बिआरटि नेपाल 2012-05-31 00:00:00
जंगम खड्का, हिरा लाल श्रेष्ठ , स्विट्जरल्याण्ड May 31, 2012
लाई सम्झना गर्दै
स्विट्जरल्याण्डमै पहिलो पटक "सगरमाथा दिवश" एक भव्य कार्यक्रम गरी सम्पन्न
गरेको छ । उक्त दिन सन् १९५३ न्यूजल्याण्डका एडमण्ड हिलारी र नेपालका
तेन्जिग नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला
टेकेका थिए । सोही कारणले गर्दा आजको दिनलाई सगरमाथा दिवशको रुपमा
स्विट्जरल्याण्डमा पहिलो पटक मनाइएको हो ।
स्विट्जरल्याण्डको विभिन्न शहरहरु बाट नेपाली तथा स्वीस नागरिकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । औपचारिक कार्यक्रम प्रवेश गर्नु अगावै नेस्कोफ वेर्नकी युक्ता गुरुङले तयार पारेको नेपाली सेल रोटी र आलुको अचार अतिथिहरु माझ वितरण गरिएको थियो । उक्त सेलरोटी खाजा पश्चात पाहुनाहरु औपचारिक कार्यक्रम हल भित्र प्रवेश गरेका थिए । मुख्यतया स्वीस नागरिकहरुलाई नेपाल भ्रमणमा प्रोत्साहित गर्नु रहेको उक्त कार्यक्रममा बोल्दै आयोजकका तर्फवाट दुतावासका राजदुत तथा संयूक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि शंखर दास वैरागीले पाहुनाहरुलाई स्वागत गर्दै नेपालको पर्यटन विकासमा यस कार्यक्रमले ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । साथै उहाँले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने कुराको पनि जानकारी दिई कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । सोही क्रममा एनआरएन स्विट्जरल्याण्डका अध्यक्ष डां. विनय श्रेष्ठ, एनआरएन स्विट्जरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडभरी, एनआरएन स्विट्जरल्याण्डका महासचिव तथा नेस्कोफ वेर्नका अध्यक्ष हिरा गुरुङ लगायतले सगरमाथाको आकर्सण तथा महत्व वारे प्रकाश पार्नुभएको थियो भने स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुल उपस्थित नभए पनि उहाँबाट प्रेसित शुभकामना सन्देश एनआरएनका अध्यक्ष डा. विनय श्रेष्ठले वाचन गरेर सुनाउनुभएको थियो ।
कार्यक्रममा पाहुनाहरुको स्वागत सत्कारको लागि दुतावासका सम्पूर्ण परिवार नै उपस्थित रहेको उक्त समारोहमा स्वीस नागरिकहरु पिटर गेसविन्डनर र मिस्यु ह्रिर्थले आफ्रना ताजा सगरमाथाको सफल आरोहणका फोटो तथा रमाइला क्षणहरु अतिथिहरु माझ प्रस्तुत गरेका थिए । नेपाली दुतावासका कन्सुलर बृगु ढुंगानाले सगरमाथाको बारेमा महत्वपुर्ण जानकारी लगायत विश्व किर्तीमानका रौचक तथ्यहरु प्रोजेक्टरबाट प्रस्तुत गर्नुभएको थियो । औपचारिक कार्यक्रमको अन्त्यमा नेपाल पर्यटन बोर्डले तयार पारेको नेपाल सम्बन्धि वृत्त चित्र पनि प्रस्तुत गरिएको थियो ।
उक्त औपचारिक कार्यक्रमको संचालक दुतावासका कर्मचारी हरि वडारीले गर्नुभएको थियो । औपचारिक कार्यक्रम लगत्तै उपस्थित पाहुनाहरुले वेर्न बासी नेपालीहरुको समाज ( नेस्कोफ) ले तयार गरिएको नेपाली स्वादिष्ट खानाको स्वाद लिदै मन छुने बाँसुरीको धुन र सांस्कृतिक कार्यक्रमको साथ मनोरन्जन प्राप्त गरेका थिए । कार्यक्रममा धर्म गुरु तथा स्वीस नागरिक जोन डिनको उत्कृष्ट बाँसुरीको धुनले सहभागिहरुको मन जित्न सफल भएका थिए । उहाँहरुलाई राम परियार र दिपक खतिवडाले साथ दिनुभएको थियो । त्यस्तै नेपाली संस्कृती झल्कने गरी नेपाली पोसाक लगाई दिपक र निताको नृत्यले सबैको ध्यानआकृष्ट गरेको थियो ।
उक्त सांस्कृतिक कार्यक्रमको संयोजक संजय मुडभरीले गर्नुभएको थियो भने कार्यक्रम संचालन दुतावासकी जोली प्रधानले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट नेपाली दुतावासका कर्मचारी हरि वडारीले सहभागिहरु एन.आर.एन स्विट्जरल्याण्ड, स्वीस नेपाली समाज (एस.एन.एस) , नेस्कोफ वेर्न ,स्थानिय कलाकार ,मिडिया लगायत साथै हल व्यवस्थापनमा विशेष सहयोग गर्नुहुने हिरा गुरुङ लगाएत संपूर्ण मानुभावहरु लाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।
© brtnepal 2013,Denver, Colorado USA www.brtnepal.com

