अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१९ | Colorodo: 21:34

चार व्यक्तित्व सम्मानित, दुई पुस्तक सार्वजनिक

बिआरटीनेपाल २०७३ मंसिर १७ गते १२:४७ मा प्रकाशित

शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा विशेष समारोहको आयोजना गरी विभिन्न चार विधाका सम्मान समर्पण गरी दुई पुस्तकलाई सार्वजनिक ग¥यो ।

समारोहमा नेपालको संस्कृति र इतिहाससम्बन्धी लोपोन्मुख तथ्यहरूलाई प्रकाशमा ल्याई विविध अन्वेषणात्मक कृतिहरूका माध्यमबाट नेपालको सांस्कृतिक र ऐतिहासिक अध्ययनमा महàवपूर्ण योगदान दिएकोमा अनुसन्धाता प्रा. डा. त्रिरत्न मानन्धरलाई शब्दयात्रा अनुसन्धान सम्मानबाट र काव्यिक क्षेत्रमा आजीवन समर्पित रहेर लोकभावनालाई काव्यात्मक वाणी दिई विभिन्न काव्यकृतिहरूको सिर्जना तथा प्रकाशनका माध्यमबाट नेपाली काव्यसाहित्यमा अत्युच्च योगदान दिएकोमा काव्यकार रमेश खकुरेललाई शब्दयात्रा कविता–काव्य सम्मानबाट सम्मानित गरियो । यसै गरी नेपाली समालोचना विधामा निरन्तर सक्रिय रही नेपाली भाषा–साहित्यसँग सम्बन्धित शोधार्थीका लागि प्रेरक र आदर्शका रूपमा सुपरिचित समालोचक प्रा. डा. गार्गी शर्मालाई शब्दयात्रा समालोचना सम्मानबाट र बालसाहित्यका क्षेत्रमा ऐतिहासिक भूमिका निर्वाह गरेर बालसाहित्यको मूल मर्म र कर्मको उदाहरण नेपाली वाङ्मयमा प्रस्तुत गरेकोमा बालसाहित्यकार देवीप्रसाद वनवासीलाई शब्दयात्रा बालसाहित्य सम्मानबाट सम्मानित गरियो ।

उहाँहरूलाई प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रथम उपकुलपति प्रा. डा. तुलसीराम वैद्यले अभिवन्दनापत्र प्रदान गरेर एवं विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले किरीट लगाइदिएर सम्मान गर्नुभएको थियो । सम्मानित व्यक्तित्वहरूलाई जनही ५–५ हजार रुपियाँ र उपहार पनि प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी चयन समितिका संयोजक डा. पुरुषोत्तम खरेलले गराउनुभएको थियो ।

उक्त समारोहमा शब्दयात्रा प्रकाशनद्वारा तथा मीरा पौड्यालद्वारा लिखित कवितासङ्ग्रह ‘अग्निजल’ लाई प्रा. डा. तुलसीराम वैद्यले र द्रोणप्रसाद श्रेष्ठद्वारा सम्पादित ‘रचनापछिका विवेचना’ लाई प्रा. डा. कुलप्रसाद कोइरालाले सार्वजनिक गर्नुभयो । सार्वजनिक गरिएका कृतिहरूका विषयमा शारदाप्रसाद शर्माले परिचयात्मक टिप्पणी गर्नुभएको थियोे ।

समारोहमा सभापति द्रोणप्रसाद श्रेष्ठले क्यान्सर रोगबाट निधन भएकी आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा महिला प्रतिभा सम्मानको आर्थिक व्यवस्थापन गर्दै शब्दयात्रा प्रकाशनलाई १ लाख ११ हजार १ सय ११ रुपियाँ प्रदान गर्ने घोषणा गर्नुभयो । शब्दयात्रा प्रकाशनका अध्यक्ष तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको समीक्षा लोकसेवा आयोगका पूर्वसदस्य तथा गायिका उर्मिला श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू