अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

जनवरी १ का दिन पर्ने ‘अन्तराष्ट्रिय नेपाली टोपी दिवस’ यो बर्ष पनि मनाईदै

बिआरटीनेपाल २०७३ पुष १३ गते ८:४३ मा प्रकाशित
विगत तीन बर्षदेखि हरेक अंग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात जनवरी १ का दिन मनाईदै आएको नेपाली टोपी दिवस यो बर्ष पनि मनाईने भएको छ । नेपाली टोपी दिवसको अभियन्ताको रुपमा चिरपरिचित ‘जागरुक युवा अभियान नेपाल’ले कार्यक्रमलाई निरन्तरता दिंदै नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरुप यस बर्ष पनि जनवरी १ का दिन टोपी दिवसको आयोजना गरेको हो ।
विगतमा दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा मानिंदै आएको भएतापनि पछिल्लो समय यसलाई नेपाली पोशाकको सूचिबाट हटाइएकोमा अभियानले त्यसको घोर विरोध र भत्र्सना गरेको छ। साथै अभियानले नेपालको सबै प्रदेशलाई ईंगित हुने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न समेत माग गरेको छ ।
अभियानका संयोजक घनश्याम श्रेष्ठद्वारा बिज्ञप्तिमा भनिएको छ, ‘स्मरण होस् हरेक देशको आ–आफ्नै पहिचानजन्य पोशाक हुन्छ । तर अहिले हामीसँग कुनै पहिचान नै छैन । नेपालमा सामुदायीक पहिचानको कुरा जोडतोडका साथ उठ्ने गरे पनि राष्ट्रिय पहिचान नै संकटमा पर्न थालेको छ ।’

टोपीले सिंगो नेपालको प्रतिनिधित्व गर्ने अभियानको ठहर छ। टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने, बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सवैभन्दा मूनिको समथर भागले तराईको प्रतिनिधित्व गर्ने भएकाले नेपाली टोपीले सबै जाति तथा क्षेत्रको प्रतिनिधित्व गर्ने बताएको हो ।

टोपी दिवसको लागि यस बर्षको नारा “हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान” तय भएको छ । यस बर्षको कार्यक्रम अन्तर्गत आगामी आइतवार अर्थात १ जनवरीका दिन राजधानीको माइतीघर मण्डलामा विहान ७ बजे भेला भएर प्रभातफेरी कार्यक्रम गर्ने संयोजक श्रेष्ठले बताए ।
त्यस दिन देशभर नै यी र यस्तै प्रवद्र्धनात्मक कार्यक्रम आयोजना हुने अभियानले जानकारी दिएको छ । त्यस्तै प्रवासमा रहेका नेपालीहरुले विविध कार्यक्रम आयोजना गर्ने भएका छन् ।
अभियानले प्रबर्दनात्मक कार्यक्रम अन्तर्गत प्रभातफेरीसँगै नेपाली टोपीमा सजिएर सामाजिक सञ्जालहरुमा आफ्नो फोटो राखेर यो दिवस मनाउन पनि सम्पूर्ण नेपालीमा अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू