अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

एन आर एन अमेरिकाका केही कमजोरीहरु – शरद पोखरेल

बिआरटीनेपाल २०७३ पुष १७ गते ९:१८ मा प्रकाशित

आगामी जनवरी १४–१५ मा टेक्सस स्थिति डालास सहरमा एन आर एन अमेरिकाको पाँचौ साधारण सभा सम्पन्न हुँदै छ । उक्त साधारण सभाका लागी हिजो आज सरोकारवाला सबैमा निकै उत्साह छाएको छ । विधानत आगामी जुन–जुलाई महिना सम्ममा एन आर एन अमेरिका पदाधिकारीको चुनाव सम्पन्न भैसक्न पर्छ । यस अर्थमा यो साधारण सभालाई महत्त्वपूर्ण मानिएको छ ।
जति जति साधारण सभा नजिकिदै छ, त्यति नै विगत एन आर एन को कमजोरीहरू सञ्चार माध्यममा छताछुल्ल बन्दै छ । उसो त धेरैको अनुभवमा एन आर एन अमेरिकाको विगत तितो छ । यद्यपि एन आर एनको यो दुई वर्ष अवधिमा केही राम्रा कामहरूको सुरुवात नभएका भने हैनन । हालाकि ती कामहरू नगन्य झैँ छन् ।
एन आर एन अमेरिकाकाले गर्न पर्ने कामको फेरिहस्त त लामै हुन सक्छ तथापि जनमानसको भावनालाई कदर गर्ने हो भने आगामी साधारण सभाले विधानमा सामान्य संशोधन गरी केही कमजोरीहरुमा तत्काल परिर्वतन गर्न सक्छ:

सदस्यता वितरण:
अमेरिकाको एन आर एन चुनाव जब जब नजिक नजिक आउँछ सदस्यता वितरणले ठुलो महत्त्व राख्छ । विगतमा पनि चुनाव नजिक आउँदा सदस्यता वितरणलाई व्यापक बनाइएको थियो । विगतमा एन आर एन अमेरिकाका उम्मेद्धारहरुले आफ्नो चुनावी मत वटुल्न मतदाताहरु तानातान गरेका थिए । यसका लागी उनीहरूले एउटै क्रेडिट कार्ड प्रयोग गरी सयौ यस्ता मतदाताहरु खरिद गरेको रहस्य बाहिर आएको थियो । सदस्यता वितरणमा अनिमियतका खवरहरु बाहिर व्यापक भएको थिए ।

दुई वर्ष अघिको चुनावमा पनि प्रायः उम्मेद्धारहरुको प्राथमिकतामा चुनाव जिते पछि सदस्यता सङ्ख्या व्यापक पानेर्, सदस्यता वितरण सरलिकृत गर्ने भन्ने थियो । तर चुनाव जिते पश्चात् सदस्यता वितरणलाई कसैले पनि प्राथमिकतामा राखेनन । अहिले चुनाव नजिक आए पछि सदस्यता वितरणको मुद्धा फेरि व्यापक पारिदै छ । के एन आर एन अमेरिकाको सदस्यता खाली चुनावी प्रयोजनका लागी मात्र हो ? यदि हो भने चुनावमा पैसा खर्च गरेर मात्र गरिएको सदस्यता वितरणले कुनै अर्थ राख्दैन । एन आर एन हुन योग्य नेपालीले अनलाइन मार्फत भनेको समयमा २४ सै घण्टा सदस्यता लिन सक्ने व्यवस्था हुनु आजको आवश्यकता हो । यसका लागी पाँचौ साधारण सभाले उपयुक्त निर्णय लिन सक्नु पर्छ ।

ढोका प्रयोग नगरी झ्यालवाट छिर्ने चलन:
अमेरिकाका प्रायशः सङ्घ संस्था पदाधिकारीका लागी हुने चुनावहरुमा ढोकाबाट नछिरी झयलवाट छिर्ने चलन व्यापक छ । अन्य सङ्घ संस्थाहरू पनि यो रोगले ग्रस्त छन् । कुनै पनि संस्थाका पदाधिकारी चयन गर्दा त्यो संस्थालाई राम्रोसँग बुझेका,े संस्थाका लागी रुझेको, भिजेको व्यक्ति उपयुक्त हन्छ । यो सर्वव्यापि मान्यता पनि हो । तर यताका चुनावहरुलाई मूल्याङ्कन गर्ने हो भने संस्थागत योग्यता भएका व्यक्तिहरू भन्दा पनि पैसाको हाबीमा धेरै व्यक्तिहरू चुनिन्छन । जुन भविष्यमा संस्थालाई धातक हुन सक्छ । एन आर एन अमेरिकाको आर्कषण अन्य एन आर एनको भन्दा माथि छ । यस अवस्थामा यसको अस्तित्व चुस्त दुरुस्त वनाइराख्नु आजको आवश्यकता अनि चुनौती दुवै हो । यसैले यस संस्थामा पनि पैसाको बलमा पस्नेहरु लामै हुन सक्छन् जुन समस्यालाई कसिलो विधानले मात्र पार लगाउन सक्छ । अबको साधारण सभाले यसलाई पार नलगाए ढिला हुन सक्छ ।

कल्याणकारी – मानवीय कार्य:
विगत दुई वर्षमा एन आर एनको सबैभन्दा खडकिएको पक्ष भनेको कल्याणकारी मानवीय योजना नहुनु हो । हुनत यसका पदाधिकारीहरू अहिले पनि नेपालमा भूकम्प जाँदा आफूहरुले उत्कृष्ट मानवीय कार्य गरेको वताउँछन । तर नेपालमा गरेको उक्त मानवीय कार्य बाहेक अन्य मानवीय कार्यहरू एन आर एन अमेरिकाको खातामा शून्य झैँ छ । आज पनि अमेरिकाका विभिन्न अस्पतालमा पिडामा पिल्सीएका नेपालीहरू प्रसस्तै छन् । एक दुई सहयोगका याचना हरेक महिना मिडियामा आउनु सामान्य झैँ छ । तर विडम्बना एन आर एन अमेरिका यी सबै समस्या वेखवर छ । ती पिडाका नेपालीलाई व्यक्तिगत रूपमा एन आर एन पदाधिकारीहरुले सहयोग नगरेका भने हैनन । यद्यपि संस्थागत सहयोग भने नगन्य छ । विडम्बना कति सम्म छ भने त्यस्ता आपतमा परेका नेपालीहरूको सहयोगका लागी एन आर एन अमेरिकाले सहयोग आव्हान सम्म पनि गर्न जान्दैन । यदि साच्चै एन आर एन अमेरिकाका नेपालीहरूको लागी हो भने किन विपतका नेपालीहरूको सहयोगमा अघि वढदैन ? के यो संस्था धनिहरुका लागी मात्र हो ? अबको साधारण सभामा विधानगत रूपमा नै यस कार्यमा ध्यान दिन जरुरी छ ।

समन्वयकारी भूमिका:
विगत दुई वर्षमा एन आर एन अमेरिकाको अभाव भनेको समन्वयकारी भूमिकामा पनि देखियो । अमेरिकामा वास्तवमा आज ४००–५०० भन्दा बढी सामाजिक संस्थाहरू छन् । तिनमा एन आर एन अमेरिकाको भूमिका अविभावकको हुन पर्छ । आज समन्वयकारी भूमिकाको अभावमा नै कैयन अन्य संस्थाहरू एन आर एन भन्दा बढी प्रभावकारी देखिएका छन् । यस्ता संस्थाहरू सँग समन्वय गर्न नसक्नु एउटा दुःखद पक्ष हो भने विगत दुई वर्षमा समन्वय गर्न प्रयास नै नर्गनु अर्को दुःखद पक्ष हो । अबको पाँचौ साधारण सभामा यस विषयमा गम्भीर बहस जरुरी भैसकेको छ ।

प्रतिक्रिया