सिन्धुपाल्चोकमा वर्षेनी दैवी प्रकोप र विपत्ति देखिएपछि सिन्धु कालिको मूर्ति स्थानान्तरण
बिआरटीनेपाल
२०७३ मंसिर १८ गते २१:३३ मा प्रकाशित
सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकट्टी गाविस स्थित श्री थापी नारायण मन्दिर प्राङ्गणमा रहेको सिन्धु कालिको मूर्तिलाई स्थानान्तरण गरिएको छ । मन्दिरको प्राङ्गण समिपमै सो मूर्तिलाई स्थानान्तरण गरिएको हो । थापी नारायण मन्दिर व्यवस्थापन समितिले देवीको मूर्तिलाई धार्मिक विधि अनुसार पूजा अर्चना, प्राण प्रतिष्ठा गरी मूर्तीं स्थानान्तरण गरेको हो । देवीको मूर्तिलाई उत्खनन गरी, सौभाग्य जन्य सामाग्रीले श्रृगार पटार गरी डोलीमा राखेर मन्दिर परिक्रमा गराईएको हो ।

मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अनेश नेपाल भन्नुहुन्छ, यस भूमिमा सदियौँदेखि श्री थापी नारायणको पूजा हुँदै आएको छ । धार्मिक तथा पर्यटकीय दृेष्टिकोणले भरिपूर्ण फूल्पिङ्गकट्टी गाविसका आस्थाका धरोहर भगवान श्री थापी नारायण मन्दिरमा यो समय विशेष पूजा हुने गर्दछ ।
उपत्यकाका चार नारायणको मन्दिरहरु, इचंगु नारायण, विशंखु नारायण, शेष नारायण र चाँगु नारायण दर्शन पश्चात् यस श्री थापी नारायणको दर्शन गरेपछि मात्रै मनोकांक्षा पूर्ण हुने विश्वास रहिआएको छ । प्राचीन किंवदन्ती अनुसार थामी जातीले पत्ता लगाएको देवस्थललाई थापी नारायण शिर भनेर पनि सम्बोधन गर्ने चलन छ ।

अहिले मन्दिरको नित्य पूजामा अवरोध आएको छ । पूजारीहरुको आपसी मतभेदका कारण मन्दिरको पूजामा समस्या आएको हो । नित्य पूजा सुचारु गर्न गाविस विनियोजित बजेटबाट पूजारीहरुका लागि पारिश्रमिक छुट्याईएतापनि मन्दिरको पूजामा बारम्बार अवरोध सिर्जना भईरहेको छ ।
प्रतिस्थापन गरिएको देवीको मूर्तीलाई उत्खनन गरी सिन्धु महाकालीको जन्मोत्सव मनाईन थालेको हो । भगवान् प्रतिको आस्थालाई निरन्तरता दिँदै जिल्लामा वर्षेनीको दैवी प्रकोप, विपत्ति टार्नलाई पनि यस देवस्थल नजिक रहेको महाकालीको मूर्तिलाई स्थानानन्तरण गरिएको हो, परम्परादेखि चलिआएको रिवाजलाई जोड दिएका छौँ, थापी नारायण मन्दिर व्यवस्थापन समितिका सदस्य सोननोर्बु शेर्पा बताउनुहुन्छ ।
देवीको मूर्ति स्थानान्तरण गर्न काठमाडौंबाट श्रद्धालु भक्तजनहरुका साथै माता सकुन्तला नेपाल खत्री सहितका टोलीको बाक्लो उपस्थिति थियो । मन्दिर परिसरमा रहेको शिला एक स्थानबाट अर्को स्थानमा प्राण प्रतिष्ठा गरी स्थानान्तरण गर्दा प्राकृतिक विपद् न्युनीकरण हुने विश्वासका साथ सिन्धु महाकाली नाम दिइएकी देवीको भव्यताका साथ मन्दिर परिक्रमा गरी थामी समुदायको नाचगान, बौद्ध धार्मिक विधिद्वारा पूजार्चन र वैदिक विधिको होमयाग्नी गर्न व्यवस्थापन समितिले कार्यक्रम सोचे भन्दा उत्कृष्ट भएको जनाएको छ ।
साथै देवीको मन्दिर स्थापना गर्न र मन्दिरको संरक्षण गर्न सहयोग उठाउने कार्यमा स्थानीयले सहयोग गरेका थिए । जसमा अहिले जगेडा कोष खडा गर्ने भनी समितिले ६० हजार नगद उठेको जनाएको छ ।

स्थानीयवासीलाई प्राकृतिक विपद्ले डरत्रास उत्पन्न गराइरहेकाले त्यसको अन्त्य होस् भन्ने उद्देश्यले पनि सिन्धु महाकालीको स्थानान्तरण, मन्दिर सरसफाई र पूजाको आयोजना गरिएको स्थानीय भीमबहादुर प्रधान बताउँछन् ।
पूजाका कार्य mममा चण्डी पाठ, वेद पाठ तथा हवनसमेत गरिएको थियो । सो पूजासँगै अब सिन्धुवासीलाई यस्तो खालको विपद् कहिल्यै नदोहोरियोस् भनेर कामनासमेत गरिएको थियो ।
मन्दिरको चार किल्ला भित्रै देवीको मूर्तिलाई स्थानन्तरण गर्न थामी परम्परा, बौद्ध परम्परा, वैदिक परम्परा विधि अपनाइएको थियो । प्राचीन समय देखि नै यस पूण्य थलोमा देशका विभिन्न स्थानबाट भक्तजनहरुको घुईँचो लाग्ने गरेकोमा अहिले आएर मन्दिर लोप हुने अवस्थामा छ ।यसको संरक्षणमा जुट्नु आवश्यक छ ।