अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

हाराबारासँग बर्बर्ती बर्सिंदा

बिआरटीनेपाल २०७३ मंसिर १२ गते १७:२३ मा प्रकाशित

समीक्षा

परको देशमा छु । घरदेशबाट नियाल्दा सात समुद्रपारि छ म बसिरहेको ठाउँ । वर्षको ६ महिनाभन्दा बढी हिउँले नै छोप्ने क्यानडाको अल्वर्टा प्रान्तमा पर्ने वाल्टरको एउटा सार्वजनिक पुस्तकालयभित्र बसिरहेकी छु यतिखेर, र हातमा छ युवराज नयाँघरेको हाराबारा ।

पुस्तक हात परेको झन्डै तीन घण्टा बित्न लाग्यो । पुस्तकको प्रतीक्षा गर्न थालेको तीन महिनाभन्दा लामो समय अगाडिदेखि । विद्यार्थी भएर क्यानडादेखि दक्षिण हुँदै अमेरिका जाने लामो सडकयात्राको लागि छुट्याएको एउटै मात्र पुस्तक हाराबारा । अन्तरदेशीय सडक यात्रा हुने कारणले दुई महिनाको निम्ति स्थगित भएको छ । तर हाराबारा हात परेदेखि आजका दिनसम्म घरीघरी एउटै मात्र संवेदन दियो यो पुस्तकले ।

पटक–पटक गरेर पृष्ठ पल्टाउँदा, त्यहाँ पस्किएका लेखनीहरुको स्वाद चाख्दै तिनका तिख्खरोपनमा लठ्ठिदा प्रत्येकपल्ट जसरी मेरा आँखा बरबर्ती ।
पहिले त अचम्म लाग्यो । शायद मेरा जीवनमा आएका विविध सभ्य र संवेग मिश्रित भएर आँखा रमाउनुमा पुस्तक र लेखनीसँग कुनै सम्बन्ध छैन । तर यो एउटा संयोग मात्र हो ।

तर लामो ड्राइभमा पेसेन्जर सिटमा बसेर पढ्दादेखि घरको एकान्तकुनामा, सार्वजनिक पुस्तकालयदेखि लिएर डाक्टरको अफिसमा कुर्दा वा पार्कको बेञ्चमा जता बसेर पिए पनि समान अनुभूति पाएँ । एउटै अनुभूति पाइलो प्रस्ट छेउमा उभिएर नीलगिरिको केरकार सुन्दादेखि लिएर अन्तिम पृष्ठमा रुम्जाटारसँग आत्मालाप गर्दा भिन्नाभिन्नै ठाउँ र समयहरूमा पढ्दा पनि एउटै मात्र संवेग, अनुभूति त एउटै कुराले ल्याउन सक्छ । कि त लेखनी अति पीडादायी छ, या त फेरि अत्यन्तै प्रेमाभावले ओतप्रोत छ ।

नयाँघरेको नीलगिरिसँग यसको केरकार गरेँ मैले पनि । पेचिला हजार छाललाई सोधेँ । तब आएर नयाँघरेको नीलगिरिको नौरङ्गे स्वर्गद्वारीभित्र विचरण गर्दा, उनकै मैलुङका झरनाहरुसँग बर्सिए मेरा आँखाहरू पनि अनवरत् पाठकीय सहयात्री बनेर ।

साधुवाद नयाँघरे, तिम्रा पाइतालाका जलजलाउँदा फोकाहरुलाई, गालाभरि दलिएको रातमाटी, पसिनाले निथु्रक्किएको पहिरन र थकानले क्लान्त शरीर बोकी हामी सम्पूर्ण पाठकहरूलाई देश पुनः चिनाएकोमा ।
ओहो ! कति गर्व गर्छौँ हगि नेपाली भनेर । झन् टाढा बस्दा, अनि नेपाल आउँदा त्रिभुवन विमानस्थलमा ओर्लिनासाथ देखिने पशुपतिनाथको गजुर सम्झिएर ।

तर तिमीसँगै मुक्तिनाथलाई स्वस्ति–स्वस्ति गर्दा आँखा बर्सिए । तिमीसँगै नीलगिरिलाई केरकार गर्दा आँखा बर्सिए । तिमीसँगै रोशीका छालमा तरेली खेल्दै, त्रिशुलीमा ढिकीच्याउँ गर्दा, तिमीसँगै कुम्लो बोकी तुम्लिङटार घुम्दा आँखा यसै–यसै बर्सिए । तिमीले मुक्तिनाथमा चढाएको आफ्नो सम्पत्ति त मुक्तिनाथले बाँडिदिएर संसारैभरि… पाठकहरुमा हृदयभरि । मैले पनि पाएँ र पिएँ… यसैले आँखा बर्सिए ।
तिमीसँग भोको प्यासो हिँड्दा टन्न खाएको हावा र प्रकृतिले दिएको सन्तोष सम्झी आज बर्सिए । तिमीसँग दिङलाको उकालो चढ्दा खस्यो अमिलो सुन्तलाको बासना परेको देवालय आउँदा आँखै बर्सिए । देशविदेश जहाँ भए पनि घुमिरहने, तिम्रै लेखनीसँगै रुम्जाटार पुग्दा आँखा बर्सिए ।

तिम्रो हाराबारले गर्नु विधि ग¥यो नयाँघरे । रुवाउनु विधि रुवायो खुसी र सन्तुष्टिका आँसु ।
शब्द शब्दमा खुलेका छौ तिमी, भावभावमा बोलेका छौ । तिम्रा लहरहरुमा देशले श्वास फेरिरहेको छ– नयाँघरे । अनि म परको देशबाट पनि तिम्रो स्वर्गद्वारी पुगिरहेकी छु । साँच्चै आँसु बर्सिंदा पनि सन्तुष्टिले भरिने, अझ धेरै भरिने कथा रहेछ तिम्रो हाराबारा ।

हाराबाराले तिम्रा परिश्रमी पाइलासँगसँगै सम्पूर्ण पाठकहरूलाई देशदर्शन मात्र गराएन बरु सम्पूर्ण लेखक अनि पाठकभित्र काँधमा समेत जिम्मेवारीको भारी थपेको छ । त्यो जिम्मेवारी सन्तुष्टि पिएर प्राप्ति पिलाउनुको खुसी लिएर आल्हाद बाँड्नुको, देश चिनेर विश्वलाई चिनाउनुको, आपूmले पाएर अरूलाई बाँड्नुको अनि कति–कति ।
यस्तै अथक पाइलाहरू चाल्दै जाऊ पथिक बाटाहरु तिम्रा प्रतीक्षा गरिरहन्छन् निरन्तर ।
पाठकहरू तिम्रा संजीवनी शब्दहरुका प्रतीक्षा गरिरहेछन् निरन्तर… !

harabara

प्रतिक्रिया