Apycom jQuery Menus

Home>>News

दाहाल-भट्टराई शिविरमा: समायोजन संख्या ९ हजार पुर्‍याउने आश्वासन

बिआरटि नेपाल

दहवन (रोल्पा)/तालबन्द (कैलाली), मंसिर १४ -
माओवादी अध्यक्ष पुष्पकमल दाहालले ९ हजार लडाकुलाई सेनामा समायोजन गर्न सकिने प्रस्ताव अगाडि सारेका छन् । दलहरूसँग पुनः छलफल गरी समायोजनमा जाने संख्या थप्न सकिने आश्वासन उनले लडाकुहरूलाई शिविरमै आएर दिएका हुन् ।

लडाकु वर्गीकरण प्रक्रिया सकिएलगत्तै बुधबार शिविर आएका दाहालले लडाकु कमान्डरहरूलाई शान्ति प्रक्रियाको बाधक नबन्न पनि आग्रह गरे । 'अहिले समायोजनमा लैजाने संख्या थोरै भए पनि यसलाई बढाउने पहल थालेका छौं,' दहवनस्थित पाँचौं डिभिजनका लडाकुलाई आश्वस्त पार्दै उनले भने, 'दलहरूसँग संख्या वृद्धि गर्ने सहमति हुन सक्छ, त्यो संख्या ९ हजारसम्म पुग्न सक्छ ।'

लडाकु कमान्डरहरूले सेनामा समायोजन गरिनेको संख्या बढाउन दबाब दिएपछि दाहालले त्यस्तो प्रत्युत्तर दिएका हुन् । उनले शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन कमान्डरहरूले सघाएकोमा धन्यवाद दिएको बि्रगेड कमान्डर दीपक शर्माले उल्लेख गरे ।

'पुनर्वर्गीकरण प्रक्रियामार्फत समायोजन, स्वैच्छिक अवकाश वा पुनःस्थापना जे रोजे पनि क्रान्ति र पार्टीका लागि योगदान ठहर्छ,' भेलामा सहभागी शर्माले दाहालको भनाइ उद्धृत गर्दै भने, 'हाम्रो पार्टीका प्रधानमन्त्री भएका बेला शान्ति प्रक्रिया टुंग्याउनुपर्छ ।'

दाहाल नेतृत्वको टोलीमा प्रधानमन्त्री बाबुराम भट्टराई, विशेष समिति सदस्यहरू ईश्वर पोखरेल र जयप्रकाश गुप्ता थिए । उनीहरूसहित रोल्पा आउनुअघि कैलालीको तालबन्दमा कमान्डरहरूसँग छलफल गर्दै दाहालले सहमतिमा उल्लेख गरिएभन्दा समायोजनमा जान चाहने बढी भएको विषयमा अन्य दलहरूसँग छलफल गरिने बताएका थिए ।

'सहमतिको संख्याभन्दा दुई/अढाई हजारको संख्या बढी निस्कियो भने राजनीतिक दलहरूबीच छलफल गरिनेछ,' उनले भने । नाम, शिक्षा र दर्जाका बारेमा पनि दलहरूबीच सहमति गरी टुंग्याइने दाहालले बताए ।

टोलीमा रहेका विशेष समिति सदस्य एवं मधेसी फोरम गणतान्त्रिकका अध्यक्ष गुप्ताले भने सहमतिको संख्या तोकिएभन्दा थप्न नसकिने बताए । 'तर समस्या आउने छैन,' उनले थपे, 'यहाँ बढी निस्कनेहरू व्यक्तिगत मापदण्डसम्बन्धी छनोटअन्तर्गत बाहिर निस्कन सक्ने भएकाले समस्या आउँदैन ।'

एमाले महासचिव पोखरेलले पनर्वर्गीकरण प्रक्रिया सन्तोषजनक ढंगले अघि बढेको महसुस भएको बताए । उनले भने, 'पुनर्वर्गीकरणमा थोरै/धेरै, शिक्षा, नाम र दर्जामा देखिएका विषय सहमतिमा टुंगिने छ ।'

कमान्डरसँग छुट्टै भेट
रोल्पा र कैलालीका दुवै शिविरमा दाहाल र भट्टराईका साथै सँगै आएका नेता कृष्णबहादुर महरा र लडाकु प्रमुख नन्दकिशोर पुनले लडाकु कमान्डरहरूसँग केहीबेर अलग्गै भेट गरेका थिए । तालबन्दको भेटमा बि्रगेड सहकमान्डरभन्दा माथिका लडाकुमात्र सहभागी थिए ।

कमान्डरहरूले धेरै लडाकुको सेनामा जाने इच्छा रोक्न नसक्दा संख्या बढी भएकाले यसलाई मिलाउन समायोजन गरिने संख्या बढाउन आग्रह गरेका थिए । उनीहरूले शिक्षा, उमेर र दर्जामा देखिएका समस्याबारे पनि अवगत गराए । सेनामा प्रवेश गर्दा सम्मानजनक दर्जा र व्यवहारका विषयमा पनि उनीहरूले नेतासमक्ष प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री भट्टराईले 'सबै कुरा मिलिहाल्ने भएकाले उत्साहपूर्वक पुनर्वर्गीकरण प्रक्रिया सम्पन्न गर्नुपर्ने' बताएका थिए । घाइते तथा अपांगका समस्याबारे समेत  लडाकु कमान्डरले अवगत गराएका थिए । प्रधानमन्त्रीले घाइते तथा अपांगका लागि विशेष प्याकेजको तयारी गरिरहेको बताउँदै निराश नबन्न आग्रह गरेका थिए ।

'उहाँहरूले खास नयाँ कुरा भन्नु भएन,' दहवनको भेलामा सहभागी पाँचौं डिभिजनका स्वास्थ्य प्रमुख दीपेन्द्र घर्तीले भने, 'पुरानै कुरा दोहोर्‍याएर फर्किनुभयो ।' बन्द छलफलमा दाहालले सेनामा जानेहरूले अन्तर्राष्ट्रिय मापदण्डलाई लत्याउन नहुने धारणा राखेका थिए ।

'सेनाको अन्तर्राष्ट्रिय संरचना र मापदण्डअनुसार जाने वा नजानेबारे पार्टीले निर्णय गर्नेछ,' भेलाका एक कमान्डरले भने, 'तर हामीले सोचेजस्तो अवस्था नभएको उहाँको कुराले हामी निकै दुःखी भयौं ।'

सम्मानजनक रूपमा सेनामा सहभागी नभएमा समायोजन प्रक्रियाको अवरोध गर्न सकिने अर्का कमान्डरले बताए । 'छाती नापेर सेनामा जागिर खान जाँदैनौं ।' समायोजन प्रक्रिया रोजेका ती कमान्डरले कान्तिपुरसित भने, 'पार्टीले हाम्रो भावना नबुझेमा अन्तरसंघर्ष त भइरहन्छ ।'

लडाकु भेलामा प्रधानमन्त्री भट्टराईले गम्भीर भई शान्ति प्रक्रिया टुंग्याउनुपर्ने आग्रह गरेका थिए । 'शान्तिको विकल्प छैन, तपाईंहरूले साथ दिनुभयो । अझै दिन म आग्रह गर्छु,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बि्रगेड कमान्डर जगत पुनले भने ।

माओवादी नेताहरूसामु रोल्पाका सबै लडाकुका तर्फबाट पाँचौं डिभिजनका कार्यकारी कमान्डर राजबहादुर बुढाले मात्र बोलेका थिए । भेलामा उपाध्यक्ष मोहन वैद्य पक्षधर लडाकु कमान्डरहरूले आफ्नो भनाइ अध्यक्ष र प्रधानमन्त्रीसामु राख्न नपाएको गुनासो गरे । वैद्य पक्षधर डिभिजन सहकमान्डर रामलाल रोका अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराई आउँदा शिविरमा थिएनन् । उनीलगायत लडाकुका प्रभावशाली कमान्डरहरूले वर्गीकरण र समायोजन प्रक्रियाप्रति असहमति जनाउँदै स्वैच्छिक अवकाश रोजेको जनाए ।

रोल्पा आउनुअघि बिहान साढे ९ बजे कैलाली उत्रिएको टोलीलाई विशेष समिति सचिवालयका सदस्य गोपालसिंह बोहराले प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले पुनर्वर्गीकरण प्रक्रियामा केही समस्या देखा परे पनि लडाकुसँगको छलफलबाट सहमति गर्दै सन्तोषजनक ढंगले अगाडि बढेको जानकारी दिए ।

प्राविधिक कारण कैलालीमा एक दिन ढिलो वर्गीकरण सुरु भएको र बीच-बीचमा केही विषयमा विवाद उत्पन्न हँुदा कार्य सम्पादन ढिलो भएकोसमेत उनले जानकारी गराए ।
--------------------------------------------------------------------------------------------------------------------------------------------
--------------------------------------------------------------------------------------------------------------------------------------------

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*  Please specify you name.

*  Please enter a valid email. e.g. [yourname@yourdomain.com].

*  Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.