age 40-45 Point Fight North Carolina Gold medals 2016
7. USA Masters National /International Age 40-45 Kata Form North Carolina Gold medals 2016
8. National Capital Open Taekwondo Championship, Open Weight Virginia Gold trophy 2016
9. US Capital Classic China Open, Age 40-45 Point Fight Washington Harbor, Maryland Gold trophy 2015
10. Breath Of Nature , Age 40-45 Point Fight Harrisburg , PA Gold Cup 2015
11. Fall Ball iv Altoona , Age 40-45 Point Fight Pennsylvania Gold frame trophy 2015
12. Warrior Within II, Age 40-45 Point Fight Waldorf, Maryland Gold trophy 2015
13. Warrior Within II, 180-189 lbs. Light Heavy Fight Waldorf, Maryland Gold trophy 2015 .

सबै खेलहरू आफ्नो व्यक्तिगत तर्फबाट खेलेको हुनाले आफ्नो खुसी अनुसार हरेक पटकका मेडल लिने बेलामा आफू जन्मेको प्यारो मुलुक नेपालको राष्ट्रिय झन्डा फर्फराउने गर्ने गर्नु भएको छ । विश्वका विभिन्न देशका व्यक्तिहरूको बसाई भएको यो देश अमेरिकामा कुनै पनि क्षेत्रमा कडा प्रतिस्पर्धा हुने हुँदा विजयी हुनु त्यति सहज छैन । तै पनि सबै क्षेत्रमा पिछडिएको देश नेपालको काठमान्डुमा जन्मिएका ठकुरीले करिब एक वर्षमा १३ वटा स्वर्ण पदक जित्न सफल भएका र पदक ग्रहण गर्न जाँदा नेपाली राष्ट्रिय झन्डा फर्फराउनु हामी सबै नेपालीको गौरभको विषय हो ।

७. ए सी शेर्पा (सियाटल, वासिङ्टन) 
अमेरिकाको वासिङ्टन राज्यको सियाटल राज्यमा बसोबास गर्दै आउनु भएका एन आर एन एको क्षेत्रीय सह-संयोजक ए सी शेर्पा विश्वका सातै महादेशका अग्ला हिमशिखरहरु चढ्ने रूपमा मात्र नभएर सामाजिक सेवा गर्ने ब्याक्तिको रूपमा समेत परिचित नाम हो । नेपालमा आफ्नो सेभेन समिट फाउनडेशन मार्फत शिक्षा, स्वास्थय जस्ता क्षेत्रमा निरन्तर सहयोग पुर्याउदै आइरहनु भएको छ । सेभेन समिट संस्थाको नामबाट सोलुखुम्बुको विभिन्न स्कुलमा शैक्षिक सामाग्री वितरण, एकसय दश घर धुरीको लागि आफ्नै लगानीमा बिजुली निकालेर वितरण, सोलुखुम्बुका ३३ गाविसलाई लक्षित गरी दुई वोटा मेडिकल डेन्टल अस्पताल निर्माण अभियानमा समेत सङ्लग्न रहनु भएको छ । उहाँले शिक्षा र स्वास्थ्य बाहेक विभिन्न क्लबहरु, प्रहरी चौकीमा समेत सहयोग पुर्याउदै आइरहनु भएको छ ।

अन्तर्राष्ट्रिय शेर्पा गाइड्सको महाप्रबन्धक, एभरेस्ट समिटर्स एशोसियसन अफ अमेरिकाको संस्थापक समेत रहनु भएका शेर्पालाई २०१६ मा नेपाल सरकारले वासिङ्टन राज्यको लागि अबैतानिक वाणिज्यदुतमा नियुक्ति समेत प्रदान गरेको छ भने सन् २०११ मा उनलाई गुडविल एम्बेसडर घोषणा गरेको थियो । मन खोलेर अमेरिकामा मात्र नभएर नेपालमा समेत सामाजिक सेवा गरिरहनु भएका शेर्पा सामाजिक सेवा नामको लागि भन्दा बिशुद्द रूपमा समाज सेवाको भावले गर्नु पर्दछ भन्ने कुराको उदाहरणको रूपमा रहनु भएको छ ।

८. पदम विश्वकर्मा (कोलोराडो) 
लमजुंग जिल्लाको धमिलीकुवा घर भई हाल कोलोराडो बसोबास गर्दै आएका विश्वकर्मा यही २०१६ मा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको छ । नेपाली भाषा तथा साहित्यको बिश्वब्यापिकरण अभियानमा संलग्न विश्वकर्मा नेपाली भाषा र साहित्यको विकासमा निरन्तर संलग्न रहँदै आउनु भएको छ । २०१०-२०१२ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको अध्यक्ष, २०१२-२०१४ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव र २०१४-२०१६ मा केन्द्रीय अध्यक्ष रही सफल नेतृत्व प्रदान गर्नु भएको थियो भने २०१६ मा सम्पन्न निर्वाचनमा दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित हुन सफल हुनु भयो । आफ्नो कार्यकालमा महत्त्वपूर्ण गतिविधिहरू सम्पन्न गर्न सफल विश्वकर्मा नेपाली भाषा तथा साहित्यको जगेर्नाका लागि जापान, यूरोप, नेपाल, अस्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुक र अमेरिकाका विभिन्न राज्य पुग्नु भएको छ ।

बिद्यालयस्तरमा आयोजित राष्ट्रिय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुन पुगेका विश्वकर्मा तनहुँ जिल्लाको कालीका माध्यमिक विद्यालयको जुनियर रेडक्रसको अध्यक्ष हुँदादेखि नै समाज सेवामा संलग्न रहदै नेपाल रेडक्रसको कार्यक्रम अधिकृत तथा प्रशासकीय अधिकृत लगायत विभिन्न पदमा रही १० वर्ष भन्दा बढी मानवीय सेवाका विभिन्न कार्य सम्पादन गरेका छन् । यसै गरी भने अमेरिकास्थित स्थापित जातीय विभेद विरुद्ध कार्यरत संस्था नासोको विभिन्न पद र हाल उक्त संस्थाको सल्लाहकार तथा २०१४ मा अमेरिकामा स्थापित जातीय विभेद विरुद्ध कार्य गर्न स्थापित गैर सरकारी संस्था ग्लोबल फोरमको उपाध्यक्षमा रही सेवा प्रदान गर्दै आएका उनले समाज सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान प्रदान गर्दै आएको हुनुहुन्छ ।

नेपाली साहित्यमा स्नातक र समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर गरेका विश्वकर्मा फुटकर कविता, कविता सङ्ग्रह प्रकाशन गर्नुका साथै उनले विभिन्न कृतिहरू सम्पादन गरिसकेका विश्वकर्माले विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ र उहा एक सफल व्यवसायी पनि हुनुहुन्छ ।

९. जेदु पोखरेल (बाल्टीमोर, म्यारिल्याण्ड) 
अमेरिका यस्तो देश हो जहाँ विश्वभर वोलिने भाषालाई कामकाजी भाषाको रूपमा स्वीकार गरिन्छ । अमेरिकाको पूर्वी तटिय राज्य मेरिल्याण्डमा केही महिना अघि मात्र स्थानीय निकायले नेपाली भाषालाई मान्यता दिएको छ । नेपाली मूलका अमेरिकनको बाक्लो उपस्थिति रहेको मेरिल्याण्डमा नेपाली भाषामा ड्राईभिगं लाइसेन्सका लागि लिखित परीक्षा दिन पाइन्छ । संख्यात्मक उपस्थिति देखाउदै प्रक्रियागत ढङ्गले आवेदन दिएमा यस्तो काम सम्भव हुन्छ भन्ने मेरिल्याण्डमा रहेका नेपालीहरूले प्रमाणित गरिदिए । यसको नेतृत्वकर्ता मध्येका एक हुन एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष जेदु पोखरेल । मेरिल्याण्डमा ड्राईभिगं लाइसेन्सको लिखित परीक्षाका लागि लाइसेन्स दिदां पढ्न पर्ने सडक नियम सम्बन्धी पुस्तक नेपालीमा पनि उपलब्ध छ । उहाँको यो पहलले अङ्ग्रेजी भाषामा कम दख्खल भएका नेपालीलाई पनि ड्राईभिगं लाइसेन्सको लिखित परीक्षा अव सहज र सम्भव भएको छ । एनआरएन मेरिल्याण्ड च्याप्टर अध्यक्ष भए लगत्तै पोखरेल यसका लागि पहल गर्नु भएको थियो । यो काम त्यति सजिलै सम्भव भएको भने पक्कै होइन ।

नेपाली भाषा राख्न कतिलाई फाइदा पुग्छ भनेर स्थानीय निकायका अधिकारीलाई प्रस्ट पार्न सजिलो थिएन । यी सबै चुनौतीलाई चिर्दै उहाँले त्यहाँ नेपाली भाषालाई मान्यता दिलाउनु भयो । त्रिभुवन विश्वबिध्यालयबाट, राजनीति शास्त्रमा मास्टर सकेपछि २००६ मा अमेरिकाको बाल्टिमोरमा आएर बसोबास गर्न थाल्नु भएका जेदु पोखरेलको जन्म घर भने स्याङजा हो । अमेरिकाको मेरिल्याण्डमा पोखरेलले आफ्नो सक्रिय उपस्थिति देखाउनु भएको छ । पोखरेल त्यहाँ नेपाली समुदायिक भवन खोल्ने अर्को सर्हानिय प्रयासमा हुनुहुन्छ । उहाँको यो कदमलाई पनि हाम्रो शुभकामना ।

१०. भक्त थापा (क्यालिफोर्निया) 
लस एन्जलस बासी नेपाली समुदायका बिच एउटा प्यारो र सम्मानित नाम हो भक्त थापा । उहाँको नाम सुन्ने बित्तिकै लस एन्जलसमा बन्दै गरेको भगवान् श्री पशुपति नाथको मन्दिर र बौद्ध स्तुपाको याद गरिन्छ । यो परियोजनाको लागि श्री पशुपतिनाथ फाउण्डेशन नामक संस्था स्थापना गरिएको थियो । यो संस्थाको सुरुवाती दिन देखी हाल सम्म पनि अध्यक्ष रहदै आउनु भएका थापा लस एन्जलसमा सफल व्यापारीका रूपमा पनि चिनिनु हुन्छ ।

आफ्नो व्यावसायिक ब्यस्थताका बाबजुद सामाजिक कार्यमा अहोरात्र खटिने चाहनाले नै उहाँलाई यो सफलता सम्म पुर्याएको हुन सक्छ । आज भन्दा ५ वर्ष पहिला पं. दिनबन्धु पोख्रेलद्वारा गरिएको महापुराणमा चन्दा सङ्कलनबाट संकलित रकम र बाँकी नपुग रकम सोही समाजका केही प्रतिष्ठित व्यक्तिहरूको जमानीमा ऋण लिएर नर्वाक सहरमा चर्च किनिएको थियो । उक्त चर्चलाई मन्दिरमा परिणत गर्दा आईपरेका अनेकौँ अड्चन र झन्जटसंग अहोरात्र खटिनुका साथै दाताहरुले बोल कबोल गरेको रकम उठाउने पहल र नयाँ दाताहरु खोज्ने काममा सदैव खटीई रहनु भयो । उहाँ लगायत उहाँको नेतृत्वमा रहेको सक्रिय टिमको अथक प्रयासमा यही आउदो शिभरात्रीको पावन अवसरमा मन्दिर र स्तुपाको उद्घाटन हुने भएको छ ।

नेपाली समुदायका विभिन्न सङ्घ संस्थाहरूले गर्ने कुनै कार्यक्रम होस या समाजमा भई परी आउने कुनै अड्को पड्कोमा होस उहाँ सदैव आर्थिक सहयोग गर्न सदैव तत्पर हुनुहुन्छ । लस एन्जलसका स्थानीय ब्यापारीहरुसँगको सम्पर्क बढाउन र सक्षमता विकास गर्न आर्टेसिया च्याम्बेर अफ कमर्समा आबद्ध भएर बोर्ड मेम्बर सम्म हुन सफल हुनु भएको थियो । नेपाली समुदायमा मात्र नभएर अमेरिकन स्थानीय कार्यक्रमहरूमा पनि आफ्नो महत्त्वपूर्ण भूमिका निभाउंदै आउनु भएको छ। उहाँको यस्तो सक्रिय सहभागिता र क्षमताको कदर गर्दै हालै सिटी अफ आर्टेसियाको सिटी प्लानिङ्ग कमिसनरको जिम्बेबारी दिइएको छ । नेपालको विकट क्षेत्र सँखुवासभामा जन्मेको एक साधारण नेपाली विश्व हाक्ने विकसित देश अमेरिकाको एउटा सहरको सिटी प्लानिङ्ग कमिसनर जस्तो महत्त्वपूर्ण ओहोदामा पुग्नु हामी सबै नेपालीको गौरभको विषय हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू