अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

क्यापसको भौतिक पूर्वाधार निर्माणका लागि ज्ञान महायज्ञ (त्रिपुरेश्वर महादेवका बिशेषता)

बिआरटीनेपाल २०७३ मंसिर १० गते ९:४७ मा प्रकाशित

बाग्लुङ जिल्लाको बिहुँकोट गाविसमा रहेको श्री बिहुँकोट अमर क्यापसको भौतिक पूर्वाधार निर्माण एवं क्याम्पस संचालनार्थ धान्याचल नवाह ज्ञान महायज्ञ हुने भएको छ । आउँदो मंसीर २८ गते देखि पौष ६ गतेसम्म हुने यस महायज्ञमा प्रमुख बाचक श्री हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश एवं अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज र विशिष्ट बाचकको रुपमा श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराज रहने छन् ।

यस महायज्ञको दोस्रो उद्धेश्य देश तथा विदेशमा समेत यस मन्दिर क्षेत्रको व्यापक प्रचार प्रसार गर्ने रहेको छ । भावनात्मक रुपमा सम्बन्ध जोडिएको ठूलो समुदाय रहेकोले यस समुदायले समेत यो मन्दिरको व्यापक प्रचार प्रसार गर्दा धार्मिक पर्यटनको माध्यमबाट यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भूमिका रहने हुँदा यसको प्रचार प्रसार आवश्यक रहेको आयोजकले बताएका छन् । साथै सम्पूर्ण नेपालीलाई यो महायज्ञमा उपस्थित भै धार्मिक पर्यटन सहयोग गरिदिन श्री बिहुँकोट अमर क्यापसको भौतिक पूर्वाधार निर्माण एवं क्याम्पस संचालनार्थ तथा धार्मिक पर्यटनको लागि गरिएको यो पहलमा सहयोग गरिदिन पनि सबैलाई आग्रह गरिएको छ ।

त्रिपुरेश्वर महादेव मन्दिरका विशेषताहरु र ऐतिहासिक पृष्ठभूमि

सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर बागलुङ जिल्लाको विहुँकोट गा.वि.स.मा रहेको छ । वि.स. १७५० को समयमा हालको मन्दिर रहेको क्षेत्रमा केही कुटीहरु भएको र त्यसमा साधु सन्तहरु बस्दथे भनिएको छ । यसै समयमा बझाङ जिल्लामा रहेको तत्कालीन काँडा गाउँ र हालको काँडा गाविस (जुन नेपालको सबैभन्दा ठूलो गाविस पनि हो)बाट पण्डित महादेव शर्मा गल्कोट राज्यमा आए र गल्कोटे राजाले गल्कोट राज्यको पूवी क्षेत्रमा रहेको विहुँ विर्ताको रुपमा दिईसकेपछि यिनकै सन्तानहरुको रुपमा कँडेलहरुको बसाई बिहुँ तथा लेखानी क्षेत्रहरुमा शुरुवात हुन गयो । विगतमा रामका भक्तहरु यस क्षेत्रमा बस्ने भएकोले यस मन्दिरलाई रामकोट र पछि आएर स्थानीय जनताले यस स्थलमा शिव लिंग स्थापना गरी आश्रम बनाएकोले यस क्षेत्रलाई शिवालय भनेर समेत परिचित छ । यस मन्दिरका केही महत्वपूर्ण विशेषताहरु यस प्रकार रहेका छन् ।

१) अत्यन्त सुन्दर स्थानमा अवस्थित  नेपालको नै झण्डै मध्यभागमा रहेको र यातायातको दृष्टिकोणले समेत मध्यपहाडी लोकमार्गको अत्यन्त नजिक घनाजंगलको मध्यभागमा रहेको यो स्थान संभवत प्राकृतिक रुपले अत्यन्त मनमोहक रहेको छ ।

२) बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा पर्यटकको प्रवेशद्धार – हाल देश तथा विदेशबाट म्याग्दी र मुस्ताङ क्षेत्र घुम्ने आन्तरिक र वाह्य पर्यटकहरुको संख्यामा व्यापक रुपमा बढ्नुमा मुक्तिनाथ मन्दिरको भूमिका रहेजस्तै बागलुङ बजारबाट नजिकैको स्थानमा रहेको यो मन्दिरको माध्यमबाट गल्कोट क्षेत्र र ढोरपाटनसम्म व्यापक रुपमा पर्यटकहरुलाई आकर्षण गर्न सकिने संभावना रहेको छ ।

