अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

सिंहदरवार अघि बन्ने भाे यस्ताे हरियाली पार्क

बिआरटीनेपाल २०७३ मंसिर ९ गते १३:५० मा प्रकाशित

सिंहदरबारको मूल प्रवेशद्वारअघि बायाँतर्फको करिब ४०० मिटर लम्बाइ रहेको स्थान (युनी पार्क मार्ग)मा अत्याधुनिक पार्क निर्माण गर्न काठमाडौँ महानगरपालिका (कामपा)र त्यस क्षेत्रका सरकारी कार्यालय तथा संस्थानबीच सहमति भएको छ ।

यहाँ आज आयोजना गरिएको सरोकार निकायका प्रमुख तथा प्रतिनिधिको बैठकले पार्क निर्माण साझेदारीमा सहमति गरेको हो । युनी (युएनआइ) नेपाल नामक ट्रेड युनियन सङ्गठनको पहलमा पार्क निर्माण प्रक्रिया अघि बढेबमोजिम सर्वपक्षीय सहमति भएको हो ।

सो क्षेत्रमा राष्ट्रिय समाचार समिति (रासस), राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल टेलिभिजनको व्यापार महाशाखा, नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय महिला आयोग, नेपाल खाद्य संस्थान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल टेलिकम गरी आठ कार्यालय छन् ।

पार्क निर्माणका लागि सो क्षेत्रमा रहेका कार्यालयमध्ये नेपाल टेलिकमले रु ४० लाख, कृषि अनुसन्धान परिषद्ले रु आठ लाख, नेपाल टेलिभिजन र नेपाल स्टक एक्सचेन्जले रु पाँच÷पाँच लाख रकम दिने प्रतिबद्धता जनाइसकेका छन् ।

परियोजना डिजाइनसहित सङ्कलन भएको रकम कामपामा पठाउने र त्यसलाई पुनःमूल्याङ्न गरी रकम दिने निकायसँगको समन्वयमा पार्क निर्माण प्रक्रिया अघि बढाउने बैठकमा निर्णय भएको छ ।

विसं २०६८ बाट सो स्थानमा पार्क बनाउने काम थालनी भएको थियो । त्यसअघि भद्रकाली सिंहदरबार प्लाजा नाम रहेको मार्गलाई सोही वर्ष नाम परिवर्तन गरेर युनी शान्ति मार्ग नामाकरण गरिएको थियो । नाम परिवर्तनपछि पार्क बनाउन विसं २०६९ मा लागत अनुमानसहित डिजाइन निर्माण गरिएको थियो । सुरुवात डिजाइनमा काम गर्दा करिब रु ८२ लाख लाग्ने अनुमान थियो । त्यस समयमा काम हुन नसकेपछि सो डिजाइन र लागत अनुमान परिमार्जन गर्दा विसं २०७१ सम्ममा आइपुग्दा रु एक करोड ४२ लाख पुगेको थियो । दुई वर्ष बितिसकेको अवस्थामा त्यति रकमले नपुग्ने युनी (युएनआइ)का प्रतिनिधि शङ्कर लामिछानेको भनाइ छ ।

कामपाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले केन्द्रीय प्रशासनिक सचिवालय अगाडि नमुना स्थान बनाउनुपर्छ भन्ने सोचअनुरुप परियोजना ल्याइएको बताउनुभयो ।

राससका महाप्रबन्धक निर्मला आचार्यले पार्क निर्माणका लागि आफ्नो संस्थाले सञ्चारक्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू