अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

सवारी जाम अन्त्यका लागि काठमाडौँमा ट्राफिक नियम परिवर्तन

बिआरटीनेपाल २०७३ मंसिर १९ गते ८:५६ मा प्रकाशित

काठमाडौँमा सवारी जामको समस्या अन्त्यका लागि महत्त्वपूर्ण चार ट्राफिक नियम परिवर्तन गरेर कडाइ गरिने भएको छ ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले बनाएको नियम यो नियम रिंगरोडभित्र लागू हुनेछ । सवारी चापको समयमा केही प्रयोजनका गाडीलाई अब रिंगरोडभित्र समय तोकेर निषेध गर्नेदेखि सवारीको जथाभावी मोड्ने प्रवृत्तिमाथि अंकुश लगाउने निर्णय भएको छ। प्रचार–प्रसार गरेर निश्चित समयपछि लागू गरिनेछ ।

१. राइट साइडमा मोड्न नपाइने
अहिले ट्राफिक प्रहरीले लेनको नियम नमान्नमाथि कारबाहीको चिट थमाइहाल्छ । अब लेन अनुशासनलाई थप कडाइ गर्न सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने निर्णय भएको छ ।

अहिले सवारी गइरहेको साइडभन्दा पारिपट्टीको बाटो प्रयोग गर्न विपरीत लेन हुँदै सवारी क्रस गरेर जाने
प्रचलन छ । सवारी फर्काउन पनि विपरीत लेनमा जथाभावी दायाँ मोड्ने गरिएको छ ।

तर, अब नयाँ नियम लागू गरेर यसमा कडाइका साथ रोक लगाइनेछ । सवारीहरुले ट्राफिक आइल्याण्डबाट मात्रै राइटसाइड मोड्न सक्नेछन् । जथाभावी दायाँ मोड्न दिँदा सवारी जाम बढेको र ट्राफिकलाई पनि हैरानी भएको यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको दाबी छ । ट्राफिक आइल्याण्ड नभएका क्रसिङ बाटोमा अब राइट मोडेर विपरीत दिशाको सडकतर्फ जान पाइने छैन ।

उदाहरणका रूपमा बानेश्वरबाट सिभिल हस्पिटल जानेहरु सवारी अहिले यातायात व्यवस्था विभाग आसपासका लेन चेञ्ज गर्ने ठाउँबाट पारी जान्छन् । तर, अब ट्राफिक प्रहरीले यसरी मोडेर बाटो क्रस गर्न दिने छैन । अब ट्राफिक आइल्याण्डबाटै राइट मोडेर आउनुपर्ने हुन्छ । तर, यो नियमले आम सर्वसाधारणलाई निकै असहज हुनसक्छ ।

२. पुलमुनिका सडक खोलेर प्रयोगमा ल्याउने
विभाग र ट्राफिकले अब पुलमुनीका सडकलाई अधिकतम् रूपमा प्रयोगमा ल्याउने निर्णय पनि गरेका छन् । अब सबै पुलमुनिका बाटाहरु खोलिने भएको छ । पुलमुनीका सडक प्रयोगमा आउँदा जाम कम हुने र करिडोरका सडकमा पनि सवारी गुडाउने क्रम बढ्ने विश्वास गरिएको अधिकारीहरुले बताए ।

सडककै दुवै लेनतर्फबाट पुललाई क्रस गरेर खोलिएका सडकको प्रयोग बढाउन पनि राइट टर्न लिन बन्द गर्नुपरेको प्रवक्ता पाण्डेले बताए । अहिले उपत्यकामा थुप्रै त्यस्ता पुल छन्, जसको मुनिबाट क्रस रोडहरु क्रस छन् । यस्ता सडक प्रयोगमा ल्याउँदा सडकमा चाप कम पर्ने र ट्राफिक व्यवस्थापन कम हुने अपेक्षा गरिएको छ ।

३. स्कुल बसलाई समयसीमा
नयाँ नियम अनुसार अब विद्यालयका बसहरुलाई पनि सडकमा ‘अफिस टाइम’मा गुड्न नदिइने भएको छ । स्कुल बसहरुले ९ बजेअघि नै विद्यार्थीलाई विद्यालय पु¥याइसक्नुपर्नेछ र ४ बजे अघि नै विद्यार्थी फर्काएर स्कुल बस विद्यालयमा आइसक्नुपर्नेछ । अर्थात् बिहान ९ बजेभित्र स्कुलबस स्कुल हाताभित्र प्रवेश गरिसकेकेको हुनुपर्नेछ भने भने बेलुका ४ बजेपछि पनि स्कुल बस सडकमा आउन पाउने छैनन् ।

अहिले उपत्यकामा झन्डै ३ हजारभन्दा बढी स्कुल बस रहेको अनुमान छ । अन्य भाडाका सवारीले पनि स्कुल बसका रूपमा विद्यार्थी बोक्ने गरेका छन् । अब स्कुल बस धेरै ट्राफिक जाम हुने समयमा सकडमा गुड्न पाउने छैनन् । यो नियम कडाइका साथ लागू गर्ने तयारी छ ।

४. डेलिभरी भ्यानमा पनि कडाइ
ट्राफिक प्रहरीले अब खानेपानी बोक्नेबाहेक अन्य डेलिभरी भ्यानलाई पनि ‘अफिस टाइम’मा रिंगरोडभित्र चलाउन नदिने भएको छ । विभिन्न सामग्रीको ढुवानीका लागि चल्ने साना भ्यान तथा गाडीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म चल्न नदिइने भएको छ । यसै गरी अपहरान्ह ४ देखि बेलुकी ६ बजेसम्म पनि यस्ता भ्यान चल्न नदिने निर्णय भएको छ । अब मुख्य जाम हुने समयमा डेलिभरी भ्यान तथा गाडीहरु सडकमा आए ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।

ट्रापिक प्रहरीले अब पैदलयात्रुले जेब्राक्रसिङबाटै बाटो काट्ने वातावरण बनाउन पनि विशेष प्रयास गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू