अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

ह्याकिङको सजाय रुसले पाउँछ: ओबामा

बिआरटीनेपाल २०७३ पुष १ गते २३:५५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा गरिएको भनिएको हस्तक्षेपका लागि रुसले सजाय पाउने बताएका छन्। अमेरिकाको एनपिआर रेडियोलाई दिएको अन्तरवार्ताका क्रममा ओबामाले भने, “हामीले कारबाही गर्नैपर्छ र हामी गर्नेछौँ।” यसअघि उनले राष्ट्रपतीय चुनावअघि आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनावमा हस्तक्षेप गर्न चेतावनी दिएको खुलासा गरेका थिए। क्लिन्टन र डेमोक्र्याटिक पार्टीको इमेल ह्याकिङ गरेको आरोप रुसमाथि लागिरहेको छ जसको मस्कोले खण्डन गर्दै आएको छ।

ओबामाले चुनाव अघि आफूले पाएको गुप्तचरको सूचनाले रुसले डेमोक्र्याटिक पार्टीका इमेलहरु ह्याक गरिरहेकोमा आफूलाई विश्वस्त बनाएको पनि उल्लेख गरे। उनले राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पलाई अमेरिकाको चुनावी प्रक्रियामा भएको हस्तक्षेपको विषयलाई गम्भीर रूपमा लिन आह्वान गरेका छन्। तर उनले उक्त हस्तक्षेपले चुनावी परिणाममा निर्णायक असर गरे नगरेको बारेमा भने कुनै टिप्पणी गरेनन्। यसैबिच चुनावमा पराजित भएपछि पहिलोपटक प्रतिक्रिया जनाउँदै डेमोक्र्याटिक तर्फकी उम्मेदवार हिलरी क्लिन्टनले रुसले इमेल ह्याक गरेकै कारण आफूले चुनावमा हार बेहोरेको बताएकी छन्।

उनले आफू चुनावमा पराजित हुनुमा रुसले अनधिकृत रूपमा इमेल ह्याक गर्नुलाई जिम्मेवार ठहर्याएकी छन्। उनले पाँच वर्षअघिको रुसको संसदीय चुनावलाई आफूले धाँधलीपूर्ण भनेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूविरुद्ध व्यक्तिगत प्रतिशोध साँधेको पार्टीका आफ्ना दाताहरुलाई बताएकी हुन्। अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबिआइका निर्देशक जेम्स कोमीले चुनावको केही दिनअघि अनुसन्धानबारे पत्र सार्वजनिक गरिदिँदा मुख्य राज्यहरूमा आफूले हारेको उनले उल्लेख गरिन्।

यसैबिच अमेरिकाको गुप्तचर निकाय सिआइएको राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप भएको भन्ने मूल्याङ्कन प्रति एफबिआइले समर्थन जनाएको छ। डेमोक्र्याटिक पार्टी र क्लिन्टनकी एक जना निकट सहयोगीको इमेलहरु अनधिकृत रूपमा ह्याक गरेको अभियोग रुसमाथि लगाइँदै आएको छ। द न्यु योर्क टाइम्सले भनेको छ, चुनाव अघि इमेलहरु रुसले ह्याक गरेको भन्ने खबरहरु व्यापक रूपमा फैलिए पनि क्लिन्टनले उक्त विषयमा पहिलोपटक प्रतिक्रिया जनाएकी हुन्।

क्लिन्टनलाई उद्धृत गर्दै द न्यु योर्क टाइम्सले लेखेको छ, “यो आक्रमण म र मेरो चुनावी अभियानमाथि मात्रै होइन देशविरुद्धकै हमला हो। यो हाम्रो प्रजातन्त्रको निष्ठा र देशको सुरक्षासँग सम्बन्धित विषय हो ।”

रुसी राष्ट्रपतिका एक जना प्रवक्ताले प्रमाण बिना लगाइएको आरोप अनुचित भएको प्रतिक्रिया दिएका छन्। रिपब्लिकनका तर्फबाट राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले रुसमाथिको आरोपलाई ‘मजाक’का रूपमा चित्रण गर्दै त्यो राजनीतिक रूपमा पूर्वाग्रही भएको बताएका छन्। बिबिसीबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू