अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

साहित्यकार जगदीश घिमिरेको सम्झनामा विचार र साहित्य गोष्ठी

बिआरटीनेपाल २०७३ पुष १३ गते १२:२३ मा प्रकाशित

मन्थली । गएको शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ र जगदीश घिमिरे प्रतिष्ठान, रामेछापको संयुक्त आयोजनामा मन्थलीमा जगदीश घिमिरेको ‘तेस्रो स्मृतिसभा तथा संस्कृति विषयक विचार गोष्ठी’ सम्पन्न भयो । मन्थली नगर सभा हलमा सम्पन्न सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति कवि डा.विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यता, वरिष्ठ नाटककार अशेष मल्लको विशिष्ट आतिथ्यता साथै नेपाल प्रज्ञा प्रतिष्ठानका निबन्ध र आख्यान विभाग प्रमुखद्वय डा. ज्ञानु पाण्डे र मात्रृका पोखरेलको आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रम दुई भागमा विभाजन गरिएको थियो । पहिलो भागमा विचार गोष्ठी र पछिल्लो भागमा साहित्य सम्मेलन भएको थियो । प्रज्ञाको सहआयोजनामा आयोजित विचार गोष्ठीमा साहित्यिक पत्रकार रोचक घिमिरेले ‘साहित्यकार जगदीश घिमिरेको व्यक्तित्व र कृतित्व’ बारे र लेखक पेशल आचार्यले ‘रामेछापका केही सांस्कृतिक सम्पदाहरु’ विषयमा कार्यपत्र प्रस्तुत गरे । ती दुवै कार्यपत्र माथि नगेन्द्रराज शर्मा र प्रमुख अतिथि डा. विष्णुविभु घिमिरेले टिप्पणी गरेका थिए ।

सोही समारोहमा जगदीश घिमिरेप्रति सम्झना व्यक्त गर्दै कविहरुले कविता पाठ समेत गरेका थिए । कविता पाठ गर्ने कविहरुमा टीकाप्रसाद भट्ट, उद्धवप्रसाद घिमिरे, उद्धव अविचल, प्रवीना नेपाली, शशी भट्टराई, बाबुराम श्रेष्ठ, रामचन्द्र वियोगी, पेशल आचार्य तथा डा. सुमन कर्माचार्यले नेपालीमा र रामप्रसाद कोइराला र मदनकृष्ण खरेलले अंगे्रजी भाषामा कविता पाठ गरेका थिए भने राजधानीबाट आएका अतिथि कविहरुमा गणेश राई, सन्ध्या पहाडी, रुपक वनवासी, त्रिपुरा रेग्मी पौडेल, शीतल कादम्बिनी, रमेश पौडेल, महेश प्रसाईं, लक्ष्मण गाम्नागे, डम्बर घिमिरे, मातृका पोखरेल, ज्ञानुवाकर पौडेल, अशेष मल्ल, डा. विष्णुविभु घिमिरे र दुर्गा घिमिरेलगायत करिब ४० जना कविहरुले कविता वाचन गरेका थिए ।

सोही कार्यक्रममा डा. सुमन कर्माचार्यद्वारा लिखित ‘देश दुःखेको बेला’ नामक कवितासङ्ग्रहको विमोचन प्रमुख अतिथि डा. विष्णुविभु घिमिरे र विशेष अतिथि अशेष मल्लबाट संयुक्त रूपमा भएको थियो । ३१ वटा कविता सँगालिएको सो कवितासङ्ग्रहमा नाटककार अशेष मल्लको भूमिका रहेको छ ।

सो समारोहमा आगामी वर्षदेखि जगदीश घिमिरेको सम्झनामा पचास हजार राशिको ‘जगदीश घिमिरे स्मृति साहित्यिक पुरस्कार’ दिइने घोषणा समेत गरिएको थियो । सोही साँझ जगदीश घिमिरेले साहित्यिक र सामाजिक सेवामा पु¥याउनु भएको योगदानमा आधारित डकुमेन्ट्री समेत देखाइएको थियो ।

कार्यक्रममा राजधानीबाट आएका अतिथि र स्थानीय बुद्धिजीवीसमेतले साहित्यकार तथा समाजसेवी जगदीश घिमिरेको साहित्यिक र सामाजिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए । रामेछाप जिल्लामा २००२ साल चैत्र २८ गते रामनवमीका दिन जन्मेका साहित्यकार घिमिरेको ६८ वर्षको उमेरमा २०७० कार्तिक १४ गते निधन भएको थियो । सो प्रतिष्ठानले हरेक वर्ष जगदीश घिमिरेको सम्झनामा साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू