अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

नेपालमै बसी बसी अमेरिकाको ग्रिनकार्ड

बिआरटीनेपाल २०७३ मंसिर १५ गते १२:३० मा प्रकाशित

अमेरिकामा आउने कैयन खेलाडी, पत्रकार र कलाकारले असाधारण योग्यताको ग्रिनकार्ड प्राप्त गर्ने गरेका छन् । अमेरिकामा विभिन्न भिसामा आइसकेपछि उनीहरूले असाधारण योग्यताको श्रेणीको ग्रिनकार्डका लागि आफू योग्य भएको दाबी गर्दै आवेदन दिने गर्छन् । उनीहरूको आवेदन स्वीकृत भइसकेपछि उनीहरूले अमेरिकामा स्थायी रूपमा बसोबासका लागि अनुमतिपत्र ग्रिनकार्ड पाउने गरेका छन् । कैयन नेपाली कलाकारले त दलाललाई लाखौँ रकम बुझाएर अमेरिकामा आएर समेत असाधारण योग्यताको श्रेणीमा ग्रिनकार्ड प्राप्त गरेका छन् । तर यदि कोही व्यक्ति क्षमतावान छ भने नेपालमा नै बसेर अमेरिकाको ग्रिनकार्डका लागि आवेदन दिन सक्छ ।

khagendra_gc

कानुन ब्यवसायी खगेन्द्र क्षेत्री

यदि कुनै व्यक्तिको असाधारण योग्यता छ भने र त्यो व्यक्तिले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न चाहन्छ भने उसले ग्रिनकार्डका लागि आवेदन दिनका लागि अमेरिका आइरहन पर्दैन । अमेरिकामा विगत साढे २ दशकदेखि कानुन व्यवसायमा सक्रिय नेपाली कानुन व्यवसायी खगेन्द्र क्षेत्री भन्नुहुन्छ– ‘त्यस्ता क्षमतावान व्यक्तिले नेपालमै बसेको अवस्थामा पनि ग्रिनकार्डका लागि आवेदन दिनसक्छन् । यदि ग्रिनकार्डको आवेदन स्वीकृत भएमा त्यस्तो व्यक्तिले डिभी परेका व्यक्तिले जस्तै सिधै अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नसक्छ । ’

अमेरिका आइसकेका व्यक्तिले दिने आवेदन र नेपालमा नै रहेका व्यक्तिले दिने आवेदनको प्रक्रिया एउटै भएका कारण आवेदन स्वीकृतिको चान्स पनि एउटै भएको कानुन व्यवसायीको भनाई छ । कानुन व्यवसायी क्षेत्री भन्नुहुन्छ –‘जसरी असाधारण योग्यता भएको व्यक्तिले अमेरिकामा आइसकेपछि यो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन्छ, त्यसरी नै नेपालमा रहेको व्यक्तिले अमेरिकाको कुनै कानुन व्यवसायी लिएर ग्रिनकार्डका लागि आवेदन दिनसक्छ । फरक यत्ति हो कि अमेरिकामा रहेको व्यक्तिको ग्रिनकार्ड स्वीकृत हुँदा ऊ बसिरहेको अमेरिकाको ठेगानामा ग्रिनकार्ड आउँछ । तर नेपालमा बसिरहेको व्यक्तिको ग्रिनकार्ड स्वीकृत भएमा अमेरिकाको नेशनल भिसा सेन्टरले स्वीकृत भएको विवरण नेपालको अमेरिकी दूतावासमा पठाउँछ ।’

नेपालको दूतावासमा आप्रवासी भिसाका लागि आवेदन दिएपछि दूतावासले ग्रिनकार्ड स्वीकृत भएको व्यक्तिलाई भिसा उपलब्ध गराउँछ । अमेरिकामा आइसकेपछि सुरुमा कहाँ बस्ने भन्ने ठेगाना दूतावासमा उपलब्ध गराउनुपर्छ । त्यही ठेगानामा अमेरिकी सरकारको युएससीआईएसले हुलाकमार्फत ग्रिनकार्ड पठाइदिन्छ । अन्य आप्रवासी भिसा सरह नै असाधारण योग्यताको श्रेणीमा ग्रिनकार्ड स्वीकृत भएका व्यक्तिले पनि ग्रिनकार्ड प्राप्त गर्न सक्छन् भने अमेरिकामा आइसकेपछि ग्रिनकार्डका लागि आवेदन दिँदा अमेरिकाको सरकारले लिने शुल्क र नेपालबाट लाग्ने शुल्क पनि उस्तै भएकाले क्षमतावान व्यक्तिले नेपालबाटै आवेदन दिएर सहजै ग्रिनकार्ड प्राप्त गर्न सक्छन् ।

basu-fulara

कानुन ब्यवसायी बासु फूलारा

अमेरिकाका चर्चित तथा युवा नेपाली कानुन व्यवसायी बासु फूलारा भन्नुहुन्छ –‘ तपाईँको विज्ञान, कला, शिक्षा, व्यापार र खेलकुदमा असाधारण योग्यता, प्रतिभा र सामथ्र्य छ भने वा उल्लिखित क्षेत्रमा तपाईँले आफ्नो नाम सबैभन्दा माथि राख्नु भएको छ भने तपाईँले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको उपलब्धिको विस्तृत र दरिलो प्रमाण वा दस्ताबेजका आधारमा तपाईँले आफूलाई असाधारण व्यक्ति प्रमाणित गर्दै ग्रिनकार्डका लागि आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाईँले आफूलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त व्यक्ति प्रमाणित गर्न सक्नुपर्छ । तपाईँले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कमाएको ख्यातीले अमेरिकाको कार्यान्यवन गर्ने कानुनमा उल्लिखित १० वटा योग्यताप्राप्त आधारमध्ये तीनवटा प्रमाणित गर्न सक्नुपर्छ ।’

खुसीको कुरा के छ भने यसरी ग्रिनकार्डका लागि निवेदन दिँदा कुनै रोजगारीको प्रस्ताव या स्पोन्सरको आवश्यकता पर्दैन । अमेरिकाको अध्यागमन कानुन अनुसार कुनै व्यक्ति अमेरिकामा आउँदा असाधारण योग्यता भएको क्षेत्रमा काम जारी राख्ने प्रतिबद्धता देखाउनुपर्छ । त्यस्तै आवेदकको अमेरिकाको आगमनले गर्दा अमेरिकालाई लाभ हुनुपर्छ । खसोखासबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू