अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

अमेरिकाको बोष्टनमा १५ औ तमु ल्होछार सम्पन्न

बिआरटीनेपाल २०७३ पुष १२ गते २२:२५ मा प्रकाशित

बोष्टन तमु समाजव्दारा आयोजित १५ औ “छ्या ल्हो ,तमु ल्होछार २०१६ “हिजो साँझ वाटर टाऊन सिटिमा विविध नेपाली सास्कृतिक प्रस्तुति एवं स्वादिष्ट नेपाली परिकारहरु सहित भव्य रूपमा सम्पन्न भयो । त्यहा अमेरिकाको विभिन्न राज्यबाट आएका तमु तथा गैह्र तमु नेपालीहरूको विशाल सहभागिता रहेको थियो । विगत १४ वर्ष देखि आफ्नो कला संस्कृति भेषभुषा जगेर्ना गर्दै आएका बोष्टन तमु समाजका कार्यकर्ता, आमा टोली तथा महिला दिदी बहिनीहरू खटन सम्म खटेर ल्होछार हल सजाएका थिए भने आफ्नो परम्परागत गुरुङ ड्रेसमा सजिइ अतिथिहरुलाई स्वागत सत्कार गरे । स्टेजमा प्रस्तुत एक से एक सास्कृतिक प्रस्तुति, स्वादिष्ट नेपाली परिकार, गुरुङ भेषभुषा, अमर थापाको डी जे धमाकाले सहभागीलाई नाच्न सम्म नचायो । यसलाई अमेरिकनहरू दँग परेर नियालिरहेका देखिन्थे ।बोष्टनमा एक बिग सोको रूपमा स्थापित तमु ल्होसार नियाल्नेहरु भन्दै थिए यस प्रकारको सशक्त र बृहद कार्यक्रम तमु समाजको त्याग र समर्पणले मात्र सम्भव भएको हो । 

यसबर्षको ल्होछारमा पनि थुप्रै नयाँ कलाकार तयार गरी स्टेजमा ऊतारिएको थियो । तिन दर्जन भन्दा बढी साना तथा ठुला कलाकारहरूको प्रस्तुति रहेको ल्होछारलाइ सुरुमा सानु बाबु ऊत्सब गुरुङले स्टेजबाट सबैको ध्यान खिचेका थिए क्रमशः : अन्य तिन सञ्चालक हरू खगेन्द्र गुरुङ, इरिशा गुरुङ, रोजित गुरुङले पालैपालो कार्यक्रम चलाएका थिए । ।संस्थाका खगेन्द्र गुरुङले छोटो औपचारिक कार्यक्रम सकेपछि नेपाली तथा अमेरिकन राष्ट्रिय गीत बजाइएको थियो ।“आसिमाला छ्याजालो” अभिवादन सँगै अगाडी बढेको कार्यक्रममा बौद्ध गुरु भिक्षु डा.प्रज्ञालोक र डा.सोरता माहाथेरो बाट बौद्ध पूजा अर्चना गरिएको थियो । डा. प्राज्ञलोकले बौद्ध मार्गीहरुले मासाचुसेट राज्यमा स्वयम्भु प्रोजेक्ट सुरु गर्न लागेको खुसीको कुरा सुनाऊदै यसको लागी आफूहरू अब जग्गा खोज्ने क्रममा रहेको कुरा व्यक्त गरे । क्रमशः: बोष्टन तमु समाजको तर्फबाट पुष्पा गुरुङ समेतबाट आयो ल्होसार .. गीतबाट सबैलाई स्वागत गरियो भने समाजकि अध्यक्ष सम्झना गुरुङले स्वागत मन्तव्य दिँदै बोष्टन तमुले गरेका काम, समाज नन प्रफिट सोसयल अर्गनाईजेशन भएको कुरा, यसले तमुहरूको परम्परा भाषा संस्कृति कला बचाउन लागि परेको साथै नेपाल र नेपाली बालबालिकाको पक्षमा नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको कुरा छोटोमिठो रूपमा व्यक्त गरिन । लगतै सशक्त म्यूज़िक टिमका कलाकार हरू श्याम नेपाली, रञ्जन बुढाथोकी, अन्जन बुढाथोकी, अनुभव थपलिया,नन्दु शङ्कर,ओम बुढाथोकी आदी बाट हिमालय हेरिटेज कल्चरल एकेडेमी को लाईभ म्युजिक प्रस्तुत गरेका थिए । 

तत पश्चात् कार्यक्रममा घाटु नृत्य,गुरुङ नृत्य,नेपाली गीत,तामाङ सेलो,कौडा नाच,नेपाली लोक नृत्य,आधुनिक नृत्य,सोलो सङ,झ्याऊरे नाच,सुदुर पश्चिमको हुडकेली नृत्य, आदी धुमधाम सँग प्रस्तुत भएका थिए । नृत्य कलाकारहरुमा पारमिता गुरुङ, रोज्मी गुरुङ,एड्रिएन गुरुङ,जेसिका गुरुङ,अन्जना गुरुङ, सुरेश गुरुङ,अन्जु मैनाली,देवी भण्डारी, मन्जु मैनाली,देवी गुरुङ,फत्ते गुरुङ,कमला गुरुङ,बिनिता गुरुङ, जेनी तामाङ,सँगिता गुरुङ,रोशन डुक्पा, सबिना राई, काजल श्रेष्ठ, नित्या शर्मा, प्रनिता वन्त,शिवानी शेरचन,शुभाश्री धिताल,शालोमी प्रधान,भुवानी गुरुङ, गिरी गुरुङ, मीन गुरुङ,रोबिन गुरुङ,सुन्दर गुरुङ, आदी थिए ।गायक कलाकार हरुमा प्रबिन परियार, रमला गुरुङ, सुरेश गुरुङ,समेत प्रस्तुत भएका थिए । न्यु ह्याम्पसायर तमु समाजले रमाइलो कौडा नाच प्रस्तुत गरेको थियो कलाकार हरुमा अनु गुरुङ, बबिता गुरुङ, बृन्दा गुरुङ, गितु गुरुङ, लक्ष्मी गुरुङ,मिना गुरुङ, प्रतीक्षा गुरुङ आदी थिए ।

कार्यक्रमको अन्तिमतिर बोष्टन तमु समाजका सचिव मीन गुरुङले तमु ल्होछारको लागि, लागि पर्ने सहयोग गर्ने सबैलाई सम्झी सम्झी धन्याबाद दिएपछि समाजकि कोषाध्यक्ष कमला गुरुङ तथा अध्यक्ष सम्झना गुरुङबाट कलाकार टिमलाई सम्मान गरिएको थियो ।कार्यक्रममा ग्रेटर बोष्टन स्थित सामाजिक नेपाली सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिलाई अतिथिको रूपमा निम्त्याइएको थियो ।

ल्होछारमा भाषण थोरै सास्कृतिक प्रस्तुति धेरै थिए यसलाई धेरैले मन पराए । कार्यक्रममा प्रस्तुत एक से एक गीत सङ्गीतले रौनकता माथि रौनकता थपेको थियो । कलाकार हरुले यथेष्ट रिहर्सल गरेको आभास हुन्थ्यो। अन्जना गुरुङ, देवी ओली, फत्ते गुरुङ, पेमला शेर्पा, सबिना राई, सुन्दर गुरुङ, र ऊषा गुरुङ रहेको कोरियोग्राफर टिमले महिनौ दिन लगायर ल्होछारको लागि कलाकार टिम तयार गरेको थियो जुन पछि सम्म नेपाली समाजलाई काम लाग्ने र हालको बाल कलाकार टिमले भावी दिन्मा विदेशमा नेपाली कला संस्कृतिको जगेर्ना गर्दै जाने समाजका पूर्व अध्यक्ष तथा कल्चरलको अर्डिनेटर सुन्दर गुरुङले बताए । १५ औ बोष्टन ल्होछारको लागी सबै काम बोष्टन तमु समाज कि अध्यक्ष सम्झना गुरुङ श्रेष्ठ र एक्जुकेटिभ टिमको मातहतमा सम्पन्न भएतापनि कार्यक्रमलाई व्यवस्थित बनाउन , सेल रोटि,तारेको माछा समेतको नेपाली परिकार पस्कन समाजका अग्रज व्यक्तित्व हरू भुवानी गुरुङ, झक गुरुङ, धन कुमार गुरुङ, लगायत सक्रिय आमा टिम र समाजका सबै सदस्यहरू कार्यक्रम अवधिभर दौडेको दौडेइ देखिन्थे । 

तमु ल्होछार विशेष गरी नेपालमा गुरुङ जातिले मनाउने पर्व हो । नेपालमा लोकतन्त्रको पुनर्स्थापना पश्चात् एक नेपाली पर्वको रूपमा समेत मनाउन थालिएको छ । सबैलाई सरकारी बिदा मिलेको छ ल्होछारमा । स्वदेश विदेश जहा बसेपनी ल्होछार मनाउने र यसमा रमाउने नेपालीको सङ्ख्या बढी भन्दा बढी हुन थालेको छ । बोष्टनमा यसपालि पनि ऊल्लेख्य सहभागिता देखियो हल खचाखच भरिएको थियो ।कार्यक्रमका दिन हिऊ नपरेर मौसमले पनि आयोजकलाईसाथ दिएको थियो ।

यसरी सम्पन्न बोष्टन ल्होछारले विदेश मा नेपाली कला र संस्कृतिको विकास र निरन्तरतामा सघाऊ पुराएको छ , थुप्रै बिदेशिएका नेपाली तिनका छोरा छोरी लाई नेपाली कला संस्कृतितर्फ डोराएको छ । नयाँ नेपाली कलाकार जन्माइरहेको छ पक्कै पनि यो नेपाल र नेपालीको लागी खुसीको कुरा हो । नेपाल कला र संस्कृतिको धनी देश हो , नेपालका थुप्रै कला संस्कृतिलाई यथोचित रूपमा र यत्र तत्र सर्वत्र अगाडी बढाउनु पर्ने आवश्यकता छ । नेपालको ल्होछार पनि नेपाली संस्कृतिको एक हिस्सा हो । यसलाई अन्य नेपालीले पनि मन पराऊदै जाने र सहभगिता जनाऊदै जाने क्रम बढेको छ । त्यसैले ल्होछारलाई तमु समाजको मात्र नभई नेपाल र नेपालीको एक महत्त्वपूर्ण संस्कृति को रूपमा विकास गर्न आइन्दा ल्होछार आयोजना र सहभागिता दुवै तर्फ गैह्र तमुहरूको पनि भूमिका समावेश गर्न सके अझै ल्होछार समावेशी हुने थियो ल्होछार सबै नेपालीको साझा हुँदै जाने थियो ।

फोटो:  धन लेप्चा, कृष्ण खनाल न्यु ह्याम्सायर, र सुरेश वाग्ले

प्रतिक्रिया