३)पश्चिमाञ्चल क्षेत्रको महत्वपूर्ण धार्मिक स्थल – धौलागिरी अञ्चल भित्रका महत्वपूर्ण धार्मिक स्थलहरु जस्तै मुक्तिनाथ मन्दिर, गलेश्वर, तातोपानी, कालिका मन्दिर, पञ्चकोट धाम सँगसँगै यो मन्दिर समेत एक महत्वपूर्ण धार्मिक स्थल हो । धौलागिरी अञ्चलभित्र रहेका धार्मिक एवं पर्यटकीय महत्वका क्षेत्रहरुको व्यापक प्रचार प्रसारबाट यस क्षेत्रको आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने पूर्वाधारको रुपमा यो मन्दिर रहेको छ ।

४) ठूलो समुदायलाई समेट्ने सांस्कृतिक महत्वको क्षेत्र स् यस क्षेत्रभित्र बसोबास गर्ने र यस मन्दिरको छत्रछायाँमा हुर्केका महानुभावहरु अहिले नेपाल एवं विदेशका विभिन्न क्षेत्रहरुमा बसोबास एवं पेशा व्यवसाय गर्दै आईरहनु भएको छ । त्यसैले ठूलो समुदायलाई भावनात्मक तवरले एकतावद्ध गर्न सक्ने सम्बन्धको मूल क्षेत्रको रुपमा त्रिपुरेश्वर मन्दिर रहेको छ । हाल यस क्षेत्रमा हुर्केका ठूलो समुदाय नेपालको पोखरा, चितवन, काठमांडौ र विदेशमा जापान अष्ट्रेलिया, क्यानडा, अमेरिका, युरोपियन देशहरु र खाडी क्षेत्रहरुमा कार्यरत छन् ।

५) मध्यपहाडी लोकमार्ग एवं बृहत चक्रपथको केन्द्रविन्दु स् यो मन्दिर मध्यपहाडी लोकमार्गको झण्डै झण्डै मध्यभागमा रहेको छ । बागलुङ नगरपालिका र प्रस्तावित काँठेखोला गाउँपालिका अन्र्तगतका गाविस एवं नगरपालिका जोड्ने गरी बनेको बृहत चक्रपथमा बागलुङको कालिका मन्दिर, पञ्चकोटधाम, झुलेनी, त्रिपुरेश्वर महादेव मन्दिर, भकुण्डे एवं भैरवस्थान मन्दिर जस्ता महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलहरु रहेकोले यस्ता महत्वपूर्ण स्थलहरुको व्यापक रुपमा प्रचार प्रसार गर्दा यस क्षेत्रको विकासमा यस मन्दिरको महत्वपूर्ण भूमिका रहने निश्चित छ ।

६) संस्कृत शिक्षाको अध्ययन केन्द्रस् विस्तारै विस्तारै शिवालय मन्दिर आध्यात्मिक अध्ययन र चिन्तनको केन्द्र बन्न पुग्यो । भारतको हरिद्धार देखि लिएर नेपालका विभिन्न भागका साधु सन्त र धर्मगुरुहरुको निरन्तर भेटघाट हुने र संस्कृत शिक्षाको माध्यमिक स्तरको समेत यहाँबाट विद्यार्थीहरुले शिक्षा हाँसिल गरेका छन् । हाल संस्कृत शिक्षाको अध्ययन रोकिएको भएतापनि यस स्थानलाई पुनः आध्यात्मिक चिन्तनको केन्द्र र संस्कृत शिक्षाको केन्द्रको रुपमा विकास गर्न सकिने संभावना यथावतै छ ।

७) १००८ स्वामी परमानन्द सरस्वती ज्यू महाराजको जन्म भूमिमा अवस्थित हरिहर सन्यास आश्रम देवघाट लगायत नेपालका विभिन्न सामाजिक संस्थाहरुको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बम्हालीन १००८ स्वामी परमानन्द सरस्वतीज्यू महाराजको जन्म त्रिपुरेश्वर महादेव मन्दिर भएको गाविस बागलुङको विहुँमा भएको थियो । स्थानीय अगुवाहरुको पहलमा वि.स. २०३१ भदौ र २०३२ बैशाखमा यस मन्दिर क्षेत्रमा सामाजिक महोत्सव सम्पन्न भएको थियो । २०३३ सालमा वृहत विश्व शान्ति धान्याचल महायज्ञ धुमधामका साथ सम्पन्न भईसकेपछि यस मन्दिरको भौतिक पूर्वाधारहरुको विकास र प्रचार प्रसारमा व्यापकता भयो ।

८) हाल सम्म गरिएका धान्याचल महायज्ञहरुको संचालनस् यस क्षेत्रमा रहेको तत्कालीन अमर मा.वि. को भौतिक पूर्वाधारहरुको निर्माण र संचालनार्थ यस मन्दिर परिसरमा २०४५ सालमा महायज्ञ संचालन गरियो भने २०६७ सालमा यसै मन्दिर परिसरका भौतिक पूर्वाधारहरुको विकास र भव्य मन्दिर निर्माण गर्नको लागि महायज्ञ सम्पन्न गरिएको छ । हाल यस स्थलमा नेपालकै ठूला मन्दिरहरु मध्यको एक मन्दिरको रुपमा यस मन्दिरले आफ्नो पहिचान बनाउन सफल भएको छ । यही मंसीर २८ गते देखि पौष ६ गतेसम्म बिहुँकोट अमर क्याम्पसको भौतिक पूर्वाधारहरुको निर्माण एवं क्याम्पस संचालनको लागि पुनः नौं दिने महायज्ञ गर्न लागिएको छ ।

९) देवघाटमा रहेको हरिहर सन्यास आश्रम स्थापनामा भूमिका स् बागलुङ जिल्लाको विहुँ गाविसमा नै जन्मेर त्रिपुरेश्वर महादेव मन्दिरको विकासमा महत्वपूर्ण योगदान गर्नुभएका वम्हालीन १००८ स्वामी परमानन्द सरस्वती महाराजज्यूको हरिहर सन्यास आश्रम देवघाटको स्थापनाको लागि महत्वपूर्ण भूमिका रहेको छ । हाल देवघाटको यो आश्रम नेपाल र भारतबाट समेत साधु सन्तहरु एवं वृद्ध वृद्धाहरुको भरोसाको केन्द्रको मात्र नभई महत्वपूर्ण धार्मिक स्थलको रुपमा समेत विकास भईसकेको छ ।

१०) धार्मिक गुरुहरुको निरन्तरको संरक्षकत्व स् यस मन्दिरको विकासको लागि बम्हालीन श्री १००८ स्वामी परमानन्द सरस्वतीजी महाराजको विशेष योगदान, श्री हरिहर सन्यास आश्रम देवघाटका पीठाधिश तथा अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज, श्री १००८ दुर्गानन्द सरस्वतीजी महाराज एवं अन्य गुरु, साधु, सन्त एवं समाजसेवीहरुको निरन्तरको संरक्षकत्वले समयानुकुल मन्दिरका विविध पक्षहरुमा विकास एवं सुधार समेत हुँदै गईरहेकोले यस मन्दिरका पूर्वाधारहरुको विकास एवं प्रचार प्रसारले थप तीव्रता पाएको छ ।

११) हरेक बर्षको जेठ ११ गते रथ यात्रा हुने – २०३९ साल जेठ १ गते देखि ११ गतेसम्म संचालन गरिएको प्रवचन सहितको महायज्ञबाट भगवानको मूर्तिलाई रथमा राखेर हजारौंको भीडले उक्त रथलाई यसै मन्दिर परिसरबाट विहुँकोट गाविसका विभिन्न क्षेत्रहरुको परिक्रमा गर्ने परम्पराका थालनी भयो जुन निरन्तर रुपमा चलिरहेको छ ।

१२) तत्कालीन राजा स्व. महेन्द्र र तत्कालीन प्रधानमन्त्री स्व. विपी कोईरालाले भ्रमण गरेको स्थलस् वि.सं.२०१६ मा यस मन्दिर क्षेत्रको नजिकै उत्तरी मोहडामा रहेको ठूलो चौरमा तत्कालीन राजा स्व. महेन्द्र र तत्कालीन प्रधानमन्त्री स्व. विपी कोईरालाले भ्रमण गरी रात्री बसाई समेत भएको थियो । त्यसैले बागलुङ र धौलागिरीको मात्र नभएर नेपाल एवं विश्वकै समस्त हिन्दु धर्मावलम्बीहरुको लागि महत्वपूर्ण धार्मिक स्थलको रुपमा यस मन्दिरको विकास गर्न नेपाल सरकारले विशेष भूमिका निर्वाह गर्नु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू